विप्लवको नेपाल बन्द: देशभर सामान्य प्रभाव, नवलपरासीमा ल्यापटप ‘बम’ भेटियो

Nbom

नवलपरासी । नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपाको बन्दले आज देशभर सामान्य प्रभाव परेको छ । देशका बिभिन्न भागमा कतै सामान्य र कतै पुर्णरुपमा बन्दको प्रभाव देखिएको थियो । आज देशका अधिकांश् स्थानमा शंकास्पद बस्तु फेला परे भने केहि जिल्लाहरुमा आगजनि समेत भए । यस्तै पूर्वी नवलपरासीका विभिन्न स्थानमापनि आज फेला परेका बमका कारण जिल्लाको जनजीवन तनावग्रस्त बन्यो ।

शंकास्पद वस्तुसहित जिल्लाका विभिन्न स्थानमा ८ वटा बम फेला परेका थिए। एक ठाउँमा बम आफैं विष्फोट भयो। अन्य ठाउँमा राखेका शंकास्पद वस्तुसहित सबै बम नेपाली सेनाको ‘बम डिस्पोज टोली’ले निस्कृय पारेको थियो। विभिन्न स्थानमा राखेका शंकास्पद वस्तु र बमका कारण दिनभर सुरक्षाकर्मी पनि तनावमा देखिन्थे। त्यसक्रममा फेला परेको ल्यापटप ‘बम’ ले अर्को आतंक सिर्जना गर्‍यो।

पूर्वपश्चिम राजमार्ग अन्तर्गत देवचुली नगरपालिका–११ को दलदलेस्थित सडकको कल्भर्ट तल ल्यापटपको ब्याट्रीमा बारुद भरेर विष्फोट गराउन राखिएको भेटियो। उक्त ल्यापटप बमलाई निष्कृय पारिएको जिल्ला प्रहरी कार्यालयका नायब उपरीक्षक लिलाराज लामिछानेले बताए।

ब्याट्रीमा बारुद भरेर कल्भर्टमुनी राखिएको अवस्थामा भेटिएको थियो। झोलमा राखेको वस्तु शंकास्पद देखेपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए। तत्कालै पुगेको नेपाली सेनाको टोलीले त्यसलाई डिस्पोज गरेको नायब उपरीक्षक लामिछानेले जानकारी दिए।

गैंडाकोट नगरपालिकाको थुम्सीमा रहेको ‘गौली ग्रुपले प्लटिङ’ गरेर राखेको जग्गामा राखिएका ५ वटा बमलाई नेपाली सेनाको टोलीले निस्कृय पारेको छ। कावासोतीको झ्यालटुङ डाँडास्थित नेपाली सेनाको कृष्ण दल गणको टोलीले बम निष्कृय पारेको हो। दिउँसो २ वटा सुतली र ३ वटा पेट्रोल बम प्रहरीले निष्कृय पारेको थियो।

यसअघि सोही स्थान नजिक रहेको जय श्री पुलमा राखिएको शंकास्पद वस्तु सुरक्षाकर्मीले हटाएका थिए। बोराभित्र राखिएको उक्त वस्तुमा खाली टिन र ब्याट्री रहेको प्रहरीले जनाएको छ।

त्यस्तै कावासोतीस्थित डिभिजन वन कार्यालय नजिक राखेको बम दिउँसो विस्फोट भएको थियो। नेपाली सेनाको बम डिस्पोजल टोली नपुग्दै बम विष्फोट भएको हो। विस्फोटमा कुनै मानवीय र भौतिक क्षति नभएको नायब उपरीक्षक लामिछानेले बताए।

नेत्रविक्रम चन्द नेतृत्वको नेकपा विप्लव समूहले बिहीबार नेपाल बन्दको घोषणा गरेका कारण सबै घटना उक्त समूहले गराएको प्रहरीको शंका छ।

यस्तै पश्चिम नवलपरासीमा दुई ट्रकमा आगजनी भएको छ। पूर्वपश्चिम राजमार्गको बासाबसहीमा रोकी राखेका दुई ट्रकमा बिहीबार बिहान आगजनी गरिएको हो। ८र१० जनाको समूहमा आएका अज्ञात व्यक्तिले आगजनी गरेको प्रहरीले जनाएको छ।

यसैबीच विप्लव समूहको भातृ संगठन नेकपा जनपरिषद्को नाउँबाट पाल्हीनन्दन गाउँपालिका– ६ पडरीमा रहेको ३४ विगाहा जमिनमा झण्डा गाडिएको छ। स्थानीय जनतालाई वर्षौदेखि जोतभोग गर्न दिएको जग्गा थाहा नदिई जालसाक्षी गरेर अन्य व्यक्तिलाई बिक्री गरेको भन्दै झण्डा गाडेर कब्जामा लिइएको जनपरिषद्का एक जिल्ला नेताले बताएका छन्। राति गाडिएको झण्डालाई प्रहरीले बिहान निकालेर फालेको थियो।

बन्दका कारण यस जिल्लामा लामो दुरीका सवारीसाधन ठप्प थिए। अधिकांश बजार क्षेत्र भने खुला थिए।

प्रतिकृया दिनुहोस