बिरामी बोक्न सरकारी गाडी प्रयोग गरौं : डा. केसी

Govinda kc

काठमाडौं । लामो समयदेखि चिकित्सा क्षेत्रको सुधारका माग राख्दै आन्दोलन गर्ने डा. गोविन्द केसीले विरामी बोक्न सरकारी गाडी प्रयोग गर्नुपर्ने बताएका छन् ।

उनले लकडाउनको अवस्थामा एम्बुलेन्स सबै विरामीलाई अस्पताल पुर्‍याउन पर्याप्त नभएको भन्दै यस्तो प्रस्ताव गरेका अघि सारेका हुन् । देश कोभिड–१९ को त्रासले आक्रान्त भएको र लकडाउनले सबै अस्पतालका सेवा प्रभावित हुँदा विपन्न वर्षका जनता मारमा परेको उनको ठहर छ ।

‘विरामी निजी गाडीलाई २० वा ३० हजारसम्म तिरेर अस्पताल आउन बाध्य छन्’, उनले मंगलबार विज्ञप्ती निकाल्दै भनेका छन्, ‘त्यस्ता विरामी महँगो भाडा तिरेर फलोअपमा आउन नसकेका कारण उपचारबाटै बञ्चित भइरहेका छन् ।’ कोरोना भाइरस नियन्त्रणजस्तै ग्रामीण क्षेत्रका नागरिकको स्वास्थ्य सेवा महत्वपूर्ण भएको भन्दै केसीले यस्तो माग गरेका हुन् ।

‘सरकारी गाडीहरु अहिले निस्क्रिय रहेका छन् । त्यसैले यातायात सेवा सुचारु नहुन्जेलका लागि ती सरकारी गाडीमा विरामीलाई अस्पताल ल्याउने विशेष व्यवस्था गर्न सम्बन्धित मन्त्रालयलाई अपिल गर्दछु’, डा. केसीले भने, ‘स्मरण रहोस्, कोभिड–१९ महामारी नियन्त्रणजस्तै संकटमा परेका नागरिकलाई यस्तो आकस्मिक सेवा सुनिश्चित गर्नु राज्यको जिम्मेवारी हो ।’

डडेलधुरा अस्पतालमा रहेर बिरामीको हेरचाह गरिरहेको बताउँदै केसीले आफूले ग्रामीण क्षेत्रका जनताको पीडालाई नजिबाट देखेको विज्ञप्तिमा उल्लेख गरेका छन् । ‘हाल डडेलधुरा अस्पतालमा रहेर मैले त्यस्ता धेरै विरामीहरुको पीडा देखेको छु । यो समस्या कुनै एक जिल्लाको मात्र नभई देशभरकै हो’, केसीले विज्ञप्तिमा भनेका छन् ।

उनले केसीले विश्वव्यापी संकटलाई सबैले एकसाथ झेलिरहेको भन्दै यो लडाईंको अग्रपंक्तिमा रहेका स्वास्थ्यकर्मीको सुरक्षाको कामनासमेत गरेका छन् ।

प्रतिकृया दिनुहोस