यस्तो छ ‘... खुर्पाको बिड’झै बनेको भित्रीकोट दरबारको ‘भित्री’ कथा

Vitrikot darbar 2 15

प्युठान । नेपाल एकीकरण हुनु अघिको ऐतिहासिक कालखण्डसँग जोडिएको भित्रिकोट तत्कालीन चन्दवंशी राजाहरुले राज्य गर्ने थलो थियो । भित्रीकोट राज्य, चौबिसे राज्यअन्तर्गतको शक्तिशाली मानिन्थ्यो । अहिले ‘जान्नेलाई श्रीखण्ड, नजान्नेलाई खुर्पाको बिड’ भनेजस्तै भएको भित्रीकोट दरबार । 

विसं १९९० सालमा आएको विनासकारी भूकम्पले यसको जग हल्लाई मात्रै दिएन, यसको रुप रेखा नै मेटिदियो । प्रवेशद्वार भताभुङ्ग छ । पाकेका इट्टा र ढुङ्गाहरू छरपस्ट देखिन्छ । क्षेत्रपाल मन्दिरको पश्चिम पट्टी भागमा काठको मौलो जस्तो निकै पुरानो खालको मौलो ढुंगाको कापमा अडाइएको छ ।

जिल्लाको पहिलो नगरपालिका हो प्युठान नगरपालिका । यही छ यो भित्रीकोट दरबारका भग्नावशेषहरु । र, यो भग्नावशेष सीमित व्यक्तिका लागि सेल्फी खिच्ने र टाइम पास गर्ने स्पट मात्रै बनेको छ ।

यो ऐतिहासिक दरबार हो । यहाँ दैनिक हजारौं मानिसको आवातजावत हुनुपर्ने हो । नगरपालिकाको प्रमुख आय स्रोत बन्नुपर्ने हो । तर बिडम्बना, यो नामको मात्र ऐतिहासिक बनेका छ । स्थानीय सरकार र यसका जनप्रतिनिधिहरुका लागि यो ‘जान्नेलाई श्रीखण्ड, नजान्नेलाई खुर्पाको बिड’झै बनेको छ ।

भुरे टाकुरे राजाको पालामा बनेको यो दरबार करिब पाँच रोपनी जग्गामा फैलिएको छ । यो दरवार चारैतिरबाट पर्खालले घेरिएको छ । झण्डै डेढ सय मिटर लामो सिँढी र भ¥याङ छ । राजाहरुले दरबारको सुरक्षाका लागि बनाएका हुन् । सिँढी छिचोलेर गेटबाट भित्र छिरेपछि भित्रीकोटको प्रशासनिक भवनको भग्नावशेष देख्न सकिन्छ । दरबार क्षेत्रको वरिपरि ९ स्थानमा सेन्ट्री राखिएको भग्नावशेष देखिन्छ ।

दरबार भएको चार सुरहरू यीनै हुन् । पूर्वतर्फ भ्यु टावरको रूपमा सिमेन्टको पर्खालले छेकेर बनाइएको छ । घरको किल्ला वरपर खन्दा मानव कंकालहरू भेटिएकोले उत्खनन् रोकिएको छ ।

सुस्त प्रयास
भित्रीकोटको पर्यटन प्रर्वद्धनका लागि प्यूठान नगरपालिकाले पहल थालेको छ । भित्रीकोट क्षेत्रमा रहेका १७ मुख्य गन्तव्यलाई आधार मानेर भौतिक पूर्वाधार निर्माणमा जोड दिएको छ । रकतेपोखरी, रानी गुफा, रानी बगैंचा, खुलखुले डाँडो, रकगाडेन, दरबार क्षेत्र, थानाकोट, मुख्य भित्रीकोट क्षेत्र यहाँका पर्यटकीय गन्तव्य हुन् ।

योजना चाँही ठूलो छ । यसलाई जिल्लाकै नमुना पर्यटकीय सम्पदाको रुपमा नै स्थापित गर्ने योजना पनि छ । तर, वर्षाैदेखि सरकारी नजरमा नपरेका कारण यो योजना ‘आकासको फल’ झै भइरहेको छ ।

यहाँ सम्भावनै सम्भावना छ । यसलाई समयमै पुनर्निर्माण सक्ने हो भने हजारौं पर्यटक भित्र्याउन सकिन्छ । तर, सरकारी काममा हुने ढिलासुस्ती कोरोना कहरले झन निर्माणको गति नै रोकिएको छ ।

