बूढानीलकण्ठको न्यायिक समितिमा ४९ उजुरी, सबैभन्दा बढी जग्गा विवादको उजुरी

Budha nilkantha

काठमाडौं । चालू आर्थिक वर्ष २०७५/७६ मा बूढानीलकण्ठ नगरपालिकाको न्यायिक समितिमा ४९ उजुरी दर्ता भएका छन् ।

सबैभन्दा बढी जग्गा विवादको उजुरी परेको न्यायिक समितिका संयोजक तथा उपप्रमुख रमादेवी राईले बताइन् ।

सकेसम्म उजुरी मेलमिलापबाटै टुंग्याउने गरेको र मिल्दैै नमिल्ने मुद्दालाई मात्र अदालतमा पठाउने गरिएको उपप्रमुख राईले बताइन् ।

उनका अनुसार तीमध्ये १५ उजुरीमा मेलमिलाप गरिएको छ र ६ वटालाई अदालतमा सिफारिस गरिएको छ भने १३ वटा फछ्र्योट भएको छ । बाँकी २२ उजुरी प्रक्रियामै रहेको राईले बताइन् ।

व्यक्तिगत तथा घरेलु हिंसाका उजुरी नगरपालिकाको न्यायिक समितिमा नपरे पनि घर–जग्गा विवाद, पारिवारिक विवाद, गालीगलौज, लेनदेन विवाद र घरबहालसम्बन्धी उजुरी न्यायिक समितिमा पर्ने गरेका छन् ।

चालू आवमा पारिवारिक विवादका नौ उजुरी दर्ता भएको छ । नगरपालिकाको न्यायिक समितिमा घरबहालसम्बन्धी ६ र गालीगलौजसम्बन्धी ४ उजुरी दर्ता भएको छ ।

त्यस्तै सम्बन्धविच्छदेका ६ तथा बाटो विवादसम्बन्धी र लेनदेन ठगी विवादसम्बन्धी ४–४ उजुरी नगरपालिकाको न्यायिक समितिमा दर्ता भएको छ ।

न्यायिक समितिमा वातावरण प्रदूषणसम्बन्धी उजुरी पनि पर्ने गरेको कार्यालयले जनाएको छ ।

कलकारखानाको ध्वनि प्रदूषणका कारण नजिक रहेको बस्तीमा बस्न समस्या भएको छ ।

दैनिक कामकाजमा समेत बाधा पुगेकाले न्यायिक समितिमा उजुरी आउने गरेको राईले बताइन् ।

नगरपालिकामा सबै उजुरी लिखितरुपमै आउने गरेको छ । उपप्रमुख राईको संयोजकत्वमा रहेको समितिमा दुई कानून व्यवसायी सदस्य छन् ।

समितिले यहाँ दर्ता भएका उजुरीको सुनुुवाइका लागि प्रत्येक मङ्गलबार र शुक्रबार इजलास राख्दै आएको छ ।

प्रतिकृया दिनुहोस