सार्वजनिक शौचालय की कवाडी घर ?

नगरकोट । नगरकोट घुम्न जाने पर्यटकका लागि भक्तपुरको चाँगुनारायण नगरपालिका र काभ्रेपलाञ्चोकको नगरकोट मण्डनदेउपुर नगरपालिकाको सिमानामा रहेको सार्वजनिक शौचालयले तान्छ । 

पर्यटक प्रहरी पोष्टभन्दा पछाडि रहेको उक्त सार्वजनिक शौचालयभित्र राखेएको काम नलाग्ने फर्निचरका सामानले त्यहाँ जाने जो कोहीमा पनि नकारात्मक प्रभाव पारिरहेको देखिन्छ । भक्तपुरकी २१ वर्षीय सुमिता श्रेष्ठ नगरकोट घुम्न जाँदा त्यही सार्वजनिक शौचालयमा गइन् ।

‘एक त शौचालयमा पानी छैन, अर्को त्यहाँभित्र थुपारिएको सामानले बाहिरै निस्किहालौं जस्तो भयो’, उनी थप्छिन्, ‘पर्यटक आउने मुख्य ठाउँमा नै सार्वजनिक शौचालयको अवस्था यस्तो हुँदा उनीहरुमा कस्तो प्रभाव पर्ला ?’दुई नगरपालिकाले नै उक्त शौचालयलाई बेवास्ता गरेको उनले आक्रोस पोखिन् । 

जङ्गलको नजिक रहेको उक्त शौचालयको सरसफाइमा समेत ध्यान नदिएको काठमाडौँका सचिन थापा आरोप लगाउँछन् । उनी भन्छन्, ‘अन्य ठाउँको सार्वजनिक शौचालयमा सरसफाइ गर्ने मान्छे राखिन्छ, तर यहाँको शौचालयमा सफा गर्ने व्यक्ति सम्म छैनन् । ’सार्वजनिक शौचालय गुणस्तरीय नभएसम्म कुनै पनि ठाउँको राम्रो विकास नहुने उनको निष्कर्ष छ । 

नगरकोटमा २०७३ सालमा पर्यटक सहायता कक्षको निर्माण भएसँगै उक्त सार्वजनिक शौचालयको निर्माण गरिएको थियो । तर उक्त शौचालय कुन नगरपालिकाले सञ्चालन गर्ने भन्ने अझै टुंगो लाग्न सकेको छैन । 


प्रतिकृया दिनुहोस