रुकुम घटनाका दोशीलाई कारवाहीको माग गर्दै विरोध प्रदर्शनमा उत्रिए देशभर दलितहरु

Aandolan ktm 14

काठमाडौं । शनिबार रुकुमपश्चिम चौरजहारी नगरपालिका–८ सोतीका गाउँलेहरुको कुटाइबाट जाजरकोट भेरी नगरपालिका–४ रानागाउँका नवराज विकसहित ४ जना मारिएको विरोधमा देशभरका दलितहरुले विरोध प्रदर्शन गरेका छन् ।

गैरदलितको छोरी लैजान खोजेको भन्दै रुकुमपश्चिम चौरजहारी नगरपालिका–८ सोतीका गाउँलेहरुको जाजरकोट भेरी नगरपालिका–४ रानागाउँका नवराज विकसहितलाई आक्रमण गर्दै लखेटेका थिए । सो क्रममा उनीसहित ६ जना बेपत्ता भएकोमा ४ जनाको शब भेटिएको छ भने अझैं २ जना बेपत्ता छन् ।

सो घटना लगत्तै देशभरका दलित समुदायका आन्दोलनमा उत्रिएका छन् । विभिन्न संघ संस्था र राजनीतिक दलहरुले विज्ञप्तीमार्फत सो घटनाको निन्दा गरेका छन् भने दलित सांसदहरुले मंगलबार प्रतिनिधिसभाको बैठकमा हंगामा नै मच्चाएको थिए ।

सो घटनाको विरोधमा आज पनि देशभर विरोध प्रदर्शन भएका छन् । लामो समयको लकडाउनका बीचमा पनि काठमाडौं लगायत देशभरी नै विरोध प्रदर्शन भएको छ । यसअघिका घटनाहरुमा कुनै ब्यानरमा आन्दोलन हुने गरेकोमा रुकुम घटनाको सवालमा भने स्वतस्फुर्त दलित समुदाय सडकमा उत्रिएका छन् । दलित समुदायले गरेको आन्दोलनमा विभिन्न समुदायका नागरिकको पनि उत्तिकै समर्थन रहेको छ ।

बुधबार दलित समुदायका युवा विद्यार्थीले काठमाडौंको माइतीघर मण्डलामा विरोध प्रदर्शन गरेका छन् । प्रदर्शनका क्रममा प्रदशनकारीहरुले ‘जातीय विभेद अन्त्य गर, हत्यारालाई कारवाही गर, पीडित परिवारलाई न्याय दे, छुवाछूतमुक्त राष्ट्र कार्यान्वयन गर’ जस्ता नाराहरु लगाएका थिए ।

सो विरोध प्रदर्शनमा तत्कालीन मुक्ति समाज नेपालका महासचिव गणेश विक, नेपाल दलित संघका सचिव दिपक सोनीसहित राष्ट्रिय दलित पत्रकार संघका उपाध्यक्ष गोपाल बराइली, महासचिव लक्ष्मण दर्नाल, संघका उपत्यका समितिका अध्यक्ष सुशील दर्नाल, उपाध्यक्ष गणेश विक, दलित अधिकारकर्मीहरु युवराज दर्नाल, अन्जान परियार, प्रदिप सोब लगायतका युवा विद्यार्थी सहभागी थिए ।

त्यसैगरी रुकुममा भएको बर्बर घटनाको विरोधमा बारा, झापा, बुटवल, तनहुँ, कैलाली लगायतका जिल्लामा पनि प्रदर्शन भएका छन् । प्रदर्शनका क्रममा प्रदर्शनकारीहरुले घटनाको सत्य तथ्य छानविन गरी दोशीलाई कडा भन्दा कडा कारवाही गर्न माग पनि गरेका छन् ।

त्यसैगरी सो घटनाको विरोधका बुटवलमा पनि प्रदर्शन भएको छ । स्वत स्फूर्त रुपमा दलित नागरिक अगुवा, मानवअधिकारकर्मी र आम नागरिकहरुको सहभागितामा जाजरकोटका नवराज विक सहितको नरसंहारको छानविन गरि दोषीलाई कारवाहीको माग गर्दै प्लेकार्ड सहितको विरोध प्रदर्शन गरिएको हो ।

