प्रहरीबाट कुटिए ड्युटीबाट फर्किदै गरेका चिकित्सक, प्रहरीले बनायो छानविन समिति 

Chikistak kutpit

काठमाडौं । अत्यावश्यक सेवामा खटिएका चिकित्सकलाई सुरक्षा दिनुको सट्टा प्रहरीले उल्टै कुटपीट गरेको छ ।

बुधबार राती अस्पतालबाट काम सकेर घर फर्किदै गरेका त्रिवि शिक्षण अस्पतालका डा. तेजप्रसाद शाह, डा. शम्भु खनाल र कान्ति बाल अस्पतालका डा. विकास शाहलाई तीन जना  प्रहरीले कुटपिट गरेको छ ।

भ्यानबाट आउँदै गरेका प्रहरीले अस्पतालको आइडी कार्ड देखाउँदा देखाउँदै पनि आफूहरुमाथि हातपात भएको चिकित्सकहरुले बताएका छन् । उनीहरुले भने, ‘कोरोना भाइरसको संक्रमण जारी रहेका बेला हामी अहोरात्र खटिनुपर्ने अवस्था छ, तर हामी प्रहरीबाट समेत असुरक्षित भयौं ।’

नेशनल रेसिडेन्ट डक्टर्स एसोसिएसनले चिकित्सकमाथि भएको घटनाप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ । एसोसियसनले बिज्ञप्ति जारी गर्दै घटनाको छानविन गरी दोषीलाई कारबाही गर्न माग गरेको छ । कारबाही प्रक्रिया अगाडि नबढाए कडा कदम चाल्न बाध्य हुने चेतावनी समेत दिएको छ ।

यता, ड्युटी सकेर फर्किएका डाक्टरमाथि कुटपिट गर्ने प्रहरीमाथि छानबिन गर्न समिति गठन गएिको छ ।

त्रिवि शिक्षण अस्पताल महाराजगञ्ज र कान्ति बाल अस्पतालका डाक्टरमाथि कुटपिट भएपछि महानगरीय प्रहरी कार्यालय रानीपोखरीले रानीपोखरीका एसएसपी किरण बज्राचार्य, महानगरीय प्रहरी अपराध महाशाखाका एसपी मुकेश सिंह र महानगरीय प्रहरी परिसर काठमाडौंका डिएसपी होविन्द्र बोगटीसम्मिलित तीन सदस्यीय छानबिन समिति गठन गरेको हो । 

प्रतिकृया दिनुहोस