प्रधानमन्त्रीलाई डा. भट्टराईको सुझावः उचाईंमा पुगेर त्यहीँ रहनुस्

Dr.baburam speech on parliament

काठमाडौं । पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले संघीय संसदको बजेट अधिवेशनको पहिलो दिन प्रतिनिधिसभा बैठकमा जीर्ण शरीरलाई आराम दिन प्रधानमन्त्री केपी शर्मा ओली आग्रह गरेका छन् ।

‘तपाईं उचाईंमा पुगेर त्यहीँ रहनुस्, यस्ता अनावश्यक तनावमा नपर्नुस्’, उनले भने, ‘रोगले जीर्ण भएको शरीरलाई आराम गर्नुस् । प्रधानमन्त्री पदबाट राजीनामा दिनुस् । हामी ६०/६५ वर्षमाथिकाले अब आराम गर्नु नै उचित हुन्छ ।’

प्रधानमन्त्रीबाट लोकतन्त्रविरोधी गम्भीर गतिविधि भएको भन्दै उनले नैतिकताका आधारमा राजीनामा दिन आग्रह गरे । ‘प्रधानमन्त्रीसँग मेरो आग्रह छ, जुन उचाईमा पुग्नुभएको छ । त्यही रहनुस्’ उनले अघि भने, ‘तपाईले अनावश्यक ढंगले यस्ता गतिविधिमा संलग्न हुँदा आफैंमाथि अन्याय भएको छ । लोकतन्त्र र आफैं छविलाई बचाउन तपाईले राजीनामा दिनु नै उपयुक्त हुन्छ ।’

डा. भट्टराई प्रधानमन्त्री ओली अहिले राजनीतिको शिखरमा रहेकाले त्यहीँ रहिरहन सोच्ने बेला आएको जोड दिए । ‘शिखरमा पुग्न सजिलो हुन्छ तर अडिर गाह्रो पर्छ’, उनले भने, ‘त्यसैले अब प्रधानमन्त्रीले सोच्ने बेला आएको छ । आशा छ, उहाँले सोचेर उचित निर्णय लिनुहुन्छ ।’

उनले राजनीतिक दलबीच तिक्तता हुन नहुनेमा जोड दिए । ‘जनतामा हामी सबै खत्तम छौँ भन्ने छाप परेको छ । अब आत्मसमीक्षा गरौँ’, उनले भने, ‘३८ जना प्रधानमन्त्री भए । बीपीसहितको केही नाम आउँछ, अरु धेरैको त नाम पनि आउँदैन । मेरो पनि नाम आउँदैन होला । के सत्कर्म गर्यो भन्ने ठूलो कुरा हो । तपाईं (ओली) उचाईंमा पुगेर त्यहीँ रहनुस् ।’

राजनीतिक दल फुटाउने र संवैधानिक परिषदमा विपक्षी दलको नेता नभए पनि निर्णय गर्न सक्ने गरी सरकारले ल्याएको अध्यादेश लोकतन्त्रविरोधी हर्कत भएको भन्दै उनले ‘फिर्ता लिइहाल्यो, भइहाल्यो’ भन्ने अवस्था नरहेको बताए ।

यसका लागि टीकापुर घटनामा दोषी ठहर भएर निलम्बनमा रहेका सांसद रेशम चौधरीको मुद्दा फिर्ता लिन र नेत्र विक्रम चन्द विप्लव समूहलाई क्षमादान दिएर सहमतिमा ल्याउन भट्टराईले आग्रह गरेका छन् ।

प्रतिस्पर्धासँगै न्यूनतम राष्ट्रिय सहमति कायम गरेर अगाडि बढ्नुपर्ने भन्दै उनले कांग्रेस कम्युनिस्ट, पहिचानवादी शक्तिहरुबीच मेलमिलाप कायम गर्न आग्रह गरे । ‘तर तपाईहरुको सरकार गिरोस्, फेरि च्याखे थापेर सरकारमा जाउँ भन्ने मनसाय छैन । तपाईहरुले आफ्नै पार्टीका असल मान्छेहरुलाई अगाडि बढाउनुस् । पाँच वर्षलाई जनताले जनादेश दिएका छन् । त्यहाँ हाम्रो दाबी हुँदैन’ उनले भने, ‘तर महत्वपूर्ण राष्ट्रिय मुद्दामा मेलमिलाप कायम गरेर जाऊँ ।’

प्रतिकृया दिनुहोस