लोक सेवा आयोगले भन्योः विज्ञापन रोकिएको छैन, स्थगित मात्र भएको हो

Loksewa aayog bilding

काठमाडौं । सरकारले लोक सेवा आयोगले लिँदै आएका सम्पर्ण परीक्षा रोक्न निर्देशन दिएपछि लोक सेवाको विज्ञापनअनुसार फारम भरेका र पहिलो चरणका परीक्षा दिएका चिन्तामा थिए । तर, लोक सेवा आयोगले चिन्तामा परेका परीक्षार्थीलाई सान्त्वना दिएको छ ।

लोक सेवा आयोगले बिहीबार विज्ञप्ती जारी गर्दै लकडाउनका कारण चैत महिनादेखि नै प्रकाशन हुने नतिजा र परीक्षाहरु स्थगित मात्र भएको जनाएको छ ।

कोरोनाभाइरस महामारी रोकथामका लागि लगाइएको लकडाउनका कारण सरकारले नयाँ सरकारी कर्मचारी भर्ना प्रक्रिया स्थगित गर्दा विशेषगरी निजामतीसहित विभिन्न सरकारी सेवाका लागि परीक्षाको तयारी गरिरहेका हजारौँ मानिसहरूमा अन्योल सिर्जना भएको देखिएको थियो ।

कतिले सरकारले कोरोनाभाइरस महामारीद्वारा सिर्जना हुनसक्ने आर्थिक सङ्कटलाई न्यूनिकरण गर्न कर्मचारी भर्नालाई रद्दै गर्न सक्ने ठानिरहेका छन् ।

कतिपयमा भने विज्ञापन भइसकेका र आवेदन लिइसकेका सरकारी सेवाको परीक्षा भविष्यमा होला कि नहोला भन्ने चिन्ता देखिन्छ । तर, सरकारले अहिले नै कर्मचारी भर्ना रोक्ने निर्णय गरेको छैन । कोरोनाभाइरस महामारीका कारण उत्पन्न सङ्कटले गर्दा अर्को निर्णय नहुँदासम्मका लागि स्थगित मात्र गरिएको हो ।

मन्त्रिपरिषद्को यही वैशाख १४ गतेको बैठकले सकारी कर्मचारी भर्नासम्बन्धी दुईवटा निर्णय गरेको थियो । लोक सेवा आयोगका अध्यक्ष उमेशप्रसाद मैनाली कोरोना भाइरस महामारी कम भएर लकडाउन खुल्ने बित्तिकै प्रक्रियामा रहेका परीक्षाहरू सञ्चालन हुने बताउँछन् ।

लोक सेवा आयोगका अध्यक्ष मैनालीका अनुसार कानुनतः एक चरणको परीक्षा दिइसकेकाको परीक्षा रद्द गर्न मिल्दैन । उनले भने, ‘एक चरणको परीक्षामा हामी प्रवेश गरिसकेक छौँ। परीक्षा स्थगित गर्ने बेग्लै कुरा हो केही समयका लागि गरिएको हो। त्यो रद्द हुँदैन। हामीले त्यो परीक्षा लिनैपर्ने हुन्छ, चाहे त्यो शारीरिक तन्दुरुस्ती परीक्षा होस् चाहे त्यो प्ररम्भिक परीक्षा होस् ।’

हाल आयोगले निजामतीतर्फ शाखा अधिकृत र नायब सुब्बाको प्रथम चरणको परीक्षा लिइसकेको छ । अब उनीहरूको थप लिखित परीक्षा र अन्तर्वार्ता रद्द गर्न नमिल्ने उनले बताए ।

सरकारी जागिरका लागि आवेदन दिइसकेकाहरूका हकमा परीक्षा जति ढिलो भए पनि उमेरको हद नलाग्ने भएको छ । हाल विज्ञापन गरिएका तर कुनै पनि परीक्षा नभएकाका हकमा भने सरकारले ती कर्मचारी आवश्यक नपर्ने भएको भन्दै माग फिर्ता गरे विज्ञापन रद्द पनि हुनसक्छ ।

विभिन्न निकायबाट कर्मचारीको माग आएअनुसार सरकारको सिफारिसमा लोकसेवाले विज्ञापन र परीक्षा सञ्चालन गर्ने गर्छ । सरकारी सेवाका लागि आवेदन दिएका कतिपयले उक्त विज्ञापन रद्द भयो भने आफूले तिरेको आवेदन शुल्क फिर्ता हुन्छ ।

प्रतिकृया दिनुहोस