सार्वजनिक यातायातको मनलाग्दी विरुद्ध यात्रुको प्रतिकार

Buspark

काठमाडौं । केही यातायात व्यवसायीले आफूखुशी सार्वजनिक यातायातको भाडा लिने गरेको तर सरोकारवाला सरकारी निकायले अनुगमन नगरेको भन्दै यात्रु स्वयं कारवाहीमा उत्रन थालेका छन् ।

राजधानीमा सञ्चालित बाबा गोकर्णेश्वर, सिटी यातायात र सुन्दरीमाई यातायात कम्पनीमा दर्ता भएका सार्वजनिक यातायातका परिचालकले यातायात व्यवस्था विभागले गत असोज ७ गते तोकेभन्दा बढी भाडा लिन थालेका थिए । बढी भाडा लिने सवारीलाई विभाग एवं सम्बन्धित नगरपालिकाका अनुगमन समितिले अनुगमन नगरेपछि यात्रु स्वयं कारवाहीमा उत्रन थालेका हुन् ।

यस्तै दृश्य आइतबार बेलुकी रत्नपार्क–सुन्दरीजल मार्गमा चल्ने बा३ख २६८७ नंको सार्वजनिक यातायातमा देखियो । बसका परिचालकले फागुन ७ गतेदेखि भाडा बढेर सुन्दरीजल–रत्नपार्कको ३० पुगेको, बेलुकी ८ बजेपछि विद्यार्थी, वृद्धवृद्धा लगायतलाई राज्यले दिएको सहुलियत दिन सकिँदैन भनेपछि यात्रुले यस्तो हुन सक्दैन भनी सम्झाउन खोजेका थिए । असोजपछि विभागले भाडा बढाएको छैन भन्दा हाम्रो समितिले बढाएको हो भनी परिचालक यात्रुसँग कड्किएको यात्रु नरेश तामाङले बताए ।

परिचालकले यात्रुमाथि रिस पोखेपछि यात्रुले पनि प्रतिकार गरेका थिए । स्थानीय तहमा दर्ता भएका यातायात कम्पनीको अनुगमन नगरपालिकाले नै गर्नसक्ने भए पनि यी यातायात चल्ने गोकर्णेश्वर, कागेश्वरी मनोहरा, शङ्खरापुर र दक्षिणकाली नगरपालिकाले अनुगमन नगरेको यात्रुको गुनासो छ ।

बाबा गोकर्णेश्वर यातायातले पत्रकारलाई सिटको व्यवस्था गरेर प्रभावित बनाई यात्रुसँग बढी भाडा लिएको उपभोक्ताको गुनासो छ । यी यातायातका परिचालकले हामीले बढी भाडा लिए पनि कसैले केही गर्न सक्दैनौँ, सबैतिर मिलाएका छौँ भनी जवाफ दिने गरेको साँखुकी लक्ष्मी श्रेष्ठको गुनासो छ । साँखु–रत्नपार्क–दक्षिणकालीसम्म चल्ने बाबा गोकर्णेश्वरले यसै मार्गमा सञ्चालन हुने अरू सवारीभन्दा रु १० सम्म बढी भाडा लिने गरेको छ ।

यी यातायातले दिनभर सुन्दरीजल, साँखु र दक्षिणकाली सवारी चलाए पनि बेलुकी भने आठदेखि १० किमी तलसम्म मात्र यात्रु ओराल्ने गरेका छन् । केही दिन रत्नपार्कबाट सुन्दरीजलसम्म चल्ने बा२ख ६८०५ नंको सवारीले जोरपाटीमै यात्रु झारेर ग्यारेजमा थन्कियो । अरू सवारी पनि नपाएपछि हिँडेर जान बाध्य हुनु परेको शेखर शर्माको गुनासो छ ।

दिनभर माथिसम्म चल्ने सवारी बेलुकी तलै यात्रु झारेको बारेमा महानगरीय ट्राफिक प्रहरी महाशाखाको १०३ नंमा फोन गरेर जानकारी गराए पनि कारवाही नभएको उनले बताए ।

विभागको वेबसाइटमा सार्वजनिक यातायातमा भएको अनियमितताको गुनासो गर्न दिइएको नंमा १०३ पनि छ । यस सम्बन्धमा विभागका प्रवक्तालगायत अधिकारीसँग प्रतिक्रिया लिन खोज्दा उनीहरु सम्पर्कमा आउन चाहेनन् ।

प्रतिकृया दिनुहोस