च्याउ टिप्न जंगल गएका १० जना सम्पर्कविहीन
नवलपरासी । जंगली च्याउ टिप्न मदरबाबा जंगल गएका बर्दघाट नगरपालिका–१५ तेलहा गाउँका १० जना किशोरहरू शुक्रबारदेखि सम्पर्कविहीन बनेका छन् ।
च्याउ टिप्न जाने भन्दै शुक्रबार दिउँसो १ बजे गाउँका १६–१७ वर्षे उमेर समूहका १० जना किशोरहरू एकसाथ जंगल पसेका थिए । राति अबेरसम्म पनि घर नफर्केपछि खोजी सुरु गरेको स्थानीय टेक बहादुर थारूले बताए । टेक बहादुरका छोरा सुरज चौधरी पनि हराएका छन् ।
हराउनेमा सुरज चौधरी, नवीन चौधरी, मान बहादुर चौधरी, सागर र सन्दीपलगायत १० जना दौतरीहरू सँगै गएका रहेका छन् । उनीहरूसँग भएको मोबाइलमा पनि सम्पर्क हुन सकिरहेको छैन ।
स्थानीयवासी, प्रहरी तथा वनका कर्मचारीहरु परिचालन गरिएको भए पनि अहिलेसम्म उनीहरुको खबर पाउन सकिएको छैन । शनिबार बिहान फेरि गाउँका थप व्यक्तिका साथ खोजी थालिएको छ ।
शनिबार बिहान १० बजे हराएका मध्ये एक जनाको फोन आएको र हामी पहाड पारि हराएका छौं भन्ने बताएपछि खोजीका लागि गाउँलेहरु घना पहाडतर्फ उक्लिएका छन् । मोबाइल नेटवर्क नभएका कारण सम्पर्कविहीन भएको स्थानीयले बताएका छन् ।
प्रतिकृया दिनुहोस