प्रचण्ड र बाबुरामले अनाहकमा १७ हजार मानिसको ज्यान लिए, तिनीहरुलाई सजायँ हुनुपर्छ

Hemanta prakash oli

शुक्रबार साँझ ललितपुरको नख्खुमा रहेको एनसेल कार्यालय अगाडि भएको बम बिस्फोट हुँदा एक जनाको मृत्यु भएको छ भने दुईजना घाइते भएका छन् । यो घटनामा कसको संलग्नता छ भनेर प्रहरीले खोजिरहेकै बेला विप्लव समूहका नेता हेमन्तप्रकाश ओलीले बम विस्फोट जिम्मा लिँदै बटुवाको मृत्यु भएको स्वीकार गरेका छन् । आइतबार बीबीसीले हेमन्तप्रकाश वलीसँग कुराकानी गरेको थियो । प्रस्तुत छ सोही अन्तरवार्ता ।

एउटा बटुवा बाटो हिँडिराख्दा, घर जान लागेको मान्छे, घर पुगेन, ज्यान गुमायो अनाहकमा । यसलाई सानोतिनो घटना भन्न मिल्छ ?
हैन, हामीले त्यस्तो भनेकै छैनौं ।अहिले भर्खर तपाईले सानोतिनो घटना हुन जान्छ भन्नुभयो ।

यस्तो चाहिँ घटनाहरु हुन सक्छन्, हैन ? तर, चाहिँ हामीले यो कुनै निशाना हैन । जुन, बटुवा, जो मानिसचाहिँ त्यहाँ हिँड्दै हुनुहुन्थ्यो, त्यसमा चाहिँ लाग्न पुग्यो, त्यसप्रति हामीले दुःख प्रकट गरिसकेका छौं ।

यसरी दुःख प्रकट गरेर वा क्षमा याचना गरेर ज्यान फर्काउन सकिन्छ त हेमन्तजी ?
त्यसो त तपाईको चाहिँ सिरियाका लाखौं जनताको त ज्यान र्फकँदैन नि ।

हेमन्तजी, तपाईकै शब्द सापटी लिनुपर्दा कुनै कम्पनीले लुटेको छ भने राज्यका विभिन्न निकायहरु छन्, न्यायपालिका छ । यहाँभित्र दबाव दिने अथवा त्यसरी बम बिस्फोट गराएर अनि त्यो के फर्किन्छ ? त्यसरी तपाईले भनेको उद्देश्य या ध्येय प्राप्त हुन्छ ?
तपाईले के बुझ्नोस् भने न्याय पालिका अथवा सरकारका कुनै पनि निकायले त्यसप्रति ध्यानै दिएनन् । स्वयं न्यायालय नै त्यसबाट प्रभावित हुने...

यहीँनेर रोक्न खोजें हेमन्तजी, त्यसो भए एउटा पार्टी नै राज्य, व्यक्ति नै न्यायपालिका हुन पाउँछ ?
हैन, यो राज्य अन्यायपूर्ण छ भनेर हामीले त्यसका विरुद्ध वैकल्पिक र प्यारालाल राज्यकै घोषणा गरिसकेका छौं ।

सरकारले तपाईहरुले भनेकै शब्लमा यो वैकल्पिक राज्यले अनाहकमा ज्यान लियो नागरिकको, ठाउँठाउँमा विस्फोट गरायो, यसको चाहिँ कडाभन्दा कडा कारवाही गर्छौं भनेर भनेको छ राज्यले । अब त्यो कारवाहीका लागि तयार हुनुहुन्छ तपाईहरु ?
यसरी सरकारले चाहिँ फेरि न्यायपूर्ण कार्यलाई अन्यायपूर्ण तरिकाले चाहिँ आउन थाल्यो भने नेपाली जनताले चाहिँ नराम्रोसित प्रतिरोध गर्नेछन् । यसको साथसाथै राज्यसत्ताबाटै लखेटेर नयाँ राज्यसत्ता पूर्णरुपमा स्थापित गर्नेछन् ।

तपाईले कुन नेपाली जनताको कुरा गर्नुभयो ? त्यो विस्फोटको सर्वत्र निन्दा र भत्सर्ना हुँदैछ, ती भत्सर्ना गर्ने नेपाली जनता हैनन् ?
हैन, हामीले त भनिसक्यौं त, हामीले मुख्य काम जे गर्न खोजेका थियौं, त्यसमा चाहिँ केही त्रुटीहरु हुन गए । ती जुन नेपालीले ज्यान गुमाए, त्यसप्रति चाहिँ दुख प्रकट गर्दै उहाँको परिवारको राहतका लागि हामी आफ्नो तर्फबाट कदम अगाडि बढाउने छौं ।

