एक जिल्लाबाट अर्काे जिल्ला जान लाग्यो प्रतिबन्ध, सबै सवारी पास रद्द

कोरोना संक्रमितको संख्यामा वृद्धि भएसँगै बारामा निषेधाज्ञा जारी

Lockdown jam ktm

काठमाडौं । लकडाउनलाई खुकुलो बनाउने तयारी भइरहँदा सरकारले एक जिल्लाबाट अर्को जिल्ला जाने गरी जारी भएका सबै सवारी पास रद्द गरेको छ ।

मुलुकमा कोरोना भाइरस संक्रमितको संख्या बढिरहेका बेला गृह मन्त्रालयले बिहीबारदेखि एक जिल्लाबाट अर्काे जिल्ला जान प्रतिबन्ध लगाएको हो ।

गृह मन्त्रालयका अनुसार उपत्यकामा कार्यरत सरकारी कर्मचारीको हकमा पनि पासलाई अनिवार्य गरिएको छ । आइतबारदेखि सरकारी कर्मचारी, बैंक तथा वित्तीय संस्था, उद्योग, निर्माण सेवा लगायतसँग सम्बद्ध व्यक्तिले कार्यालयको परिचय पत्र देखाएर हिँड्ने गरेका थिए ।

सञ्चारकर्मीको हकमा भने सूचना विभागको परिचय पत्रका आधारमा आवतजावत गर्न दिइने गृहले जनाएको छ ।

यता, मध्य तराईको बारा र पर्सामा कोरोना संक्रमितको संख्यामा वृद्धि भएसँगै जिल्ला प्रशासन कार्यालय बाराले निषेधाज्ञा जारी गरेको छ । क्राइसिस मेनेजमेन्ट सेन्टरको मंगलबार बसेको बैठकले कोरोना रोकथाम तथा नियन्त्रणका लागि वैशाख २५ गते जारी भएको निषेधाज्ञालाई थप प्रभावकारी बनाउँदै निषेधाज्ञा जारी गर्ने निर्णय गरेको हो ।

पर्साको वीरगञ्जबाट कार्यालयको काम तथा अन्य प्रयोजनका लागि बारा आवतजावत हुने अत्यावश्यक स्वास्थ्य सेवा, विद्युत, सञ्चार, खानेपानी, बैंक, खाद्यान्न, दूध, पानी, ग्यास, तेल, तरकारी, औषधि, एम्बुलेन्सबाहेक अन्य सवारी साधनहरुलाई पूर्ण रुपमा बन्देज लगाउने निर्णय गरेको छ ।

प्रतिकृया दिनुहोस