रातीदेखि उल्कावर्षा सक्रिय, नेपालबाट ९ र १० गते देखिने

Ulka barsha

काठमाडौं । यो वर्षको पहिलो उल्कावर्षा ‘वीणा उल्कबर्षा’ बिहीबार रातिदेखि सक्रिय भएको छ । यो उल्कावर्षा वैशाख १८ गतेसम्म सक्रिय रहने छ ।

वैशाख ९ र १० गते राति साँढे १० बजेपछि बिहान सुर्योदय अघिसम्म उल्का बर्षा देख्न सकिनेछ । अत्याधिक सक्रियताको समयमा प्रतिघन्टा १५–२० वटा उल्का खसेको देख्न सकिनेछ ।

थ्याचर नामक पुछ्रेताराले छोडेका धुलाका कणहरु पृथ्वीको वायुमण्डलमा घर्षण भई जलेर नस्ट हुँदा यो उल्का बर्षा देखिने गर्दछ । थ्याचर पुछ्रेताराले सूर्यको एक परिक्रमा लगाउन ४१५ वर्ष लगाउँछ ।

पुछ्रेतारा वा धुम्केतुहरुले सूर्यलाई परिक्रमा गर्ने क्रममा आफ्नो कक्षमा धूलाका कणहरु छोड्ने गर्छन्, जुन लाखौँ किलोमिटरसम्म फैलिन सक्छन् । यसरी फैलिएका धुलोका कणहरुले सूर्यलाई परिक्रमा गरिरहेका हुन्छन् ।

परिक्रमा गर्ने क्रममा ती धूलोका कणहरु पृथ्वीको वायुमण्डलमा ठोकिँदा उल्का देखिन्छ । यस्तो दृश्यमा १० वा त्यसभन्दा बढी उल्का देखिएमा त्यस्तो घटनालाई उल्का वर्षा भन्‍ने गरिन्छ । 

नेपाल एस्ट्रोनोमिकल सोसाइटी (नासो) का अनुसार यस अवधिमा हरेक उल्का एक समय अत्यधिक सक्रिय हुन्छन् । यस्ता उल्का वर्षाहरु बिस्तारै देखिँदै मध्य समयतिर अत्यधिक सक्रिय हुन्छन् । अनि बिस्तारै सक्रियता घट्दै जान्छ । 

हालसम्मको अवलोकन तथा अनुसन्धानबाट यो वर्ष वीणा उल्का वर्षाको अत्यधिक गतिविधि नेपाली समयानुसार वैशाख ९ र १० गते राति दृश्यावलोकन गर्न सकिने नासोका अध्यक्ष सुरेश भट्टराईले बताए ।

प्रतिकृया दिनुहोस