मध्यराती राष्ट्रपतिलाई भेट्न शितल निवास पुगे प्रधानमन्त्री

Kp bidhya vet

काठमाडौं । पार्टी सचिवालयका बहुसंख्यक सदस्यहरुले सचिवालय बैठकको माग गरिरहेको बेला प्रधानमन्त्री केपी शर्मा ओलीले राजनीतिक भेटघाटलाई तीव्र बनाएका छन् । यसैक्रममा आइतबार दिनभर विभिन्न नेताहरुसँग भेटघाट गरेका प्रधानमन्त्री ओली राष्ट्रपति विद्यादेवी भण्डारीलाई भेट्न आइतबार मध्यराती शितल निवासमा पुगेका छन् ।

पछिल्लो समयमा देखिएको राजनीतिक घटनाक्रमबारे छलफल गर्न प्रधानमन्त्री ओली राष्ट्रपति निवास पुगेको अड्कल गरिएको छ । यसअघि पनि पार्टीका बहसबारे राष्ट्रपतिले नेकपाका दुबै अध्यक्षहरु केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई आवश्यक सुझाव दिने चर्चा चल्ने गरेको थियो ।

कोरोना भाइरसको महामारीमा बैशाख ८ गते ल्याएको राजनीतिक दल विभाजन र संवैधानिक परिषदसम्बन्धी अध्यादेशका कारण प्रधानमन्त्री र राष्ट्रपति दुबैको चर्को विरोध भएपछि उक्त अध्यादेश चार दिनपछि फिर्ता भएको थियो ।

नेकपाका बहुसंख्यक स्थायी समिति सदस्यहरुले बैठकको माग गर्दै हस्ताक्षर संकलन गरिसकेका छन् । अध्यादेश रातारात जारी गर्ने र खारेज गर्ने बिषयलाई लिएर नेकपामा प्रधानमन्त्रीको नैतिकतामाथि प्रश्न उठेको भन्दै नैतिकताको आधारमा राजीनामा दिनुपर्ने चर्चा पनि चल्न थालेको छ ।

अध्यादेशलाई लिएर दुबैको व्यापक आलोचना भएपछि आगामी परिस्थितिमा आफूहरुलाई कसरी लैजाने भन्ने बिषयमा छलफल भएको हुनसक्ने अनुमान गरिएको छ ।

प्रतिकृया दिनुहोस