‘रुकुम हत्यामा संलग्नलाई कारवाही गर, जातीय विभेदमाथिको बर्बरता कहिलेसम्म ? दलितमाथिको विभेद अन्त्य गर, रुकुम घटना पिडितलाई न्याय दे, अजित मिजार, नवराज विक र रुपन्देहीका अङगिरा पासीको हत्या कहिलेसम्म ? जस्ता प्लेकार्डसहित अधिकारकर्मी, आम नागरिकहरु प्रदर्शनमा उत्रेका थिए ।

बुटवल पुष्पलाल पार्कको मुख्य सडक क्षेत्रमा करिव १ सय मिटरको क्षेत्रसम्म सामाजिक दुरी कायम गर्दै मौन रुपमा प्लेकार्ड लिएकाहरुले जातीयताका नाममा हुने विभेद स्वीकार गर्न नसकिने भन्दै संविधानको रक्षा गर्न सरकारले ध्यानआकर्षण गराए ।

सो प्रदर्शनमा संविधानसभाका सदस्य तथा राष्ट्रिय दलित पत्रकार संघ नेपालका केन्द्रीय अध्यक्ष विनोद पहाडीले रुकुम घटना जातीयताकै कारण भएको दक्षिण एसियाकै ठूलो नरसंहार भएको भन्दै अब अन्याय सहन नसक्ने बताए ।

उनले दरबार वा मन्त्रालयमा बसेर रुकुम घटनामा संलग्न दोषीलाई संरक्षण गर्न खोजिएपछि बुटवलका आम नागरिक स्वतस्फूर्त रुपमा कोरोना भाइरस नियन्त्रणका लागि लकडाउन हुँदा पनि बाध्य भएर सडकमा उत्रनुपरेको बताए । संघिय लोकतान्त्रिक गणतन्त्र स्थापना गर्न माओवादी जनयुद्धको चौरजहारीमा सामूहिक रुपमा हत्या गरिनु निकै ठूलो लज्जाको बिषय भएको उनले बताए । उनले रुकुम घटना पासविक घटना भएको अवस्थामा राजनितिक संरक्षण भए सरकारले ठूलो मूल्य चुकाउनुपर्ने चेतावनी दिए ।

सो प्रदर्शनमा दलित अभियान्ता नरबहादुर सुनार, दलित नेता जोगलाल विश्वकर्मा, मानव अधिकार तथा शान्ति समाजका केन्द्रीय बरिष्ठ उपसभापति गोविन्द खनाल, बरिष्ठ पत्रकार बालकृष्ण चापागाई, दलित अगुवाहरु जुद्ध विश्वकर्मा, हरिओम विश्वकर्मा, रामकुमार रणपाल, एमवि विश्वकर्मा, लोक बहादुर नेपाली, दीपक विश्वकर्मा, मनु खड्का लगायतको सहभागिता थियो ।

रुकुम घटनाको निष्पक्ष छानविन र दोशीलाई कारवाहीको माग गर्दै बाराको निजगढमा विरोध प्रदर्शन भएको छ । निजगढको भमरा पुलबाट निस्किएको र्‍याली बुद्धचोकमा पुगेर कोण सभामा परिणत भएको थियो ।

सो र्‍यालीमा सहभागीहरुले ‘जातीय बिभेद अन्त्य गर, घोषणा र कानुन नारामा व्यवहार पुरानै पारामा’ जायी बिभेद चाहिँदैन मान्छे मार्न पाईदैन’ जस्ता नारा लगाएका थिए ।

सो विरोध प्रदर्शनमा निजगढ नगरभित्र रहेका दलित अधिकारकर्मी, दलित युवाहरुको समुह स्वतस्फुर्त रुपमा विरोध प्रदर्शनमा उत्रिएका थिए । सो प्रदर्शनमा झण्डै २ सयको संख्या रहेको सो विरोध प्रदर्शनमा निजगढ नगरपालिका वडा नं. ८ का वडा सदस्य प्रमिला सुनार, दलित अगुवा एवम् महिला नेतृ सर्मिला बिश्वकर्मा, राष्ट्रिय दलित पत्रकार संघका केन्द्रिय सदस्य उमेश विश्वकर्मा, दलित अधिकारकर्मी मछिन्द्र गहतराज, ईन्द्र बिश्वकर्मा लगायतले सो घटनाको विरोध गर्दै दोशीलाई कडा कारवाही गर्न माग गरे ।

