मुस्लिम आयोगको सहयोगमा हावाहुरी पीडितका एकसय घर बन्ने

काठमाडौं । मुस्लिम आयोगले बाराका हावाहुरी पीडितका लागि एक सय घर टहरा निर्माण गरि दिने भएको छ । बाराका दुर्गम क्षेत्रका हावाहुरी पीडितले राहत नपाएको र बस्ने टहरासमेत नभएको गुनासो बढेपछि मुस्लिम आयोगले दुर्गम क्षेत्रका एक सय घर टहरा निर्माण गरिदिने भएको हो ।

जसका लागि आयोगले बिभिन्न क्षेत्र, संघ, संस्था र व्यक्तिसँग सहयोगको लागि अपिलसमेत गरेको छ । मुस्लिम आयोगका अध्यक्ष समिम मियाँ अन्सारीले स्थलगत अवलोकनपछि हावाहुरी पीडितको अवस्था दयनीय भएको भन्दै सहयोग संकलनबाट आयोगले घर टहरा निर्माणको लागि जस्तापातासमेत बितरण गरिसकेको जानकारी दिए । 

केहि जस्तापाता बितरण गरेको र केहि संकलन भइरहेको जानकारी उनले दिए ।  उनले आयोग एक्लैले नभई सहयोगि हातहरुको सहयोगबाट राहत संकलन गरी बितरण गरिएको समेत जानकारी दिए । आयोगले बाराको फेटा गाउँपालिका–६ पुरेनियाका करिब एक सय परिवारलाई घर टहरा निर्माण गर्न जस्तापाता बितरण गरेको हो । 

फेटा गाउँपालिकामा हावाहुरीबाट पीडितको संख्या अत्याधिक भएपछि आयोगका अध्यक्ष अन्सारीले पीडितको घर टहरा निर्माणको लागि सबैसँग आग्रह गरेका थिए । अन्सारीले जस्तापाता फेटा गाउँपालिकाका अध्यक्ष जाकिर हुसैनलाई हस्तान्तरण गरेका छन् । उनले पीडित परिवार सबैलाई क्षतिको अवस्था हेरेर जस्तापाता बितरण गरिएको बताए ।

उनले बर्षा सुरु नहुँदै ती बस्ती ब्यवस्थापनमा ध्यान केन्द्रीत गर्न तीन तहका सरकारसंग आग्रह पनि गरेका छन् । अन्सारीले जस्तापातासँगै राहतस्वरुप खाद्यान्न र लत्ता कपडासमेत बितरण गरिने जानकारी दिए । आयोगको टोली बारा र पर्साका राहत पुग्न नसकेको दुर्गम क्षेत्रको अवलोकनमा छ । 


प्रतिकृया दिनुहोस