लुम्बिनी भ्रमण वर्ष: प्रधानमन्त्रीले रोपे आँपको बिरुवा, भाजन दान र अष्ट परिष्कार दान गर्ने

लुम्बिनी  लुम्बिनी भ्रमण वर्ष एवं २५ सय ६३ औं बुद्ध जयन्तीको अवसरमा प्रधानमन्त्री केपी शर्मा ओलीले लुम्बिनी नयाँ ग्राममा बृक्षारोपण गरेका छन् । प्रधानमन्त्री ओलीले आँपको बिरुवा रोपेर वृक्षारोपणको शुभारम्भ गरेका हुन् । लुम्बिनीलाई हरियाली, हराभरा र वातावरणमैत्री बनाउने गुरुयोजना अनुसार लुम्बिनी नयाँ ग्राममा विभिन्न जातका २६ सय ४६ वटा विरुवा रोपिँदैछ ।


वृक्षारोपणपछि प्रधानमन्त्री ओली महिलबार चोकबाट शुरु भई लुम्बिनीस्थित केन्द्रीय नहर हुँदै अघि बढ्ने र्‍यालीमा सहभागी छन् । र्‍यालीकै क्रममा प्रधानमन्त्री ओलीले लुम्बिनी नयाँ ग्राममा ५२ फिट अग्लो पिल्लरमा राष्ट्रिय झण्डा झण्डोत्तोलन गर्दैछन् । त्यसपछि प्रधानमन्त्री ओलीले पत्नी राधिका शाक्यसहित थाई बिहारमा पुगेर क्षिभु संघलाई भाजन दान र अष्ट परिष्कार दान गर्ने कार्यक्रम छ ।


बिहान १०ः५० सम्म राष्ट्रपति विद्यादेवी भण्डारी लुम्बिनी पुग्ने र प्रधानमन्त्री ओलीले स्वागत गर्ने कार्यक्रम छ । त्यसपछि राष्ट्रपति भण्डारी र ओलीले लुम्बिनीमा निर्माणाधीन ५ हजार जना क्षमताको अन्तर्राष्ट्रिय सम्मेलन तथा ध्यान केन्द्रको अवलोकन गर्नेछन् ।


बिहान ११ बजेपछि लुम्बिनी भ्रमण वर्ष उदघाटन समरोह तथा २५ सय ६३औं बुद्ध जयन्ती मूल समारोह शुरु हुने छ । राष्ट्रपति भण्डारी प्रमुख अतिथि रहने उक्त कार्यक्रमको अध्यक्षता प्रदेश ५ का मुख्यमन्त्री शंकर पोखरेलले गर्नेछन् । प्रधानमन्त्री ओलीले सम्बोधन गर्ने कार्यक्रमलाई पूर्व मिस नेपाल सुगरिका केसीले सञ्चालन गर्नेछिन् ।


भ्रमण वर्ष एवं बुद्ध जयन्तीका अवसरमा बुद्ध पूर्णिमाकै दिन सांझ मायादेवी मन्दिर परिसरमा २५ सय ६३ वटा दीप प्रज्ज्वलन गर्ने कार्यक्रम छ । जेठ ५ गते लुम्बिनीदेखि तिलौराकोट दरबारसम्म मायादेवी प्रसूति उत्सव गरेर भ्रमण वर्ष उदघाटन कार्यक्रम सकिने छ ।

प्रतिकृया दिनुहोस