त्यसैगरी राष्ट्रिय दलित पत्रकार संघ तनहुँ शाखाले अन्तरजातीय बिबाह गर्न खोजेको भन्दै जाजरकोटमा नवराज बिकलगायत ४ जनाको ज्यान जानेगरी भएको घटनामा दोषीलाई कारबाही गर्न माग गर्दै प्रधानमन्त्री र गृहमन्त्रीलाई ज्ञापनपत्र बुझाएको छ ।

बुधबार तनहुँका प्रमुख जिल्ला अधिकारी रुद्रप्रसाद पण्डितमार्फत प्रधानमन्त्री र गृहमन्त्रीलाई ध्यानाकर्षण पत्र बुझाउँदै दलित समुदायका पत्रकारहरुले दलित समुदायमाथी हुने भेदभाव स्वीकार्य नहुने बताएका छन् ।

प्रमुख जिल्ला अधिकारी पण्डितलाई ध्यानाकर्षण पत्र बुझाउँदै संघका अध्यक्ष सानेबहादुर नेपालीले मानव सभ्यताको पहिचान जाजरकोटमा भएको घटनाले मेटाइदिएको दाबी गरे उनले अध्यक्ष नेपालीले दलित समुदायको युवाले अन्तरजातीय विवाह गर्न खोज्दा भएको हत्या प्रकरणले गणतान्त्रिक राज्यको धज्जी उडाएको बताए ।

ध्यानाकर्षण पत्र बुझाउन प्रदेश समितिका उपाध्यक्ष पुर्ण बिके, जिल्ला उपाध्यक्ष शालिकराम सुनार, सचिव अशोक बिश्वकर्मा, कोषाध्यक्ष सबिता बिश्वकर्मा, सुरेश सुनार, कोपिला सुनार, सन्तोष बिक, बिकास सुनार, देव गजमेर लगायतका पत्रकारहरु जिल्ला प्रशासन कार्यालय पुगेका थिए ।

हत्यारालाई कारबाहीको माग गर्दै कैलालीको बौनियामा पनि प्रदर्शन भएको छ । कैलालीको बर्दगोरिया गाउँपालिकामा दलित एकता मञ्चले रुकुमको चौरजहारीमा भएको नवराज विकको हत्या प्रकरण घटनाका दोषीलाई कडा कारबाही गर्नुपर्ने भन्दै विरोध प्रदर्शन गरेको हो ।

गाउँपालिकामा रहेका दलित अगुवा, दलित समुदायका युवाहरु लगायतको उपस्थितिमा नारा जुलुससहित सामाजिक दूरी कायम गर्दै सो गाउँपालिकाको बौनिया बजार क्षेत्रमा व्यापक प्रदर्शन गरिएको हो ।

कार्यक्रममा दलित एकता मञ्चका अध्यक्ष पुस्कर सुनार, नेकपा कैलाली जिल्ला सदस्य एवं बौनिया बजार व्यवस्थापन समितिका अध्यक्ष रुपक सुनार, नेपाली कांग्रेस प्रतिनिधि एवं दलित अगुवा टेकबहादुर विक, युवा नेतृ बालकुमारी विक लगायतले विश्वव्यापी कोरोना भाइरसको महामारी विरुद्ध संसारका मानिसहरु लडिरहेका बेला नेपालमा जातीय छुवाछुत विरुद्ध लड्नुपर्ने दुखद अवस्था रहेको बताए ।

प्रदर्शनमा सहभागीहरुले ‘जातीय हत्या हिंसा बन्द गर, हत्यारालाई फाँसी दे, कथित जातीय ब्राह्मणवाद मुर्दावाद, दलित एकता जिन्दावाद’ लगायतका नारा लगाएका थिए ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

काे हुन् दिलबहादुर सिंह, यस्तो छ बझाङमा चुनाव जित्ने आधार

Dil bahadur singh khaptadtv

गणेश विक, काठमाडाैं । पंचायतकालीन राजनीतिक अवस्थाको बारेमा हामीले पढेका र सुनेका मात्रै छम् । त्य...