वामदेव गौतम ‘इन’ हुँदा पाल्पामा दलबहादुर राणा ‘आउट’ हुने !

Bamdev gautam

काठमाडौं । शनिबार बसेको नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को सचिवालयले उपाध्यक्ष वामदेव गौतमलाई प्रतिनिधिसभा चुनावको उम्मेदवार बनाउने भएसँगै फेरि चुनावी चर्चा चल्न थालेको छ । योसँगै वामदेव गौतमको संसदीय यात्रा हुने पक्कापक्की भएको छ ।

गत प्रतिनिधिसभामा बर्दियामा नेपाली कांग्रेसका सञ्जय गौतमसँग पराजित भएका गौतम त्यसयता कहिले प्यूठान, कहिले रोल्पा त कहिले काठमाडौंबाट निर्वाचन लड्ने चर्चा चल्दा पनि त्यो सम्भव भएको थिएन । पछिल्लोपटक नेकपाभित्रको आन्तरिक किचलोले भने उनलाई सांसद बन्ने बाटो खुल्ला गरिदिएको छ ।

शनिबार बिहानसम्म नेकपाभित्रको प्रचण्ड–नेपाल खेमामा रहेका गौतम शनिवार एकाएक गौतमलाई प्रधानमन्त्री केपी शर्मा ओलीले पाल्पाबाट चुनाव लड्ने सहमति गराइका थिए । सचिवालय बैठकअघि शनिबार दिउँसो प्रधानमन्त्री केपी शर्मा ओलीसँगको छलफलमा उनले पाल्पा निर्वाचन क्षेत्र नम्बर १ बाट चुनाव लड्ने सहमति गरेर प्रचण्ड–नेपाल खेमा तोडेका थिए ।

नेकपाको सचिवालयभित्र प्रचण्ड–नेपालको गुट बलियो बनेपछि ओली अल्पमतमा थिए । तर, समतिका लागि नेकपा महासचिव विष्णु पौडेलले पाल्पा–१ बाट प्रतिनिधित्व गर्ने सांसद दलबहादुर रानालाई राजीनामा गर्न मनाएका छन् । यो सबै प्रक्रियामा महासचिव पौडलले भूमिका खेलेका थिए ।

पाल्पा प्रतिनिधिसभा क्षेत्र नं १ मा तत्कालीन नेकपा एमालेका दलबहादुर रानाले आफ्ना प्रतिस्पर्धी नेपाली कांग्रेसका विजय घिमिरेलाई ८ हजार ५ सय ५६ मतले पराजित गरेका थिए ।

रानाले ३२ हजार ५ सय ४९ मत प्राप्त गरेका थिए भने घिमिरेले २३ हजार ९ सय ९३ मत पाएका थिए । पाल्पा प्रतिनिधिसभा क्षेत्र नं २ मा तत्कालीन नेकपा एमालेका सोमप्रसाद पाण्डे सांसद छन् ।

प्रतिकृया दिनुहोस