भारतमा अलपत्र परेका प्यूठानी भन्छन्, हामी रोगले भन्दा भोकले मर्ने भयौँ

India news pyuthan

प्युठान । एउटा सानो कोठा, जहाँ ४ जनासम्म बस्ने सजिलो हुन्छ । तर, बाध्यताले जेलमाझैं कोचिएका छन् १५ जनासम्म । उनीहरुको बसाई हेर्दा लाग्छ यो यातना गृह हो ।

राजस्थानको गंगानगरमा होटलमा काम गर्दै आएका नौबहिनी गाउँपालिका–७ का ८० जना प्यूठानीहरु लकडाउनका कारण अलपत्र अवस्था छन् । त्यति धेरै अलपत्र परेपछि एउटा होटलमा उनीहरु कष्टकर रुपमा समय बिताइरहेका छन् ।

एउटा सानो कोठामा १२/१५ जना खादिएर बसेका छौँ’, नौ बहिनी गाउँपालिका–७ का तारापती सुवेदीले भने, ‘साहुले मुस्किलले अहिलेसम्म खाना दिएको छ ।’

भारतको महाराष्ट्र तालुकामा अलपत्र परेका ऐरावती गाउँपालिका –५ का आयुस रन्जनले लकडाउनका कारण भोकै बस्नुपर्ने अवस्था आएको बताए । ‘कमाई गरेको पैसा पनि सकियो’ उनले भने, ‘अब के खाने, के गर्ने समस्या भयो । अब पैदलै हिँड्ने त होला नि ।’

महाराष्ट्रको तालुकामा सराङकोट गाउँका ४० बढी फसिरहेको उनले सुनाए । उनका अनुसार अहिलेसम्म यहाँको सरकारले स्वास्थ्य परीक्षणलगायत अन्य व्यवस्थापनमा कुनै चाँसो देखाएको छैन ।

उनीहरु सबैलाई होटल साहुले पनि होटल छाड्न दवाव दिइरहेका छन् । तर, लामो समयदेखि लकडाउन जारी रहेका कारण न नेपाल फर्किन सकेका छन्, न सोही स्थानमा काम खोजेर काम गर्न सक्ने अवस्थामा छन् ।

सबै जना खोरमा थुनिएको बाख्राझै भएका छन् । बाहिर जान पनि लकडाउन छ । कोरोनाको डर उत्तिकै छ । एउटै कोठामा धेरै जना कोचिएर बस्दा अन्य रोगको संक्रमणको जोखिम उत्तिकै छ ।

कोरोना भाईरसको जोखिम हुन नदिन भारतले गरेको ‘लकडाउन’ले नेपाली मजदुर समस्यामा परेका छन् । भारतको राजस्थान, महाराष्ट्र, पन्जाव, नयाँ दिल्ली लगायतका स्थानमा मजदुरी गर्दै आएका प्युठानीहरु चार सातादेखि फसेका छन् । उनीहरुले उद्दारका लागि पहल गरिदिन आग्रह गरेका छन् ।

नयाँ दिल्लीमा अलपत्र नेपालीले पनि उद्धारको याचना गरेका छन् । प्युठानको सरुमारानी –२ का यामु रानाले दिल्ली आसपासको बुद्धनगर नोयडामा ३ सय बढी प्युठानी समस्यामा परेको जानकारी दिए । उनले भने, ‘अरु जिल्लाको त धेरै छन् । यहाँ रोगले भन्दा पनि भोकले मर्ने चिन्ता बढि भयो ।’

‘लकडाउनले काम चलेको छैन, यसरी कति दिन चल्छ हाम्रो जीवन ?’, उनले भने, ‘हामीलाई पनि हाम्रो सरकारले उद्धार गरिदिए बरु हामी आफ्नै देशमा गएर कति दिन क्वारेन्टाईनमा बस्नुपर्ने हो, तयार छौँ ।’

राजस्थानमै रहेका दुर्गे गिरीले पनि लकडाउनका कारण नोकरी टुटेपछि आफुहरु बिखर्ची भएको सुनाए । उनले भने, ‘संगै काम गर्न आएका सबैको उहि हालत छ ।’ यहाँ लकडाउन खुल्नासाथ उनीहरुलाई साहुले घर जान भनिरहेको छ ।

खाना बस्नै समयस्या भएपछि दुतावासमा सम्पर्क गर्दा पनि फोन नउठ्ने समस्या रहेको उनको भनाई छ । उनीहरुले दिल्लीस्थित नेपाली दुतावासमा सम्पर्क गर्दा पनि दुतावासको हटलाई टेलिफोन नउठ्दा थप समस्या आएको बताउँछन् । ‘नयाँ दिल्लीमा रहेको नेपाली दूतावासमा धेरै पटक फोन गर्दा उठ्दै उठ्दैन’ उनले भने, ‘दुतावासकै फोन नउठेपछि कोसँग गुहार माग्ने ?’

खासगरी भारतमा होटेल रेस्टुरेन्ट र चौकीदारको रुपमा काम गर्ने नेपालीहरु झन बढी समस्यामा छन् । लामो समयको लकडाउनका कारण भारतका विभिन्न स्थानमा बस्ने नेपालीहरु समस्यामा परेको उनीहरुले बताएका छन् । उनीहरुले लकडाउन अवधिभर आफूहरुलाई खानपानको व्यवस्था मिलाइदिन नेपाल सरकारसँग आग्रह गरिरहेका छन् ।

तस्विर सौजन्य : यामलाल भण्डारी 

प्रतिकृया दिनुहोस

साताको लोकपृय

काे हुन् दिलबहादुर सिंह, यस्तो छ बझाङमा चुनाव जित्ने आधार

Dil bahadur singh khaptadtv

गणेश विक, काठमाडाैं । पंचायतकालीन राजनीतिक अवस्थाको बारेमा हामीले पढेका र सुनेका मात्रै छम् । त्य...