सांसद अधिकारीको निधनप्रति शोक प्रस्ताव पारित

Sava baithak 12

काठमाडौँ । मंगलबारल बसेको प्रतिनिधिसभा बैठकले नेपाल कम्युनिष्ट पार्टी (एमाले) का तर्फबाट तीन पटक प्रत्यक्ष निर्वाचित सांसद भरतमोहन अधिकारीको निधनमा शोक प्रस्ताव पारित गरेको छ ।

अधिकारी २०४८, २०५१ र २०५६ सालको निर्वाचनमा प्रतिनिधिसभा सदस्यमा मोरङ जिल्लाबाट निर्वाचित भएका थिए । यसैगरी २०६३ को पुनःस्थापित प्रतिनिधिसभामा पनि अधिकारी सांसद थिए ।

अधिकारीको निधनमा सभामुख कृष्णबहादुर महराद्वारा प्रस्तुत शोकप्रस्ताव सर्वसम्मतिले पारित भएको हो ।

अधिकारी २०७० सालको संविधानसभामा एमालेकै तर्फबाट समानुपातिक सदस्य थिए । उनले उपप्रधानमन्त्री तथा अर्थमन्त्रीसहित विभिन्न मन्त्रालयको जिम्मेवारी सम्हालेका थिए ।

प्रजातन्त्र पुनःस्थापनापछि विसं २०४६ मा गठन भएको संविधान सुझाव आयोगको सदस्य रहेका अधिकारी लोकतान्त्रिक आन्दोलनका अथक योद्धा रहेका पारित शोक प्रस्तावमा उल्लेख छ ।

उपचारका क्रममा उनको यही फागुन १८ गते राजधानीमा निधन भएको थियो । त्रियासी वर्षीय अधिकारीले राज्यका लागि दिएको योगदानको उच्च सम्मान गर्दै प्रतिनिधिसभाको बैठकले शोकसन्तप्त परिवारप्रति समवेदना प्रकट गरेको छ ।

सभाको अर्को बैठक यही फागुन २२ गते अपराह्न १ बजे संसद् भवन नयाँ बानेश्वरमा बस्नेछ ।

प्रतिकृया दिनुहोस