‘यति ठूलो विश्वविद्यालयमा एकैपटक कुनै पनि प्रणाली कार्यान्वयनमा आउँछ भन्नु मुर्खता मात्र हो’

Tirtha khaniya

केही वर्ष अगाडिदेखि मात्र त्रिभुवन युनिभर्सिटी र यसको मातहतका स्नातकोत्तर तहका सम्पूर्ण कलेज र विषयमा सेमेस्टर प्रणालीअन्तर्गत अध्यापन सुरु गरिएको छ । सेमेस्टर प्रणालीसँगै विद्यार्थीमा यस प्रणालीप्रति गलत बुझाइ पनि बढ्दै गइरहेको छ । आखिर किन त ? प्रस्तुत छ, यसै विषयमा आधारित रहेर त्रिभुवन विश्वविद्यालयका उपकुलपति प्रा.डा. तीर्थ खनियासँग निशान न्युजकी मीना घोरसाइनेले गरेको कुराकानी :

सेमेस्टर प्रणाली के हो भनेर विद्यार्थी अझैं अन्योल छन् । सेमेस्टर प्रणाली के हो ?
विद्यार्थी र शिक्षकलाई प्रत्यक्ष रुपमा कक्षाकोठामा सहकार्य गराउने हिसाबले बनाइएको प्रणाली नै सेमेस्टर प्रणाली हो । बार्षिक प्रणालीभन्दा यो प्रणाली निक्कै भिन्न छ । बार्षिक प्रणालीमा विद्यार्थीहरु आफूले मन लागेको समयमा मात्र कलेजमा जान पाउथे भने सेमेस्टर प्रणालीमा विद्यार्थीले ८० प्रतिशत हाजिर पु¥याउनैपर्छ । विद्यार्थीले अनिवार्य रुपमा कलेजमा गएर यो प्रणालीअन्तर्गत पढ्न मन लागे पनि नलागे पनि उपस्थित हुनैपर्छ ।

विश्वविद्यालयमा सेमेस्टर प्रणाली लागू गरेपछि के फाइदा भयो त ?
सेमेस्टर प्रणाली लागू भएसँग विश्वविद्यालयमा उल्लेख्य सुधार भएको पाइन्छ । पहिलो उदाहरण त हामीले विद्यार्थीको उत्तीर्ण प्रतिशतलाई नै हेर्न सक्छौं । पहिले बार्षिक विद्यार्थी उत्तीर्ण प्रतिशत ३५ देखि ४० प्रतिशत थियो भने अहिले ७० देखि ८० प्रतिशत पुगेको छ । यसलाई हामीले सबैभन्दा ठूलो उपलब्धि मान्नुपर्छ । विश्वकै सबैभन्दा ठूलो विश्वविद्यालय त्यसमा पनि सुरु गरिएको ६० वर्षमै सुधार हुनु भनेको सामान्य कुरा होइन । अर्काे हामीले भूकम्पबाट ध्वस्त भएका सम्पूर्ण विश्वविद्यालयका संरचनालाई पनि पुनर्निर्माण गर्ने काम लगभग सकिसक्यांै । अबको केही समयभित्रै थुप्रै संरचनाहरु बनिसक्ने तयारीमा छन् । त्यस्तै संस्थाका कमीकमजोरी लगायतका अन्य प्रशासनिक कुरामा पनि हामीले क्रमिक रुपमा सुधार ल्याउँदैछौं ।

समेस्टर प्रणाली व्यवस्थित भएन भन्ने आरोप लागिरहेको छ, त्यो के हो ?
विश्वव्यापी रुपमा हेर्ने हो भने हाम्रो देशमा जस्तो ठूलो विश्वविद्यालय अरु कुनै देशमा छैन । यति ठूलो विश्वविद्यालयमा एकैपटक कुनै पनि प्रणाली कार्यान्वयनमा आउँछ भन्नु मुर्खता मात्र हो । अहिलेसम्म आउँदा एक हजार भन्दा बढी ठाउँमा त्रिभुवन विश्वविद्यालयका मान्यताप्राप्त क्याम्पसहरु छन् । सबै ठाउँमा कार्यान्वयन हुन्छ र हामीले आन्तरिक रुपमा व्यवस्थित पनि गर्दैछौं । व्यवस्थित बनाउन हाम्रा साथीहरु लागिरहनुभएको छ । आजको भोली नै सुधार त कहाँ हुन्छ र ? तर पनि अबको केही वर्षमा नै सेमेस्टर प्रणालीमा सुधार हुँदै जान्छ ।
पहिले २.७ जिपिए आए मात्र विद्यार्थी उत्तीर्ण हुने भन्ने व्यवस्था थियो, अहिले ३.० जिपिए नै आए उत्तीर्ण हुने भन्ने व्यवस्था गरियो ।

