केपी झापा विद्रोह र प्रचण्ड जनयुद्धका भगौडा हुन्

Om pun

नेपाल कम्युनिस्ट पार्टीका पोलिटब्युरो सदस्य हुन् ओम पुन । उनी पटकपटक गिरफ्तारीमा पर्दै रिहा हुँदै आएका छन् । पुन आवद्ध पार्टी नेकपालाई सरकारले फागुन २८ गते प्रतिवन्ध लगाएको छ । सरकारले प्रतिवनध लगाएपछि नेकपाले के गर्छ त ? कसरी त्यसको सामना गर्छ ? यसै विषयमा केन्द्रित रहेर निशान न्युजले पुनसँग कुराकानी गरेको छ ।

सरकारले तपाईको पार्टीलाई प्रतिवन्ध लगाएको छ । यसलाई कसरी लिनुभएको छ ?
यसलाई दलाल पुँजीपति वर्गको राज्यले क्रान्ति माथि गरेको दमनको एउटा रुपको रुपमा लिएका छौं । यसलाई हाम्रो पार्टीले सम्पूर्ण हिसावले खारेज गर्ने र त्यसका लागि जनतामा अपिल गर्ने निर्णय गरेका छौं ।

सरकारले गरेको त्यो प्रतिवन्धलाई कसरी गर्न सक्नुहुन्छ खारेज ?
सरकारले हाम्रो पार्टी जे जसरी दमन गर्ने नीति लिएको छ, त्यसलाई प्रतिकार गर्दै हामी हाम्रो राजनीतिक अभियानलाई निरन्तर अगाडी बढाउने छौं । यो नै मुख्य कुरा हो ।

त्यो राजनीतिक अभियान कस्तो हुन्छ ?
हाम्रो अभियान खुल्ला प्रकारकै हुन्छ । हामीले पहिले चार महिने अभियान भनेका थियौं । दुई महिना त सकिएको छ । बाँकी दुई महिनामा शहरहरुमा खुल्ला रुपमा छलफल गर्ने र बहस गर्ने, गाउँ गाउँमा गएर जनतालाई संगठित गर्ने र जनवर्गीय संगठनहरुका कार्यक्रमहरुलाई निरन्तर अघि बढाउने क्रम जारी रहन्छ । यो पुँजीवादी सत्ताको भण्डाफोर अभियानलाई पनि निरन्तरता दिने छौं ।

सरकारले त तपाईहरुलाई राजनीतिक रुपमै प्रतिवन्ध लगाएको छ भने कसरी शहरहरुमा खुल्ला राजनीतिक अभियान चलाउन सम्भव हुन्छ ?
ठिकै छ, हाम्रा कार्यकर्ताहरु जेल भराउँ अभियानमा पनि जान सक्छन् । त्यसकारण एउटा राजनीतिक पार्टीले शान्तिपूर्ण तरिकाले कार्यक्रम गर्दा राज्यले दमन गर्न भने अन्तर्राष्ट्रिय रुपमा पनि राज्य आफैं बदनाम हुन्छ ।

तपाईको पार्टीले सर्वसाधारणको ज्यानै जाने गरी ठाउँठाउँमा बम विष्फोट गराइरहनु भएको छ । त्यसलाई शानितपूर्ण आन्दोलन भन्न मिल्छ र ?
तपाईले इंगित गर्नुभयो होला एनसेललाई जोडेर । एनसेलले ७५ अर्व लुटेर देशलाई कंगाल बनाएको छ । एनसेललाई कारवाही गर्नुको सट्टा राज्यले उल्टै संरक्षण गर्छ । यस्तालाई बम नहानेर के गर्नु त ? त्यस्तै गरेर म्यान पावर कम्पनीका नाममा युवा जति सबैलाई विदेशी भुमिमा विक्री गरिरहेको छ । मान्छेलाई बस्तुको रुपमा बेचेर आफुले ठुल्ठूला महल बनाएका छन् । त्यस्तालाई राज्यले संरक्षण गरिरहेको छ । त्यसकारण त्यस्तालाई जसरी संरषण गर्छ, त्यस्तालाई सांकेतिक रुपमा हामीले बम पट्काएको हो । अब चाँही त्यस्तालाई बम मात्रै होइन, ध्वास्त पार्ने कार्यक्रम ल्याउँछौं ।

भन्ने दलाल पुँजीपति अनि मारमा पर्ने सर्वसाधारण । तपाईहरु त्यस्तासँग लड्ने की राज्यसँग ?
हाम्रो उदेश्य त दलाल पुँजीपति राज्य व्यवस्थासँग लड्ने नै हो । किकी यसले देश र जनतालाई लुट्ने काम गरेको छ । त्यही भएर हामीले मुख्य रुपमा दलाल पुँजीपति संसदीय व्यवस्थाविरुद्ध नै प्रहार गर्छाै । तर, लडाई लडाई जसले त्यो दलाल पुँजीपति व्यवस्थालाई संरक्षण गर्छ, जसलाई त्यसले बोकेर हिड्छ, त्यही शक्तिसँग हाम्रो लडाई पर्छ ।

