मिक्लाजुङ आरुबोटे हत्याकाण्ड : सिसाकाण्ड ढाकछोप गर्दा नरसंहार

जाहेरीको विषयमा प्रहरी र जनप्रतिनिधिको एउटै बोली

पाँचथर । सोमबार राती पाँचथरको मिक्लाजुङ गाउँपालिका ३ आरुबोटमा बमकुमार फियाक र उनका ज्वाइँ धनराज फियाकका परिवारसहित ९ जनाको सामुहिक हत्या भयो । तर, सो घटना सिसाकाण्ड ढाकछोप गर्दा नरसंहार भएको स्थानीयको ठहर छ । प्रहरी प्रशासन र जनप्रतिनिधिले सिसाकाण्ड अनुसन्धानमा आलटाल गरेपछि स्थानीय सशंकित बनेका छन् । 

ससुरा–ज्वाइँको परिवारका ९ जनाको हत्या भएपछि सिसाकाण्डको विषयमा चर्को आवाज उठेको छ । वैशाख ३० गते जस्मिता फियाकको घरमा थुक्पा खाजा खाँदा ८ जना बिरामी परेका थिए । बिरामी परेपछि खोजी गर्दा नुनमा सिसाको टुक्रा मिसाएको पाइएको थियो । 

जाहेरी दिने भनिएका धनराज शेर्माको वंशनाश हुनेगरि हत्या भएपछि घटना रहस्यमय नै बनेको छ । धनराजले किटानी जाहेरी दिएको स्थानीयको भनाइ छ । ‘नुनमा सिसा मिसाउनेविरुद्ध किटानी जाहेरी थिएन’, पाँचथरका डीएसपी नरेन्द्र कुँवरले भने, ‘सिसाकाण्डको विषयमा प्रहरीलाई सामान्य जानकारी मात्रै थियो ।’

जाहेरीका विषयमा अनुसन्धान अघि बढाउनुपर्ने स्थानीय अगुवाले माग गरेका छन्। ‘सिसाकण्डमा जनप्रतिनिधि र प्रहरीको गद्दारी देखिन्छ’, जीवनकुमार फियाकले प्रश्न गरे, ‘नागरिकको जिउ ज्यानको सुरक्षा गर्ने दायित्व प्रहरी र जनप्रतिनिधिको हो। यत्रो काण्ड मच्चिँदा पनि प्रहरी र जनप्रतिनिधि मौन बस्नुको कारण के हो ?’

जाहेरीको विषयमा प्रहरी र जनप्रतिनिधिको एउटै बोली छ । एकथरी स्थानीय जनप्रतिनिधिको मिलेमतोमा प्रहरीले जाहेरी गायब बनाएको आरोप लगाइरहेका छन् । इलाका प्रहरी कार्यालय रविमा जाहेरी दिएको स्थानीयको दाबी छ । तर, रविका इन्स्पेक्टर तेजनारायण यादवले जाहेरी नआएको बताएका छन् ।

सिसाकाण्डबारे अनुसन्धान भइरहेका बेला हत्याकाण्ड मच्चिएको मिक्लाजुङ गाउँपालिकाका अध्यक्ष अमर माखिमको भनाइ छ । ‘सिसाकण्डदेखि नै हामी गम्भीर थियौं’, उनले भने, ‘भित्री रूपमा अनुसन्धान अघि बढिरहेका बेला यत्रो नरसंहार भयो।’ हत्याकाण्डबारे निष्पक्ष अनुसन्धान अघि बढेको उनको भनाइ छ ।

अनुसन्धानका लागि प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो, १ नम्बर प्रदेश प्रहरी कार्यालयको विशेष टोली र जिल्ला प्रहरी कार्यालयका टोली खटिएका छन् । प्रहरीले बमबहादुर फियाकका कान्छा ज्वाइँ मानबहादुर माखिमले हत्या गरेर आत्महत्या गरेको अनुमान गरेको छ । माखिम झुन्डिएको ठाउँ नजिकै उनले प्रयोग गरेको मोबाइलको सिम भेटिएकाले उनले कोसँग संवाद गरेका थिए भन्ने अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

जस्मिता फियाकका श्रीमान् धनराज शेर्माले साढुभाइ मानबहादुर माखिमविरुद्ध प्रहरीमा उजुरी दिएको स्थानीयले जानकारी दिएका छन् । धनराजको सोमबार राति वंशनाश हुनेगरी हत्या भएको हो । उनका साढुभाइ माखिम झुन्डिएको अवस्थामा भेटिए । जाहेरी दिनेको परिवार सखाप हुनेगरी हत्या भएको र सिसाकाण्ड मच्चाउने भनिएका माखिम जीवित नभएपछि घटना झन् रहस्यमय बनेको छ ।

प्रतिकृया दिनुहोस