सरकारले बजेट तयारी गरिरहेकै वेला नेकपाका अध्यक्ष ओली-प्रचण्डबीच बजेट केन्द्रित छलफल

काठमाडौं ।  सरकारले नयाँ आर्थिक वर्षको बजेट तयारी गरिरहेकै वेला नेकपाका दुई अध्यक्षले पनि बजेट केन्द्रित भेटघाट गरेका छन् । प्रधानमन्त्रीसमेत रहेका अध्यक्ष केपी ओली र अर्का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’बीच बजेटबारे छलफल भएको हो । 


आर्थिक वर्ष २०७६/७७ का लागि अर्थ मन्त्रालयले बजेट निर्माणको तयारीलाई तीव्रता दिइरहेका वेला प्रधानमन्त्रीनिवास बालुवाटारमा बुधबार करिब तीन घन्टा दुई अध्यक्षले छलफल गरेको बालुवाटार स्रोतले जनाएको छ । दुई अध्यक्षबीच नियमित भेटघाट हुने भएकाले पछिल्लो भेटको विषयबारे जानकारी नभएको प्रधानमन्त्रीका प्रेस संयोजक चेतन अधिकारीले बताए । 


दुई अध्यक्षबीचको छलफलमा महासचिव विष्णु पौडेल पनि सहभागी थिए । पौडेलले पछिल्ला छलफल पार्टीको आन्तरिक विषयभन्दा बजेट निर्माणबारे केन्द्रित रहेको बताए ।


ओली र प्रचण्डबीच मंगलबार पनि बजेट तयारी, पोलिटब्युरो गठन र कार्यविभाजनलगायत विषयमा छलफल भएको थियो । बजेट निर्माण गृहकार्य चलिरहेका कारण नेकपाभित्र पोलिटब्युरो गठन र केन्द्रीय सदस्यहरूको कार्यविभाजन भने ओझेलमा परेको छ । 

प्रतिकृया दिनुहोस