तपाईले यसो भनिरहदाँ के अब जनताले नेपालमा शान्ति प्रक्रिया भंग भएको ठान्नुपर्ने हो ?
१० वर्षे जनयुद्धदेखि हालसम्म शान्ति प्रक्रिया निष्कर्षमा पुगेको थिएन । जनयुद्ध लडेका प्रचण्ड, बादलहरुले संसदीय व्यवस्थासामु आत्मसमर्पण गरे । बाबुरामजीहरु यो क्रान्ति नै छाडेर गए । यो एउटा सन्दर्भ हो । तर, नेपालमा जनयुद्ध जारी नै थियो । अहिले चाँही नयाँ रुपमा अगाडी बढ्दै छ । राज्यले एकलौटी संसदीय व्यवस्थालाई फर्काएर फागुन २८ गतेदेखि एकलौटी रुपमा युद्धविराम भंग गरेर युद्धको घोषणा गरेको छ । तर, हामीले युद्धको घोषणा गरेका छैनौं ।

बन्दकै दिन पनि ठाउँठाउँमा बम पड्काउनु भयो । तर, तपाईहरुका यस्ता गतिविधि हेर्दा त युद्धको घोषणा गरे भन्दा त कम छैनन् नि ?
जब राज्यले जनताको आन्दोलनलाई दमन गर्छ भने त त्यसको प्रतिकार गर्नुको अर्काे विकल्प नै हुँदैन नि । अरु ठाउँमा राज्यको विरुद्ध युद्धको घोषणा गरिन्छ । तर, यहाँ त क्रान्तिकारी शक्तिलाई दवाउन राज्य आफैंले युद्धको घोषणा गरेको अवस्था छ । यस्तो अवस्थामा प्रतिकार गर्नु हाम्रो बाध्यात्मक अवस्था हो नि ।

तपाईहरुले नयाँ क्रान्ति गर्ने भन्दै आउनुभएको छ । तपाईहरुले गर्ने कस्तो क्रान्ति हो नि ?
सशस्त्र हुने कि निशश्त्र हुने भन्ने कुरा राज्यको चरित्रममा भर पर्छ । हामी त सशस्त्र युद्ध गर्नु नपरोस् भन्नेमा थियौं । किनकी हामीसँग वेपत्ता परिवार छन्, सहिद परिवार छन्, घाइतेहरु छन् । तर, नेपालमा यस्तो परिस्थिती बन्दै गयो कि युद्ध अनिवार्य भइसकेको छ । विभिन्न प्रकारका हत्या हिंसा बढ्दै गएको छ, भ्रष्टाचार बढ्दै गएको छ । त्यसकारण विगतको १० वर्षे जनयुद्ध जस्तो चौकी हान्ने, गाउँबाट शहर घेर्ने जस्तो युद्ध त हुँदैन । तर, अव ‘साइवर वार’ हुँदै जान्छ । यो एकीकृत जनक्रान्ति हुनेछ ।

तपाईहरु अहिले हतियार जम्मा पारिरहनु भएको छ । हतियार जम्मा पारेर ‘साइबर क्रान्ति’ हुन सक्छ ? त्यसलाई त ‘हतियार सहितको क्रान्ति’ नै मानिन्छ नि होइन र ?
हतियार त घरमा राखेको चुलेसी पनि हो । युद्धको बेला जल सेना, थल सेना, हवाई सेना हुन्छन् । राज्यलाई पल्टाउने हो भने त सबै प्रकारका सेना हुनुपर्छ । हामी अहिले साइवर सेना बनाइरहेका छौं ।

अर्थात् तपाईहरु हतियार सहितको साइबर सेना बनाउँदै हुनुहुन्छ ?
त्यो त स्वभाविक कुरा हो । राज्यले हाम्राविरुद्ध लागेर युद्धकै घोषणा गरिसकेको अवस्थामा हामीले पनि सबै प्रकारका तयारी गर्नैपर्छ । आवश्यक परेका बेला सबै प्रयोग गर्नु पनि पर्छ ।

तपाईहरुका माग चाँही खास के हुन् ?
दलाल, पुँजीपति राज्यसत्ता ध्वास्त पारेर वैज्ञानिक समाजवादको स्थापना हो । त्यसको लागि राजनीतिक संवाद गरौं । फेरि अर्काे १२ बुँदे सहमति गर्ने ठाउँमा पुगेर नयाँ राजनीतिक सहमति कायम गर्ने हो । विदेशीसँग गरिउका असमान सन्धिहरु खारेज गर्ने लगायतका छन् । तर, यो दलाल राज्यले सुन्नेवाला छैन र पूरा गर्नेवाला पनि छैन ।