अहिलेसम्म १४ करोडको लागतमा डिपिआर भएको छ । सोही रकमबाट१० लाख खर्च गरेर उत्खनन कार्य भइरहेको छ भने ४० लाख पैदल मार्ग र १० लाख रकम खर्च गरेर गार्डेन निर्माण लगायतका काम भइरहेको प्युठान नगरपालिकाका प्रवक्ता लक्ष्मीप्रकाश राजभण्डारी बताउँछन् ।

उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयले थप ५ लाख रुपैयाँ बिनियोजन गरेपछि दरबारको पुनर्निर्माणका लागि ठेक्कासमेत दिइएको छ । ठेक्का सम्झौताअनुसार आगामी असार अन्तिम सातासम्म पुनर्निर्माण सक्नुपर्छ ।

तर बिडम्बना, चैत ११ गतेदेखि जारी लकडाउन अझैं सकिने सम्भावना नरहँदा भित्रीकोट दरबारको पुनर्निर्माणको काम पनि थाँती रहने निश्चित छ ।

भित्रीकोटको इतिहास खोतल्दा
पाल्पादेखि पश्चिम क्षेत्रका चौबिसे राज्यहरुमध्ये प्युठान राज्य शक्तिशाली मानिन्थ्यो । यसको राजधानी भित्रीकोट थियो । यहाँ मध्यकालमा सिंह राज परिवारले शासन चलाएको मानिन्छ भने त्यसपछि मगर जाट राजा र सो पश्चात् चन्द वंशीय राजाहरूले शासन गरेको पाइन्छ । सदरमुकाम नजिकै मल्ल राजा, उदयपुर कोटमा ब्राह्मण अधिकारी राजा भए । भनिन्छ जोसँग सैन्य शक्ति नै थिएन ।

चन्द्रबंशी राजाको राजधानी भित्रीकोटमा तत्कालीन राजा थिए । त्यहीँबाट प्युठानको राजकाज चल्थ्यो । त्यो बेलासम्म प्युठान राज्यको प्रशासनिक, न्यायीक र आर्थिक अधिकार दरबारमा केन्द्रित रहेको डा. गितु गिरीले लेखेको पुस्तक ‘प्यूठान राज्यको इतिहास’ मा उल्लेख गरिएको छ ।

विसं. १८४३ मा दामोदर पाण्डेको नेतृत्वमा आएको गोर्खाली फौजले हमला गरेर भित्रीकोटलाई नेपाल राज्यमा गाभेको थियो । तत्कालीन चन्द वंशीय राजाहरु युद्ध हारेपछि ती फौज भित्रीकोट छाडेर रोल्पाको क्यूरीमा सरेको इतिहास पाइन्छ ।

भित्रीकोटमा १४ राजाले राज्य गरेका थिए । यहाँको प्रथम राजा लटराज तथा १४ औं राजा रुद्रप्रताप चन्दराज हुन् ।

कला नै कला
दरबारको पश्चिमपट्टि भागमा क्षेत्रपाल मन्दिर र खडगथान पनि छ । क्षेत्रपाल मन्दिरमा बुट्टेदार कलात्मक टुँडालहरू पनि छन् । ती टुँडालहरूलाई हेर्दा त्यति बेलाको कलाहरू काठमाडौँ उपत्यकामा मन्दिरको टुँडालहरू भन्दा कम कलात्मक छैनन् । साना ठुला घण्टहरू पनि छन् । एकदमै पुरानो घण्टको केही भाग फुटेर टुटेको देखिन्छ ।

यहाँ रहेको सबैभना पुरानो घण्ट विसं. १८१४ मा कुवापानीका मनबिर डिठ्ठा खड्काले चढाएका थिए । खड्काकै नातिले चढाएको घण्ट पनि यहाँ छ । खड्गथानभित्र पस्दा एउटा सो स्वकेश छ । सो स्वकेशमा एउटा दमाह (बाजा र नगरा) राखिएको छ । भित्रपट्टी अर्को ढोका खोलेर हेर्दा पुराना तरबार, ढुङ्गे हतियार, चुप्पी, खुकुरी जस्ता हतियारहरू देखिन्छ ।

