सिद्धबाबा क्षेत्रमा सुरूङ मार्ग निर्माण हुँदै, सुरूङमार्गका लागि अध्ययन प्रक्रिया शुरू

Aadhyembbnn

सिद्धबाबा । सिद्धार्थ राजमार्गको सिद्धबाबा क्षेत्रमा सुरूङ मार्ग निर्माण हुने भएको छ । भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले सुरुङ बनाउने गुरुयोजना निर्माण गर्न थालिसकेको छ ।

सिद्धार्थ राजमार्ग अन्तर्गत माथिल्लो सिद्धबाबा मन्दिरदेखि दोभानसम्मको करिब ४ किलोमिटर क्षेत्र पहिरोको अति जोखिम क्षेत्र मानिन्छ ।

यसैलाई मध्यनजर गरी माथिल्लो सिद्धबाबा मन्दिरदेखि रामापिथेकस पार्कसम्मको एक किलोमिटर तिनसय मिटर क्षेत्रमा स्वीस सरकार विकास सहयोगमार्फत सुरुङ मार्ग निर्माणको लागि भौगर्भिक अध्ययन (जियोलोजिकल सर्भे) थालिएको हो ।

यो सडकखण्डलाई पहिरोबाट सुरक्षित बनाउने बारे यसअघि विभिन्न अध्ययन तथा प्रयोगहरु गरिएपनि सफल नभएपछि अहिले ड्रिलिप नेपालले सुरुङ मार्गका लागि गुरुयोजनाको काम गर्नुपूर्व भौगर्भिक अध्ययन थालेको हो ।

ड्रिलिप नेपालले आगामी वैशाखसम्म गुरूयोजना निर्माण गर्नेछ । गुरुयोजनाका लागि सडकको चट्टान परीक्षणको काम भइरहेको छ ।

चट्टान परीक्षण गर्न प्लानेट नेपालले काम गरिरहेको प्लानेट टेष्ट प्रालिका भौगर्भिक ईञ्जिनियर दिवाकर खड्काले बताए ।

भौगर्मिक अध्ययनको लागि स्वीस डेभलेपमेन्ट कोअपरेसनले ५० लाख रुपैयाँ आर्थिक सहयोग समेत गरेको छ ।

जुन सहयोगबाट भूगर्भशास्त्री र इन्जिनियरहरुले उक्त क्षेत्रको जमीन, माटो, ढुंगा, चट्टान, पानी आदिको बनावट र अवस्थाबारे अध्ययन शुरु गरेका छन् ।

ईञ्जिनियर खड्काले अहिलेसम्म टनेलको आउटलेट र ईनलेट दुई ठाउँमा ड्रिलिङ गर्ने काम भईरहेको बताए ।

‘अहिले हामिले टनेलको ईनलेटमा ६० मिटरको होरिजेन्टल ड्रिलिङको काम सकिसकेका छौं, आउटलेटमा पनि १ सय १० मिटरको होरिजेन्टल ड्रिलिङमध्ये ९५ मिटर ड्रिलिङको काम सकिएको छ, ईनलेटको भर्टिकल ड्रिलिङ पनि १५ मिटरमध्ये आठ मिटर सकिएको र आउटलेटको काम पनि अरु हुँदैछ,’ उनले भने ।

खड्काले बाँकी दुई ठाउँमा रकसेट डिजाईनको काम पनि सकिएको र पहिलो चरणको भौगर्भिक सर्भेको ८५ प्रतिशत काम सकिएको बताए ।

प्रारम्भिक अध्ययन नतिजामा सो क्षेत्रमा स्यानस्टोन र मडस्टोन खालको चट्टान भेटिएको छ। यसअघि भएको प्रारम्भिक अध्ययनमा सुरुङसहित रकनेट, रकसेट, हाफ टनेल, बेन्च कट सहितका ६ वटा विकल्प दिईएको थियो ।

त्यसमध्ये संघीय सरकारले सुरुङमार्गलाई पहिलो प्राथमिकतामा राखेर गुरुयोजना थालेको हो ।

स्वीस सरकारले सुरुङमार्गको अध्ययन र गुरुयोजना निर्माणमा सहयोग गरेको छ । चट्टान परीक्षणका लागि सिद्धवावा क्षेत्रका पाँच स्थानमा ९० मिटरसम्मको प्वाल खोलेर चट्टान बाहिर निकालिएको छ । तीन किलोमिटरमा सुरुङ मार्ग बनाइने भएकाले त्यही क्षेत्रको चट्टान परीक्षण गरिएको हो ।

शुक्रबारदेखि चट्टानमा भइब्रेसन लगाएर परीक्षणको काम शुरु गरिएको ड्रिलिप नेपालका वातावरणीय ईञ्जिनियर आशिष ढकालले सेतोपाटीलाई जानकारी दिए ।

ढकालले यहाँको अध्ययनको लागि रिपोर्ट स्वीजरल्याण्ड नै पठाउने भएकोले यसको डिपीआर बन्न केही समय लाग्ने बताए ।

यहाँबाट पठाईएको प्रतिवेदनका आधारमा स्वीस सरकार अन्तर्गतको स्वीस डेभलेपमेन्ट कोअपरेसनले सुरुङ मार्गको डिजाइन गरी बल्ल नेपाल सरकारलाई बुझाउने छ ।

पहिलो चरणमा सुरुङमार्ग कति मिटर लामो हुने र कस्तो बनाउने भन्ने मात्र अध्ययन शुरु गरिएकोले उनले बताए ।

यहाँको भौगर्भिक सर्भेपछि सुरुङमार्ग बन्न सक्ने अवस्था देखिए तल्लो सिद्धबाबा मन्दिरको उत्तरतर्फको चिडियाखोलाको छेउबाट सुरुङमार्ग सुरु हुनेछ ।

चिडियाखोला छेउबाट शुरु भएको सुरुङमार्ग दोभान नजिकैको रामापिथेकस पार्कको उत्तरतर्फ पुगेर बाहिर निस्किने छ ।

सुरुङमार्गको प्रवेशद्वारमा करिव २० मिटर सिधा प्वाल पारेर चट्टान निकालिएको छ । दोभान नजिकै रामापिथेकस पार्कको उत्तरतर्फ ९० मिटरको ६० डिग्री कोणमा प्वाल पारिएको छ ।

चट्टानको चुचुरो र सडकको बीचभागमा समेत प्वाल पारेर चट्टान निकालिएको छ । संघीय सरकारले सिद्धबाबाको सडक व्यवस्थित गर्नका लागि ५० लाख बजेट बिनियोजन गरेको छ ।

यो वर्ष गुरुयोजना तयार गरी आगामी आर्थिक वर्षमा सुरुङमार्ग निर्माणकै काम थाल्ने सरकारको योजना छ ।

गुरुयोजना निर्माणपछि यस क्षेत्रमा सुरुङ मार्ग निर्माण भए पहिरोको कारण बर्षेनी दर्जनौको संख्यामा हुने अकाल मृत्यु रोकिने अपेक्षा गरिएको छ ।

बुटवल दोभान सडक खण्डमा वर्षायाममा मात्र नभई हिउँदमा समेत खस्ने ढुंगे पहिरोमा परि पछिल्लो १० वर्षमा करिब ७० जनाले ज्यान गुमाएका छन् ।

 

प्रतिकृया दिनुहोस