रुकुमको बर्बर घटना : भेरीमा जलाइयो ४ जनाकै शव

Lokendra dahasaskar

जाजरकोट । रुकुमपश्चिम चौरजहारी नगरपालिका–८ सोती घटनामा मारिएका ४ जनाको भेरी नदीमा दाहसंस्कार गरिएको छ ।

शनिबार गाउलेको कुटाईबाट नवराज विक, गणेश बुढामगर, लोकेन्द्र सुनार र टिकाराम सुनारको शव भेटिएको थियो । सो घटनामा परी सञ्जु विक र गोविन्द शाही अझैं बेपत्ता छन् ।

बेपत्तामध्ये १८ वर्षीय लोकेन्द्रको शव गोताखोरको टोलीले बुधबार मात्रै भेरी नदिको कुटु भन्ने ठाउँमा भेटिएको थियो । उनी बुधबार मात्रै पोष्ट मार्टम्स गरिएको थियो ।

चार जनाकै शवलाई बिहीबार फरकफरक स्थानमा सामाजिक परम्पराअनुसार भेरी नदीको किनारमा जलाइएको छ ।

मृतक नवराज विक र सोती शुष्मा शाहीबीच लामो समयदेखि प्रेम रहेको र युवतीकै आग्रहमा नवराजले केही साथीहरु लिएर शनिबार बेलुकी सोती गएका थिए ।

नवराजकी प्रेमिका भनिएकी युवती ठकुरी परिवारकी हुन् । युवतीको सरसल्लाहमै नवराज सहितको समूह उनलाई लिन सोती पुगेको थिए । तर गाउँले मिलेर उनीहरुमाथि आक्रमण गरेका थिए ।

यता, शनिबार भएको घटनामा संलग्न रहेको आरोपमा बिहीबार प्रहरीले थप ६ जनालाई पक्राउ गरेको छ । पीडित पक्षले दिएको किटानी जाहेरीका आधारमा उनीहरूलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

पीडित पक्षले २० जनाको नाममा किटानी जाहेरी दिएका छन् । यसअघि १२ जनालाई प्रहरीले पक्राउ गरेको थियो । जाहेरीमा उल्लेख भएका थप दुई जनाको खोजी भइरहेको रुकुम पश्चिमका प्रहरी प्रमुख डिएसपी ठकबहादुर केसीले बताए ।

पक्राउ पर्नेमा चौरजहारी नगरपालिका ८ का ४२ वर्षीय इन्द्रबहादुर मल्ल, १९ वर्षीय दीपेन्द्र चन्द, ३५ वर्षीय तिलक चन्द, ४६ वर्षीय हर्कबहादुर मल्ल, ४५ वर्षीय लिपेन्द्र मल्ल र २० वर्षीय विनोद मल्ल छन् ।

 

प्रतिकृया दिनुहोस