सेमेस्टर प्रणाली लागू हुँदा देखिकै विद्यार्थीहरु मुछिनुभएको छ । यस्तो किन भयो ?
नेपालका लागि यो प्रणाली बिल्कुलै नयाँ हो र यहाँ कोही पनि सेमेस्टर प्रणालीअन्तर्गत रहेर पढेर आउनुभएकाले अध्यापन गराउनुभएको छैन । यो हाम्रो लागि पनि नयाँ प्रणाली हो । अर्काे कुरा सुरु देखिकै विद्यार्थीका लागि हामीले जिपिए बढाउन फेरि अवसर दिएका हौं । हामीले कुनै पनि विषयमा २.७ जिपिए आएर उत्तीर्ण भए पनि समग्रमा ३.० जिपिए नै आएर उत्तीर्ण गर्नुपर्छ भनेका थियौं । अब पनि विद्यार्थीले आत्तिनुपर्ने अवस्था छैन र सेमेस्टर प्रणालीमा निरन्तर कक्षमा उपस्थित भएर पढ्दा उत्तीर्ण गर्न सकिन्छ ।

सेमेस्टर प्रणालीमा ६ महिनाभित्रै परीक्षा सक्नुपर्छ भनिन्छ, तर यो प्रभावकारी रुपमा लागू भएको छैन । यो किन हुन सकेन ?
सबै विषयमा त यस्तो भएको छ भन्ने होइन । कतिपय विषयमा मात्र यस्तो भएको हो । त्रिभुवन विश्वविद्यालयअन्तर्गत पढाई हुने स्नातकोत्तर विषयमा सेमेस्टर प्रणाली लागू भएको छ । यहाँ मानविकी, विज्ञान, व्यवस्थापन, भौतिक विज्ञान लगायतका विषयका आ–आफ्नै केन्द्रिय विभाग छन् । आ–आफ्नो विभागले कुन समयमा परीक्षा गर्ने, कहिले नतिजा प्रकाशित गर्ने भन्ने क्याम्पस प्रमुखकै सरह उहाँहरुलाई नै अधिकार दिइएको छ । कुनै केन्द्रिय विभागले त्यसलाई प्रभावकारी रुपमा कार्यान्वयन गर्न सकेनन् होला । त्यसमा उहाँहरुकै कमजोरी हो । जसलाई उहाँहरुले नै सुधार गर्दै जानुभएको छ ।

केन्द्रमा चाँही सेमेस्टर प्रणाली व्यवस्थित रुपमा लागू भएको छैन भने जिल्ला–जिल्लामा कसरी सेमेस्टर प्रणाली व्यवस्थित हुन सक्ला ?
वास्तवमा जिल्ला बाहिर मात्र होइन, केन्द्रमा नै सेमेस्टर प्रणालीको बानी बसेको छैन । क्रमिक रुपमा सुधार हुँदैछ । केन्द्रमा भएन भनेर आत्तिनुपर्दैन । जिल्ला–जिल्लामा पत्रि बिस्तारै बानी बस्दै जान्छ ।

सेमेस्टर प्रणाली अन्तर्गतका धेरै विषय किन काठमाडौँ केन्द्रित भए ?
आजसम्म काठमाडौं भन्दा बाहिरका जिल्लाबाट विभिन्न विषयका लागि माग आएका छैनन् । माग आएको खण्डमा विद्यार्थीको संख्या उल्लेख्य भएको क्याम्पसलाई स्नातकोत्तरको लागि त्रिभुवन विश्वविद्यालय सम्बन्धन दिन तयार छ ।

त्रिभुवन विश्वविद्यालयको पढाइ सोचेजस्तो नभएरै हो त नेपाली विद्यार्थी नेपाल बाहिर पढन गएका ?
नेपालको शिक्षा गुणस्तरीय नभएको होइन । नेपालका हरेक विश्वविद्यालयले विश्वका विभिन्न विश्वविद्यालयमा प्रतिस्पर्धा गरिरहेका छन् । उदाहरणका रुपमा अमेरिकाको हार्वड युनिभर्सिटीलाई हेर्न सकिन्छ । त्यहाँ गएर नेपाली विद्यार्थी पनि पढिरहेका छन् । हाम्रो विश्वविद्यालयले पनि विश्वमा छात्रवृत्तिमार्फत पढ्न विद्यार्थीलाई पठाउने गरेका छौं । वास्तवमा विश्वविद्यालयमा राम्रो पढाई नभएर होइन, बाहिर कमाउने उद्देश्यले विद्यार्थी बाहिर जाने गरेका छन् । नेपालका विश्वविद्यालयका पढाई बाहिर देशको पढाई भन्दा कम छैन । कोही कोही विद्यार्थी मात्र होलान् बाहिर पढेर नेपाल फर्किएका । तर धेरैजस्तो विद्यार्थी बाहिरी देशमा नै सेटल भएर बस्न गएका हुन् । उनीहरु उतै बस्ने उदेश्यले जाने मानसिकतामा रहेका कारण नेपालको पढाई राम्रो छैन की जस्तो लाग्न सक्छ । तर, वास्तविकता अर्कै छ ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

काे हुन् दिलबहादुर सिंह, यस्तो छ बझाङमा चुनाव जित्ने आधार

Dil bahadur singh khaptadtv

गणेश विक, काठमाडाैं । पंचायतकालीन राजनीतिक अवस्थाको बारेमा हामीले पढेका र सुनेका मात्रै छम् । त्य...