यादवलाई लिन महेश बस्नेत र पूर्वआईजीपी सर्वेन्द्र खनाल आफैँ गएको खुलासा

Mahesh basnet sarbendra khanal

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीलकै सल्लाहमा समाजवादी पार्टीका सांसद तथा पूर्व स्वास्थ्य राज्यमन्त्री डा. सुरेन्द्र यादवलाई लिन नेकपा नेता महेश बस्नेत, पूर्वआईजीपी सर्वेन्द्र खनाल र नेकपा सांसद किसानसिंह श्रेष्ठ पुगेको खुलेको छ ।

लकडाउनका बेला भक्तपुरमै अत्यधिक सक्रिय रहेको अवस्थामा नाकामा सवारीसाधन र यात्रुका समस्या बुझ्दै पूर्व आईजीपी खनालसहित आफू जनकपुर पुगेको उनले स्पष्टीकरण दिएसँगै यस्तो रहस्य खुलेको हो ।

यो कुरा पूर्वमन्त्रीसमेत रहेका नेता बस्नेत स्वयमले स्वीकार गरेका छन् । उनले आफूमाथि समाजवादीका सांसदको अपहरण आरोप लागेपछि सञ्चारकर्मीहरुसँग बोल्दै बालुवटारकै सल्लाह अनुसार आफूहरु जनकपुर पुगेको बताएका छन् ।

‘उच्चस्तरीय संयन्त्रसँग कुरा गरेर भक्तपुर जगातीको नाकामा हेर्न जाऊँ भन्ने कुरा भयो । पूर्व आईजीपी पनि सँगै जाऊँ भनेर जानुभएको हो । त्यसपछि हामी निरीक्षण गर्न गएका थियौँ । विभिन्न नाका हेर्दै हामी जनकपुर पुग्यौं’, बस्नेतले भनेका छन्, ‘हामीलाई समाजवादीका सांसद डा. सुरेन्द्र यादवले उतैबाट फोन गर्नुभएको थियो । सचेतक उमाशंकर अरगरियाले पनि फोन गर्नुभएको हो । हामीले उहाँलाई खोजेको होइन, उहाँहरुले चाहिँ हामीलाई खोज्नु भएको हो ।’

बस्नेतले नेता यादवलाई अपहरणको आरोप प्रोपोगण्डा गर्न सिपालु समाजवादीका अध्यक्ष डा. बाबुराम भट्टराईले लगाएको पनि दाबी गरेका छन् । ‘हामी आफ्नै गाडीमा आयौँ, उहाँहरु पनि आफ्नै गाडीमा आउनुभएको छ । हामीले कसरी मान्छेको अपहरण गर्नु ।’

महोत्तरीको बर्दीबास पुगेपछि उतैबाट सम्पर्क भएकाले आफूहरु जनकपुरसम्म पुगेको बस्नेतले दाबी गरेका छन् । ‘समाजवादीका नेताहरुले हामीसँग सम्पर्क गरेपछि हामीले बालुवटारमा सम्पर्क गर्‍यौँ । बालुवाटारमा सम्पर्क गरेपछि लिएर आउनु भन्ने कुरा आयो’, उनले भने, ‘हामीले जनकपुरमा राजनीतिक कुरा गरेका हौँ । सुरक्षाकर्मी पनि सँगै थिए । सूर्यनारायण यादवको पनि हामीले राय लियौँ ।’

 

प्रतिकृया दिनुहोस