तपाईले भनेका यी माग पूरा गर्न त सत्तामै पुग्नुपर्ला । निर्वाचन नै जित्नु पर्ला । तर, यही बाटोबाट त पूरा हुन नसक्ला नि होइन त ?
यही प्रकारको सरकारमा जानु भनेको जनतामाथि धोका दिनु हो । अहिले हामी दलाल पुँजीवादी अवसर छाडेर जनतामाझ छौं । जनताले चाहेको जस्तो राज्य निर्माणमा लागेका छौं । यही सामान्ती शैलीको राज्य व्यवस्थाबाट वैज्ञानिक समाजवादी व्यवस्था ल्याउन सम्भव छैन । त्यसरकारण हाम्रो उदेश्य भनेको वैज्ञानिक समाजवाद स्थापन गर्नु हो । त्यसका लागि कहाँ के गुमाउनुपर्छ, हामी तयार छौं ।

अहिले स्थानीयका जनप्रतिनिधिलाई धम्क्याउने, चन्दा असुल गर्ने अनि उही दलाल पुँजीपतिसँगै कुम जोडेर हिड्दा त्यो व्यवस्था आउँला भनेर जनताले कसरी पत्याउँलान् त ?
यो एउटा आरोप मात्र हो । देशको हितमा काम गर्ने राष्ट्रिय पुँजीपतिको संरक्षण गर्नु हाम्रो कर्तव्य पनि हो । केन्द्रदेखि तल्लो तहसम्मै देश र जनताको हितमा काम गर्ने सबैलाई संरक्षण गर्छौ । जनप्रतिनिधिको कुरा गर्ने हो भने अहिले जनप्रतिनिधिका डोजरले आतंक फैल्याएको छ । गाउँमा धान मकै होइन, डोजर फलेको छ । देश र जनतालाई लुटेर डोजर आतंक मच्चाउने जनप्रतिनिधि हुन् वा कालोबजारी गर्ने, तस्करी गर्ने व्यापारी हुन्, हामी उनीहरुका विरुद्ध लागेका छौं । यस्तालाई त कारवाही नै गर्ने हो । अरुलाई अर्थात् जनतासँग मिलेर जाने कसैलाई पनि हामी छुँदैनौं । कांग्रेस वा सत्ता पक्ष भएकै कारण, सेना प्रहरी भएकै कारण वा व्यापारी भएकै कारण उनीहरुसँग हाम्रो कुनै दुस्मनी हुँदैन ।

तपाईहरुले नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई नै मार्ने योजना बनाउनुभएछ । जुनकुरा उहाँले नै भन्नुभएको छ । खास कुरा के हो ?
यो एकदम वाइयात कुरा हो । पहिले पनि एउटै पार्टीका हुँदा केन्द्रिय समितिको बैठकमा ‘मलाई साम्राज्यवादीहरुबाट खतरा भयो, ज्यानको खतरा भयो’ भन्ने गर्थे । त्यो भन्दै गर्दा उनले आफ्नो सुरक्षामा राखिएका जनमुक्ति सेनालाई हटाएर सरकारी सुरक्षाको घेराभित्र पसे । अहिले फेरि युद्ध भड्काउने गरी ‘मलाई विप्लवबाट असुरक्षा भयो’ भनेर ५९ जना सुरक्षाकर्मी आफ्नो अघिपछि हिड्ने बनाएका छन् । उनले जनयुद्धको नाममा १७ हजार मान्छे मारेर सत्तामा पुगेका छन् । यो बेला उनको आत्मा भड्किएको छ । उनलाई एकदम त्रास छ । कुनबेला कसैले पो मारिदेला की भन्ने लागेको छ । यो उनले आफ्नै त्रासका कारण यो हल्ला फैलाएका हुन् । ‘चोरको खुट्टा काट’ भन्दा चोरले आफैं खुट्टा निकाल्छ भनेजस्तो मात्रै हो ।

तर, तपाईहरुले त बैठकबाटै लिखितरुपमा प्रचण्डलाई सिध्याउने भनेर माइन्युट गरेको भन्नु भएको छ उहाँले । के साच्चै हो ?
केपी झापा विद्रोहको र प्रचण्ड जनयुद्धका भगौडा हुन् । उनीहरुलाई ज्यान प्यारो भएर साम्राज्यवादीसँग आत्मसमर्पण गरेर भागेका कारण यस्तो हल्ला फैल्याउने गर्छन् । यो सबै काल्पनिक कुरा हो । हामीले कुनै निर्णय गरेका छौं वा सर्कुलेसन गरेका छौं भने त उनीहरुले सार्वजनिक गर्न सक्नुपर्छ नि । म हाम्रा त्यस्ता निर्णय भएको भए सार्वजनिक गर्न उहाँलाई चुनौती दिन चाहन्छु ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

निशानन्युजकर्मी बराइली दिलिप घिमिरे स्मृति पत्रकारीता पुरस्कारबाट सम्मानित

Baraili samman

काठमाडौं । निशान न्युजकर्मी गोपाल बराइली स्वर्गीय पत्रकार दिलिप घिमिरेको स्मृतिमा स्थापित दिलिप घ...