लापरवाहीको नमुना : काठमाडौंका अस्पतालले भर्ना नलिँदा कोरोना संक्रमित ११ घन्टा एम्बुलेन्समै

3f2b23dae6a938a7a980b1ea5cc46962 w1000 h500 cp

काठमाडौँ । एक जना बिरामी कोरोना संक्रमण पुष्टि भएपछि उपचारका लागि टेकु अस्पतालको गेटमै ११ घण्टासम्म कुरे । एम्बुलेन्समै उकुसमुकुस हुँदै ११ घण्टासम्म गेटमा कुरेपछि बल्ल ती बिरामीलाई दुवाकोटस्थित केएमसी अस्पताल राति १ बजे पठाएको छ ।

सरकारले कोभिड क्लिनिक भनेर तोकेका अस्पताल मात्रै काठमाडौं उपत्यकामा ६ वटा छन् । तर, शनिबार एक संक्रमितले अस्पतालमा भर्ना नपाएर ११ घन्टा एम्बुलेन्समै बिताउनुपर्‍यो ।

दिउँसो २ बजे एम्बुलेन्समा पाटन अस्पताल पुगेका ती संक्रमितलाई राति १ बजे बल्ल दुवाकोटस्थित काठमाडौं मेडिकल कलेज केएमसीमा भर्ना गरिएको थियो । सर्लाही घर भएका ती संक्रमित एक साताअघि भारतको महाराष्ट्रबाट फर्किएका थिए ।

नेपाल प्रवेश गरेपछि टेम्पोमा घर जाने बेला सप्तरीमा उनी दुर्घटनामा परे र खुट्टा भाँचियो । उपचारका लागि काठमाडौं आएका उनी कुलेश्वरस्थित राजधानी अस्पतालमा भर्ना भएका थिए ।

शल्यक्रिया गर्नुअघि अस्पतालले गरेको स्वास्थ्य जाँचमा उनमा कोरोना पोजेटिभ देखियो । त्यसपछि राजधानी अस्पतालले उनको शल्यक्रिया नगरी शनिबार दिउँसो पाटन अस्पताल रेफर गरेको थियो । बिरामी पुरुषका साथमा उनकी श्रीमती र भाइ छन् । संक्रमित पुरुषसँगसँगै उनको श्रीमती र भाइ एम्बुलेन्समै ११ घण्टासम्म बस्नु परेको दुखेसो पोखे ।

अस्पताल प्रशासनले बेड खाली नभएको भन्दै बाहिरै कुर्न आग्रह गरेपछि बिरामी सात घन्टा अस्पतालको पार्किङमा एम्बुलेन्सभित्र बस्न बाध्य भए । राति १ बजे मात्रै पाटन अस्पतालले बिरामीलाई केएमसी अस्पतालमा रेफर गर्‍यो ।

सरकारले काठमाडौं उपत्यकामा कोरोनाको उपचारका लागि पाटन अस्पताल, टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवारोग अस्पताल, कीर्तिपुरस्थित आयुर्वेद अनुसन्धान केन्द्र, सशस्त्र प्रहरी अस्पताल, काठमाडौं मेडिकल कलेज र त्रिवि शिक्षण अस्पताललाई तोकेको छ । यी अस्पतालमा एक सय ८७ आइसोलेसन बेड छन् ।

राजधानी अस्पतालले समन्वय नगरी संक्रमितलाई पठाउँदा घन्टौँ एम्बुलेन्समै बस्नुपरेको स्पष्टीकरण पाटन अस्पतालले दिएको छ । ‘उताबाट समन्वय नै नगरी पठायो । हामीकहाँ आइसोलेसन बेड ६ वटा मात्रै छन्, ती सबै भरिएका कारण संक्रमितलाई तत्काल भर्ना गर्न सकिएन,’ अस्पतालका निर्देशक डा.विष्णु शर्माले भने ।

संक्रमितसँगै दुई कुरुवा पनि सात घन्टासम्म एम्बुलेन्समै बस्न बाध्य भएका छन् । अस्पतालको लापरबाहीले उनीहरू पनि जोखिममा परेको एम्बुलेन्स चालकले बताए ।

बिरामी भएर सर्लाहीबाट पाँच दिनअघि काठमाडौं आएका ती संक्रमित पुरुष बल्खुस्थित राजधानी अस्पतालमा उपचाररत थिए । उनको स्वाव संकलन गरी परीक्षणका क्रममा शनिवार बिहान संक्रमण पुष्टि भएको थियो । संक्रमण पुष्टि भएसँगै राजधानी अस्पतालमा ८० हजार रुपैयाँ तिरेर एम्बुलेन्समा टेकु अस्पताल आएका थिए ।

अनेरास्ववियुका नेता आरती लामाले सर्लाहीका ती संक्रमित पुरुषलाई सहयोग गर्न सामाजिक सञ्जालमा आव्हान गरेकी छन् ।

उनले फेसबुकमा लेखेका छन्, ‘मेरो सर्लाही जिल्लाका एक बिरामी जो हिजो टेकु हस्पिटल अगाडि एम्बुलेन्समा उपचारको निम्ति १ बजे सम्म कुरिरहे तर उपचार पाएन । हिजो मात्र पीसीआर टेस्टमा कोरोना पोजेटिभ देखेका बिरामीलाई टेकुले उपचार गर्न नमान्दा, अहिले त्यहीबाट भक्तपुर केएमसी पठाइएको छ । बिरामी र कुरुवाहरु भोकै भएको हुँदा त्यता कोइ साथीहरु हुनु हुन्छ भने सहयोगको निम्ति अपिल गर्छु ।’

प्रतिकृया दिनुहोस

साताको लोकपृय

निशानन्युजकर्मी बराइली दिलिप घिमिरे स्मृति पत्रकारीता पुरस्कारबाट सम्मानित

Baraili samman

काठमाडौं । निशान न्युजकर्मी गोपाल बराइली स्वर्गीय पत्रकार दिलिप घिमिरेको स्मृतिमा स्थापित दिलिप घ...