पराजयपछि राहुल गान्धीले गरे राजीनामाको घोषणा

राजीनामा फिर्ता लिन कांग्रेस कार्यसमिति सदस्यहरूको आग्रह

काठमाडौं । भारतमा सम्पन्न १७ औँ लोकसभामा चुनावमा ५२ सिटमे खुम्चिएपछि भारतीय कांग्रेसका अध्यक्ष राहुल गान्धीले राजीनामाको घोषणा गरेका छन् । 

निर्वाचनमा कांग्रेसको गठबन्धनले यसपटक ९६ सिटसम्म पुगेको छ । सत्तारुढ भारतीय जनता पार्टी ३०३ सिट ल्याएको छ । भाजपाले अघिल्लो निर्वाचनमा भन्दा यो पटक २१ सिट बढी जितेको हो । तर कांग्रेसले अपेक्षाकृत सिट जित्न नसकेपछि भारतीय कांग्रेस अध्यक्ष गान्धीले शनिबार राजीनामाको घोषणा गरेका हुन् । 

कांग्रेसले लोकसभामा लगातार दोस्रोपटक हार बेहोरेको थियो । उसले सन् २०१४ मा भएको लोकसभा निर्वाचनमा मात्र ४४ सिट ल्याएको थियो ।  

लोकसभा निर्वाचनमा पार्टीको प्रदर्शनको समीक्षा गर्न कांग्रेस कार्यसमिति बैठक बोलाएको थियो । बैठकको सुरुमा नै राहुल गान्धीले राजीनामा घोषणा गरेका थिए । तर, कांग्रेस कार्यसमिति बैठकका सदस्यहरूले भने राजीनामा फिर्ता लिन आग्रह गरेका छन् । सबै कार्यसमिति सदस्यहरूले राजीनामा दिन नहुने र पार्टीलाई एकजुट गरेर नयाँ नेतृत्वसहित अगाडि बढ्नुपर्ने बताएका छन् ।

राहुल गान्धी भने आफ्नो राजीनामा अडिग रहेको बताइएको छ । भारतीय संचारमाध्यमका अनुसार राहुल अडिग रहे भने अर्को अध्यक्ष को होला र भारतको सबैभन्दा पूरानो पार्टी कसरी अगाडि बढ्ला भन्ने बहस सुरु भएको छ । राहुलले राजीनामा दिएर हारको जिम्मेवार आफू पनि भएको देखाएका छन् ।

यसपटक ५४३ सिटको लोकसभा निर्वाचनमा राहुल नेतृत्वको कांग्रेसले ५२ सिट मात्र जितेको छ । राहुल गान्धी आफै पनि वर्षौंदेखि जित्दै आएको पुस्तौनी सिट अमेटठीबाट पराजित भएका छन् ।

यो लोकसभा निर्वाचनबाट सत्तारुढ दल भारतीय जनता पार्टी एक्लैले बहुमत प्राप्त गरेको छ ।


कांग्रेस केन्द्रीय कार्यसमिति बैठकअघि तीन प्रदेशका अध्यक्षहरूले भने राजीनामा दिएका छन्। कर्नाटक, उत्तर प्रदेश र उडीसाका अध्यक्षहरूले राजीनामा दिएका छन्।

प्रतिकृया दिनुहोस