वायुसेवा निगमको कार्यकारी अध्यक्षमा पूर्वसचिव घिमिरे नियुक्त 

Sushil ghimire

काठमाडौं । सरकारले नेपाल वायुसेवा निगमको कार्यकारी अध्यक्षमा पूर्वसचिव सुशील घिमिरेलाई नियुक्त गरेको छ ।

घिमिरेलाई मंगलबार बसेको मन्त्रिपरिषदको बैठकले आगामी चार वर्षका लागि कार्यकारी अध्यक्ष नियुक्त गरेको भए पनि सार्वजनिक गरिएको थिइएन ।

निगमका तत्कालीन महाप्रवन्धक मदन खरेलले २०७६ माघमा राजीनामा दिएपछि खाली रहेको कार्यकारी पदमा घिमिरे नियुक्त भएका हुन् । 

पर्यटनमन्त्री योगेशकुमार भट्टराईले नेतृत्व सम्हालेपछि निगमको व्यवस्थापन सुधारका लागि पूर्वसचिव घिमिरेकै नेतृत्वमा गत साउन २२ गते पाँच सदस्यीय निगम सुधार कार्यदल गठन गरेका थिए । उक्त कार्यदलले असोज १ गते निगम सुधारका लागि विस्तृत प्रतिवेदन मन्त्रालयलाई बुझाइसकेको छ ।

कार्यदलको प्रतिवेदनमा निगम सुधारका लागि रणनीतिक साझेदार भित्र्याउनेदेखि निगमलाई पब्लिक कम्पनीमा लैजान र सर्वसाधारणदेखि विभिन्न संस्था, निकायलाई पनि शेयर जारी गर्न सुझाएको थियो । लेखा प्रणाली र वित्तीय पुनर्संरचना सुधार, रणनीतिक साझेदार तुरुन्तै ल्याउन, गन्तव्य विस्तारलगायत १३ वटा तत्कालीन रणनीतिको सुझाव दिएको थियो ।

घिमिरेले यसअघि सञ्चार मन्त्रालयमा रहँदा नेपालको दूरसञ्चार प्राधिकरणलाई निजी क्षेत्रमा लैजान पनि भूमिका निर्वाह गरेका थिए ।

प्रतिकृया दिनुहोस