चाँदीको जलप र सुनको जलप लगाइएका ती हतियारहरू तत्कालीन शासकहरूले प्रयोग गरिएको भनिँदो रहेछ । त्यहाँ विभिन्न किसिमका हात हतियार, ढाल, तरबार, तोपगोला, बन्दुकहरू पनि थिए रे । तर अहिले ती सामाग्रीहरू हिनामिना भएको दरबारका डालबहादुर थापा बताउँछन् ।

दरबारको भग्नावशेष, भत्किएका पुराना पर्खाल, दरबारको नजि कै राजाले पानी पिउन बनाएको पोखरी, चाँदी लेपन गरिएका हातहतियार अहिले अवशेषका रुपमा देखिन्छ ।

तरबार, भाला, चुपी लगायतका हतियार र मन्दिरको खड्कथानको जीर्णोद्धारपछि पुनः मन्दिरमै लिएर राखिएको छ । क्षेत्रपाल मन्दिर र खड्गथान मन्दिरभन्दा झन्डैँ १ सय मिटर तल सिद्धेश्वरी गुफा रहेको छ । सो गुफाको बाटो हुँदै तत्कालीन शासकहरू गोप्य रूपमा झिमरुक नदीमा स्नान गरी सोही बाटो हुँदै फर्किने गरेको किम्बदन्ती छ ।

भित्रिकोट दरबार पुग्नुभन्दा २ सय मिटर तल रकते पोखरी पनि छ । तत्कालीन शासकहरूसँग हमला गर्न जाँदा आफ्ना बैरीहरूलाई खुँडा तरवारको सहायताले परास्त गर्दा त्यस्ता शत्रुहरूको रगत बगेर त्यही पोखरीमा संलिएकाले त्यसलाई रकतेपोखरी भन्ने गरिएको हो भन्ने किम्बदन्ती छ ।

हेरालुकै भरथेग
प्यूठान –७ का ७९ वर्षीय ढालबहादुर थापामगरको उमेरले नेटो काटिसकेको छ । अर्थात् ७९ वर्ष पुगिसके । बुढ्यौलीले ढाड कुप्रो परिसकेको छ ।
शरीरमा तागत छैन । तैपनि उनी सडक छेउमा कहिले झारपात उखेलिरहेका भेटिन्छन् भने भत्किएको सडकमा ढुंगामाटो लगेर टालटुल गरिरहेका भेटिन्छन् । यो उनको दैनिकी नै बनेको छ । उनकै भरमा भित्रीकोट दरबार चलेको छ ।

भित्रीकोट शक्तिको पीठ पनि भएकोले नका सन्तानले धेरै पहिलेदेखि पूजापाठ गर्ने र हतियारहरुको संरक्षण गर्ने गर्दै आएका थिए । त्यो भूकम्पले दरवार ढलायो । त्यसपछि यहाँका हातहतियार पनि गायब बनाइन थाल्यो । कसैले पनि ख्याल गरेनन् । दरबारको अस्तित्व मेटिन थालेपछि संरक्षणको जिम्मेवारी उनको सन्तानलाई आएको थियो ।

भित्रीकोट दरबारको छेउमै सानो झुपडी छ । त्यही उनी बास बस्छन् । यो ऐतिहासिक दरबार हेर्न मान्छेहरु आउने जाने गरिरहन्छन् ।

नेपाल एकीकरण हुनुअघिको ऐतिहासिक कालखण्डसँग जोडिएको भित्रिकोट तत्कालीन चन्दवंशी राजाहरुले राज्य गर्ने थलो थियो । भित्रीकोट राज्य, चौबिसे राज्य अन्तर्गतको शक्तिशाली मानिन्थ्यो । विसं १९९० को ठूलो भुकम्पले यो दरबार भत्कियो । जो अहिले भग्नावशेषमा बदलिएको छ । अहिले भग्नावशेष दरबारको रेखदेख थापामगरले गरिरहेका छन् ।

डालबहादुरको परिवारले तीन पुस्तादेखि दरबार रेखदेख गर्थे । उनका बाउबाजेले पनि हेरालुको काम गरे । अहिले डालबहादुर आफैँले दरबारको हेरचाह र संरक्षणको काम गर्दै आएका छन् ।

 

प्रतिकृया दिनुहोस

साताको लोकपृय

काे हुन् दिलबहादुर सिंह, यस्तो छ बझाङमा चुनाव जित्ने आधार

Dil bahadur singh khaptadtv

गणेश विक, काठमाडाैं । पंचायतकालीन राजनीतिक अवस्थाको बारेमा हामीले पढेका र सुनेका मात्रै छम् । त्य...