तहगत विज्ञापन गर्ने गृहकार्य थाल्यो लोकसेवाले, श्रेणीगत पदको पाठ्यक्रमलाई व्यवस्थापन गरिने

काठमाडौं । लोकसेवा आयोगले स्थानीय तहका लागि विभिन्न पदमा कर्मचारी भर्नाको विज्ञापन गर्ने अन्तिम तयारी थालेको छ । आयोगले जेठको दोस्रो सातासम्म विभिन्न तहमा विज्ञापन गर्ने गरी गृहकार्य अघि बढाइएको छ ।

संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले बिहीबार मात्रै लोकसेवालाई पत्र पठाउँदै ४ सय ३७ वटा स्थानीय तहमा ११ हजार ४ सय ९२ पदमा पदपूर्ति गर्ने व्यवस्था मिलाउन आग्रह गरेको थियो । मन्त्रालयले अझै केही स्थानीय तहबाट रिक्त पदको विवरण आउने क्रम रहेकाले केही पद थप गरेर पठाउन सकिने जानकारी आयोगलाई दिएको छ । सोहीअनुसार आयोगले थप भएका पदलाई समेत समेटेर विज्ञापन गर्ने तयारीमा जुटेको हो । 

लोकसेवाले स्थानीय स्तरका तह ४ देखि ९ सम्मको पदमा विज्ञापन गर्ने तयारी गरेको छ । आयोगले स्थानीय तहका लागि श्रेणीगत नभएर तहगत पदमा विज्ञापन गर्ने गृहकार्य थालेको छ । आयोगले हालको श्रेणीगत पदको पाठ्यक्रमलाई नै तहगत पदको लागि पनि मिल्ने गरी आवश्यक व्यवस्थापन गर्ने भएको छ ।

लामो समयदेखि अवरुद्ध हुँदै आएको प्रशासन लगायतका विभिन्न सेवा समूहका पदमा लोकसेवाले भर्नाको गृहकार्य थालेको हो । आयोगका अनुसार आगामी ६ महिनाभित्रै स्थानीय तहका विभिन्न पदमा हजारौं कर्मचारी सिफारिस नै गर्नेगरी आवश्यक गृहकार्य अघि बढाइएको हो । 

कर्मचारी समायोजन गर्दा स्थानीय र प्रदेश स्तरमा तहगत पदको व्यवस्था गरिएकाले आयोगले सोहीअनुसार स्थानीय तहमा रिक्त रहेका विभिन्न तहमा भर्ना गर्ने प्रक्रिया अगाडि बढाएको हो । 

सरकारबाट स्थानीय तहमा रिक्त पदमा पदपूर्तिको माग भई आएकाले त्यससम्बन्धी गृहकार्य अघि बढाइएको लोकसेवा आयोगका सचिव महेन्द्रप्रसाद गुरागाईं बताउँछन् । 

लोकसेवा आयोगले केही अन्यौलता भने अन्त्य गर्नुपर्ने बताएको छ । यसअघि श्रेणीगत रूपमा लिइँदै आएको परीक्षा अब तहगत रूपमा लिनुपर्ने भएकाले श्रेणीलाई तहमा लैजाँदा तहअनुसार आवश्यक पर्ने शैक्षिक योग्यताको निर्धारण सरकारले गर्नुपर्ने आयोगले जनाएको छ । 

श्रेणीलाई तहमा लैजाँदा अपनाउनुपर्ने विधिका बारेमा समेत सरकारले निर्णय गर्नुपर्ने भएको छ । यसैगरी स्थानीय तहको कर्मचारी प्रशासनसम्बन्धी कानुन पनि बनिनसकेकाले मन्त्रिपरिषद्ले पनि भर्ना प्रक्रियाका लागि त्यससम्बन्धमा विशेष निर्णय गर्नुपर्ने आयोगको सुझाव छ ।

पदअनुसार हालकै पाठ्यक्रमबाट व्यवस्थापन गर्ने निर्णय भने आयोग आफैंले गर्नेछ । आयोगले कुन तहमा कुन पाठ्यक्रमका आधारमा परीक्षा सञ्चालन गर्ने भन्नेबारे आवश्यक छलफल गरी छिटै निष्कर्षमा पुगिने जनाएको छ ।

प्रतिकृया दिनुहोस