अब अन्त्यमा हेमन्तजी, तपाईहरुले भन्ने गरेको यो क्रान्तिका लागि अझ कति निर्दोष नेपालीले ज्यान दिनुपर्छ ? र, जसको बलिदानीको उपलब्धीमा टेकेर तपाईहरुले राजनीतिक स्वार्थ पूरा गर्नुहुन्छ ।
हैन, योचाहिँ कुरा हामीले आज प्रचण्ड र बाबुरामहरुलाई पनि सोध्नुपर्छ । बादलहरुलाई पनि सोध्नुपर्छ । किनभने उनीहरुले चाहिँ अनाहकमा १७ हजार मानिसको ज्यान लिएका छन्, तिनीहरुलाई सजायँ हुनुपर्छ । र, हामीचाहिँ यस्ता कमी कमजोरीहरु हुन नदिनका लागि पूर्णरुपले सचेत हुनेछौं ।

तपाईहरुले वार्ताको कुरा पनि गर्नुभएको छ, यो वार्ता चाहिँ सरकारलाई अल्झाउने खेल त होइन नि ।
हामीले वार्ताको कुरा गरेका हैनौं, उनीहरुले गरेको वार्ताको कुराको जवाफ कहिलेकाहिँ दिने गरेका छौं ।

तपाईहरु शान्तिपूर्ण तरिकाले समस्याको समाधान होस् तपाईहरुका माग सम्वोधन होस् भन्ने पक्षमा हुनुहुन्न ?
हैन, हामी समस्याको समाधान होस् भनेर पर्खिराखेका छौं । तर, पनि कुनै समस्याको समाधान हामीले नदेखेपछि अगाडि बढ्नुको विकल्प छैन ।

ए, त्यो पर्खिँदै गर्दा यता विस्फोट पनि गराइहाल्नुभो, वार्ताबाट निकास निस्कोस् भन्ने त्यतिसम्म कुर्न सक्नुभएन ।
हैन, वार्ता गर्नै चाहँदैन सरकारचाहिँ । वार्ताको कुनै विषयवस्तु नै क्लियर छैन । अब हामीले वार्ता केमा गर्छौं भने १७ हजार मानिसले संसदीय व्यवस्थाका विरुद्ध बन्दूक उठाएर त्यहीँ काँधमा काँध मिलाउन जाने भनेका थिएनन् । त्यस्तै किसिमले हामीले ८० प्रतिशत भूभाग कब्जा गरेका थियौं, त्यो चाहिँ यथावत रहनुपर्दछ । हामीसित ४० हजार जनमुक्ति सेना बनेको थियो, त्यो चाहिँ पुनर्निर्माण गर्नुपर्दछ । त्यो किसिमले वार्ता गर्ने भएचाहिँ हामी तयार छौं ।

विगतको नेतृत्वले गल्ती र्गयो भनेर आफैंले भन्नुभयो । र विगतको नेतृत्वले जुन काम र्गयो, जुन बाटोमा हिँड्यो, त्यही बाटो तपाईहरु अपनाउँदै हुनुहुन्छ, तीभन्दा तपाईहरु कसरी फरक हुनुभयो ?
जुन बाटोमा हामी अघि बढिराखेका थियौं, आमूल परिवर्तनको बाटोमा, क्रान्तिको बाटोमा, वर्ग संघर्ष छाडेर वर्ग समन्वयनतिर लाग्यो र प्रतिक्रियावादीहरुसित साँठगाँठ गरेर चाहिँ सत्तामा पुगेको छ ।

कतिपयले त के भन्ने गरेका छन् भने तपाईहरुले केही चन्दा माग्नुहुन्छ, मोटो रकम माग्नुहुन्छ, त्यो रकम नपाएपछि तपाईहरुले बिस्फोट गराउने गर्नुहुन्छ । तपाईहरुको यो कुनचाहिँ वाद हो ?
अब हामीले के बुझौं भन्दाखेरि योचाहिँ भ्रमतिर कोही पनि लाग्न हुँदैन कि हामी कसैबाट मोटो रकम लिनका लागि यस्तोखालको क्रान्तिको जोखिमपूर्ण बाटोमा हिँडिराखेका छौं । योचाहिँ असाध्यै भ्रमपूर्ण कुरा हो ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

काे हुन् दिलबहादुर सिंह, यस्तो छ बझाङमा चुनाव जित्ने आधार

Dil bahadur singh khaptadtv

गणेश विक, काठमाडाैं । पंचायतकालीन राजनीतिक अवस्थाको बारेमा हामीले पढेका र सुनेका मात्रै छम् । त्य...