‘दाई म यो सब कुरा सानो भाईलाई कसरी सम्झाउँ ?’

Kalasha shahi 12

दाई हजुरको आत्माले शान्ति पाओस् ।

दाई आज एक वर्ष भइसक्यो हजुरको फोन आउन छाडेको पनि । दाई हजुरको बोली नसुनेको पनि आज एक वर्ष भइसक्यो । हजुरको बोली सुन्न धेरै मन लागेको छ । अब हामीले हजुरको बोली कहिले सुन्न पाउँछौ होला र ?दाई अब हजुरसँग भेट्न र बोल्न त पाउँदैनौ नै, तर पनि किन

किन हजुर हामीलाई भेट्न चाँडै आउनु हुन्छ भन्ने लाग्छ । हजुरले हामीलाई सधैंका लागि छोडर जानु भएको छ । तपाईले किन हामीलाई एक्लै छाडेर छाडेर टाँढा जानु भएको होला ? दाई कति निष्ठुरी हुनु भएको होला ? यस्तै प्रश्न मनमा उठिरहन्छ । माछीलाई पानीको भर भनेझै हामीलाई पनि जिन्दगीभर हजुरकै भर थियो । दाई अहिले हामीलाई हजुरको अत्यन्तै अभाव छ । जहाँ जे गरे पनि हामीलाई हजुर कै याद आउँछ ।

केही कुरको अभाव हुँदा पनि दाई हुँदाखेरी यस्तो हुँदैथ्यो, दाई खोई ? दाईले यस्तो मिठो खान दिइसिन्थ्यो, राम्रो लगाउन दिइसिन्थ्यो भनेर भाईले मसँग गनगन गरिरहन्छ । दाई म यो सब कुरा सानो भाईलाई कसरी सम्झाउँ ? दाई यो संसारमा हुनुहुन्न भनेर कसरी भनौं ?

दाई हजुरको अभाव भएको १ वर्ष हुँदा पनि हामी अझैं हजुर आउनु हुन्छ की भनेर बाटो हेरिरहन्छौं । हजुरसँग भेट हुन्छ की भनेर कहिले हजुर बस्ने ठाँउ त हजुर खाने ठाउँ पनि नियाल्छौं । यो सानो भाई हजुर नहुँदा साह्रै निरास छ । न्यास्रो मानिरहन्छ । भाईले हजुरको कुरा नगरेको दिन हुँदैन ।

आजसम्म हजुर आउने बाटो हेरेर बसेको छ । जब रात पर्छ, झ्यालबाट हेर्छौ । दाई अझैँ पनि मोबाइलमा घण्टी बज्दा कतै दाईको फोन आयो की भनेर हेर्ने गर्छु । हजुरलाई हामीले धेरै मिस गरेका छौं । दाई हजुरले हामीलाई आफुलाई भन्दा धेरै माया गरिसिन्थ्यो । तर, आज हामीबीच हजुर होइसिन्न । तर पनि किन हो किन हजुरको बाटो हेर्न मन लाग्छ, अझैं हजुर फर्किएर आउनु हुन्छ की भन्ने लाग्छ ।

हजुर हुँदा र हजुर नहुँदा जिन्दगी निकै फरक छ । दाई हजुर हुँदा हामी खुशी थियौं । तर अहिले खुशी भन्ने शब्दमा मात्रै छ । दाजु पहिला केहि कुराको कमी थिएन । तर अहिले सबै कुराको अभाव छ । दाई अब हजुर आईसिने आसा पनि मरिसक्यो । हजुर हुँदा म छँदैछु, तिमीहरूलाई केही हुन दिन्नँ भरेर सम्झाई बुझाई गरिसिन्थ्यो । तर अहिले हजुरले हामीलाई छोडेर गएपछि हामीलाई सम्झाउने कोही छैन ।

जे जस्तो भए पनि दाई हजुरको आत्माले शान्ति पाओस् । यो पापी दैवले हजुरलाई हामीबाट टाढा लगे पनि हजुरका यादहरु सदैव हाम्रो साथमा रहने छन् ।

उहीँ हजुरकी प्यारी बैनी
✍️ कलशा शाही

(काठमाडौंको अनामनगरस्थित घट्टेकुलोमा भएको कुकर बम विस्फोटमा परि २०७६ जेठ १२ गते प्रज्ज्वल शाहीको निधन भएको थियो । बझाङ घर भएका शाही नेकपा निकट विद्यार्थी संगठन अखिल (क्रान्तिकारी) का केन्द्रीय सदस्य तथा सीटीइभीटी इकाइका सभापति थिए ।

उनलाई नेकपाले सहिद घोषणा गरेको थियो । बझाङबाट उच्च शिक्षा अध्ययनका लागि काठमाडौं छिरेका प्रज्वलले २ जना भाइहरु दिवस, विवस र एक बहिनीलाई पनि काठमाडौंमै पढाउन ल्याएका थिए । यीनै प्रिय दाई प्रज्वलको सम्झना उनकी बहिनी कलशाले लेखेको यो पत्र हामीले प्रकाशन गरेका हौं । (सम्पादक )

प्रतिकृया दिनुहोस

साताको लोकपृय

सुदूरपश्चिमबाट एकीकृत समाजवादीले साथ छोड्दा गठबन्धनलाई केन्द्रलाई धक्कैधक्का

Pm prachanda kp oli meet with madhav kumar nepal

काठमाडौं । बालुवाटारबाट पटकपटक हेपिएको र सत्तामा नाम मात्रको सहभागीता भएको महसुस गर्दै आएको सत्ता...