फेरियो स्वतन्त्र मधेस गठबन्धनको नाम, बन्यो ‘जनमत पार्टी’

Dr.ck raut

काठमाडौं । स्वतन्त्र मधेस गठबन्धनको नाम परिवर्तन भई ‘जनमत पार्टी’ बनेको छ । सीके राउत नेतृत्वको स्वतन्त्र मधेस गठबन्धन अब अब ‘जनमत पार्टी’ को नामबाट सञ्चालनमा आउने छ भने चुनाव चिन्हमा ‘अष्टदल’ हुने छ ।

सिरहा लहानमा आइतबारदेखि बसेको राष्ट्रिय परिषद्को बैठकले पार्टीको नाम ‘जनमत पार्टी’ राख्ने निर्णय गरेको हो । भेलाले गएको फागुन २४ गते गठबन्धन र सरकारबीच भएको सहमतिलाई ऐतिहासिक भन्दै स्वागत गरेको छ । केन्द्रीय भेलाले नागरिकको हक र अधिकारको लागि संघर्ष गर्न नेपालको संविधानभित्र रहेर पार्टी स्थापना गरी अगाडि बढ़ने निर्णय गरेको छ ।

राष्ट्रिय परिषद बैठकले सिके राउतको नेतृत्वमै ३५ सदस्यीय केन्द्रीय कार्यकारिणी समिति चयन गरेको छ । केन्द्रीय समितिका सदस्यहरुमा सप्तरीका सुरेन्द्र शर्मा र वविता इसर रहेका छन् भने महोत्तरीका कैलाश महतो, संजय यादव र चन्दन सिंह छानिएका छन् ।

सिरहाका राजकुमार यादव र सतिला यादव पनि केन्द्रीय सदस्य बनेका छन् । बर्दियाका अब्दुल खान र झापाकी कौशिला महतो केन्द्रीय सदस्य बनेका छन् । मोरङका परमेश्वर मुर्मु, सुनसरीका सीताराम पण्डित, धनुषाका इन्द्रजीत यादव, सर्लाहीका नरेश कुसवाहा, रौतहटका बिरेन्द्र साह र बाराका दिनेश यादव, पर्साका सञ्जय साह, नवलपरासीका ध्रुब गौड र दुर्गा चौहान, रुपन्देहीका भोपेन्द्र यादव, कपिवस्तुका हरिकुला खान, दांगका राधा यादव, बाँकेका इरफान अहम शेख, कैलालीका महेन्द्रप्रसाद चौधरी र सुनसरीका आशा मेहतालाई केन्द्रीय सदस्य बनाएको छ ।

भेलाले पार्टीको झण्डामा क्रमशः रातो, सेतो र हरियो रंगको ठाडो धर्का (स्ट्रिप) बीचमा बीचको सेतो स्ट्रिपमा रातो रंगको अष्टदल रहने निर्णय गरेको छ । पार्टीको लोगोको रुपमा अष्टदलको छेउमा देवनागरी र रोमन दुवैमा पार्टीको नाम रहने छ । पार्टीको छापमा अष्टदलको बीचमा गोलाकार गरी पार्टीको नाम रहने निर्णय गरेको छ ।

 

प्रतिकृया दिनुहोस