को हुन् स्मृति इरानी ? जसले राहुल गान्धीलाई हराएर चर्चा बटुलिन्

जो कुनैबेला रेष्टुरेन्टमा सरसफाइ गर्थिन्

काठमाडौं । स्मृति इरानी, जो पूर्व अभिनेत्री पनि हुन् । उनै इरानीले भारतीय कंग्रेसका अध्यक्ष राहुल गान्धीलाई निर्वाचनमा पराजय गराएर चर्चा बटुलेकी छन् । 

विवाद र चर्चामा रहने इरानी यसपालिको चुनावमा गान्धी परिवारको किल्ला तोडेर झन् उचाइमा पुगेकी छन् । यतिबेला उनको चर्चा परिचर्चा खुबै चलेको छ । 

दशकौंसम्म भारतीय कंग्रेसको किल्ला मानिएको उत्तर प्रदेशको अमोठी क्षेत्रमा इरानीले आफ्नो कब्जा जमाइन् । त्यो पनि कंग्रेसका अध्यक्ष राहुल गान्धीलाई हराएर ।

यसपटकको नतिजामा इरानीले राहुललाई मात्र हराएकी थिइनन्, गान्धी परिवारले दुई पुस्ता चुनाव लडेको अमेठी आफ्नो पोल्टामा पारिन् । यो क्षेत्र त्यही हो, जहाँबाट राहुल गान्धीका काका सन्जय गान्धी, बुवा राजीव गान्धी, आमा सोनिया गान्धीले चुनाव लड्दै आएका थिए ।

२००४ पछि राहुल त्यहाँबाट सांसद बनिरहेका छन् । अमेठीमा सन् १९७५ को संकटकाल लगाएपछि भएको १९७७ मा चुनावमा इन्दिरा गान्धी पनि पराजित भएकी थिइन् ।  

बिहीबार सार्वजनिक भएको मत परिणाममा इरानीले ४ लाख ६८ हजार ५ सय १४ मत पाइन् । उनका प्रतिष्पर्धी राहुलले ४ लाख १३ हजार ३ सय ९४ मतमात्र पाए ।

२००३ मा राजनीति प्रवेश गरेकी उनलाई २००४ मा चाँदनी चोकबाट लोकसभा सदस्यका लागि टिकट मिलेको थियो । त्यसपछि उनी पार्टीमा ६ वर्ष कुनै पद बिना काम गरिन् ।  २०१०मा उनले भाजपाको केन्द्रीय महिला मोर्चाको नेतृत्व पाइन् । २०११ मा गुजरातको राज्सभा सदस्य भइन् । त्यसैबेला मोदीसँग पनि नजिक हुन पाइन् । २०१२ मा उनी भाजपाको केन्द्रीय उपाध्यक्ष बनिन् । 

२०१४ मा लोकसभा चुनाव हारे पनि इरानीलाई मोदीले आफ्नो क्याबिनेटमा राखे । पहिले मानव संशाधन विकास र पछि सूचना प्रसारण तथा टेक्स्टायल मन्त्री बनिन् । सूचनामन्त्री भएपछि उनी झन् विवादमा तानिइन् । 

गलत रिपोर्टिङ गर्ने पत्रकारलाई दण्डित गर्ने र पत्रकारको मान्यता रद्द गर्ने जस्ता सर्कुलर उनले जारी गरिन् । मिडियाको तीव्र विरोध भएपछि उक्त सर्कुलर फिर्ता लिनु परेको थियो ।

यस्तो उनको रामकहानी

२००३ मा भाजपामा प्रवेश गरेर आफ्नो राजनीतिक करियर सुरू गरेकी इरानी त्योभन्दा अघि टेलिसिरियलकी अभिनेत्री थिइन् । क्युंकी सासभी कभी बहु थी भन्ने चर्चित टेलिसिरियलमा उनले काम गरेकी थिइन् । त्यति मात्रै होइन, उनले १६ वर्षको उमेरमा सडकमा उभिएर एउटा ब्युटी प्रोडक्ट बेच्ने गर्थिन् । त्यतिबेला उनले दिनको २ सय रूपैयाँ कमाउँथिन् । 

मुम्बई आएपछि उनले म्याकडोनाल्ड भन्ने रेष्टुरेन्टमा सरसफाइ गर्ने काम पाएकी थिइन् । जेनतेन गुजारा चलाइरहेकै बेला उनले १९९८ मा मिस इण्डियाका लागि आवेदन दिइन् । प्रतियोगिता नजिते पनि उनको परिचय भने बन्यो ।

२०१४ मा मोदी प्रधानमन्त्री भएपछि इरानीलाई आफ्नो मन्त्रिपरिषदमा मानव संशाधन मन्त्री बनाएका थिए। त्यतिबेला उनको शैक्षिक योग्यतालाई लिएर प्रश्न उठेको थियो । किनकी उनले १२ कक्षासम्म पढेकी छन् ।

उनले आफूले बिकमको पहिलो वर्षसम्म मात्रै पढेको भन्दै बयान फेर्नुपरेको थियो ।  बिकम पहिलो वर्षपछि उनले पढाइ छोडेकी थिइन् । आफू गरिब परिवारबाट आएकाले करियरका लागि निकै संघर्ष गर्नुपरेको उनले बताएकी छन् ।


प्रतिकृया दिनुहोस

साताको लोकपृय

निशानन्युजकर्मी बराइली दिलिप घिमिरे स्मृति पत्रकारीता पुरस्कारबाट सम्मानित

Baraili samman

काठमाडौं । निशान न्युजकर्मी गोपाल बराइली स्वर्गीय पत्रकार दिलिप घिमिरेको स्मृतिमा स्थापित दिलिप घ...