नेपालमा तीव्र रुपमा बढ्दै कोरोना संक्रमित, आज ९०१ पुग्यो संक्रमितको संख्या

Corona update

काठमाडौं । नेपालमा कोरोना संक्रमणको दर तीव्र रुपमा बढ्न थालेको छ । बुधबार मात्रै १२९ जनामा कोरोना (कोभिड –१९) पुष्टि भएको छ । योसँगै कुल संक्रमित संख्या ९०१ पुगेको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौं, धरान, विराटनगर, पोखरा, हेटौंडा, दाङ, पोखरा र सुर्खेतमा गरिएको परीक्षणमा एकैदिन १२९ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाका अनुसार बुधबार धरानको बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा गरिएको परीक्षणमा सप्तरीका ११ जनामा पोजेटिभ देखिएको छ । कोसी अस्पताल विराटनगरमा गरिएको परीक्षणमा झापाका १७ जनामा कोरोना पोजेटिभ देखिएको छ ।

नयाँ संक्रमितमध्ये वीरेन्द्रनगर नगरपालिका ७ पुरुष र ३ महिला रहेका छन् भने चौकुने गाउँपालिकाका दुईजना महिला र एकजना पुरुष रहेका छन् ।

हेटौंडामा भएको परीक्षणमा रौतहटका ७ सहित ८ जनामा कोरोना पोजेटिभ देखिएको छ । पोखरामा भएको परीक्षणमा बागलुङका ४ जनामा पोजेटिभ देखिएको छ । दाङमा भएको परीक्षणमा रुकुम पूर्वका ३, दाङका १५ गरी १८ जनामो पोजेटिभ देखिएको हो ।

बाँकेको भेरी अस्पतालमा भएको परीक्षणमा १६ जना पोजेटिभ देखिएको प्रवक्ता डा। देवकोटाले बताए । राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा गरिएको परीक्षणमा ३८ जनाको पोजेटिभ रिपोर्ट आएको छ ।

बुधबार कर्णालीमा पनि १५ जनामा कोरोना पुष्टि भएको छ । वीरेन्द्रनगरको प्रयोगशालामा भएको परीक्षणबाट १५ जनामा पोजेटिभ देखिएको सामाजिक विकास मन्त्रालयको स्वास्थ्य महाशाखाका प्रमुख डा. लक्ष्मीनारायण तिवारीले जानकारी दिए ।
बझाङमा एकजना ५५ वर्षीय पुरुष रहेको खुलेको छ भने अर्की एक महिला बोल्न नसक्ने भएकोले पहिचान नभएको महाशाखाका प्रमुख डा। तिवारीले बताए ।

प्रतिकृया दिनुहोस