संघर्षले यसरी मोडियो विष्णुमायाको जीवनको बाटो

संघर्षले यसरी मोडियो विष्णुमायाको जीवनको बाटो

काठमाडौं । ‘वी डिसाइडेट टु डिक्लियर अवार्ड विष्णुमाया डे इन सेप्टेम्बर २७ ।’ लुइस भिल्ले स्टेटका एकजना सरकारी प्रतिनिधिले ड्यासबाट यो शब्द उच्चारण गर्दैगर्दा डा. विष्णुमायाका आँखामा खुसीका आँशुहरु बगिरहे । त्यो क्षण सम्झिँदा अहिले पनि डा विष्णुमाया परियारका आँखाहरु रसाउछँन ।

त्यो दिनदेखि अमेरिकाको लुईस भिल्ले स्टेटमा सामाजिक अभियान्ता डा. विष्णुमाया परियारको नाममा विष्णुमाया डे मनाउँन सुरु गरियो । जिन्दगीमा कहिल्यै नसोचेको सरप्राइज, जुन विष्णु मायाले विश्वास नै गर्न सकिरहेकी थिइँनन ।

‘त्यो क्षण सम्झिँदा म अहिले पनि भावुक हुन्छु, त्यो क्षणलाई शब्दमा वर्णन गरेर सक्दिनँ । त्यतिवेला आँखाभरि आँसु थियो’ उनले भनिन्, ‘अवार्डको भागिदार म होइन जस्तो लागिरह्यो, त्यो क्षणमा मलाई जन्म दिने मेरी आमा र बावुलाई सम्झिएँ ।’

त्यो उचाईमा पुगेकी विष्णुमायाको विगत चलचित्रमा देखिने कथा जस्तै छ । हुन त प्रत्येक मानिसलाई आ–आफ्नो दुःख आफैँलाई ठुलो लाग्छ । जिन्दगीमा मैले जति दुःख त कस्ले भोगेको होला र ? मेरो जति भोगाई अनि संघर्षगाँथा कस्को होला र जस्तो लाग्छ । तर यहाँनेर डा विष्णुमायाको कथा अलिक फरक छ ।

डा. विष्णुमाया र संघर्ष
डा. विष्णुमायाको जन्म सन् १९७३ डिसेम्बर १९ मा गोरखाको दुर्गम ताक्लुङ गाविस कोटगाउँको दलित बस्तीमा भएको हो । विष्णुमाया बावु रुपबहादुर परियार र आमा फनमाया परियारकी ठाहिंली छोरी हुन् ।

परिवारमा दश बहिनी छोरी र एक भाइ छोरासहित ११ जना सन्तान । गरीवी, अभाव त्यसैमाथि समाजमा अछुतो हुनुको पीडा । दलित परिवारमा जन्मिएकी विष्णुमायाले सदियौँदेखि दलित समुदायले भोग्दै आएको छुवाछूतको पीडा विष्णुले पनि महसुस गर्न थालिन् । जतिबेला विष्णुमाया हुर्किदैँ थिइन त्यतिबेला समाज अहिलेको जस्तो खुला भइसकेको थिएन । जातीय भेदभाव तथा छुवाछूत मात्रै हैन छोरीलाई पढाउनुपर्छ भन्ने चेतना खुलेकै थिएन । किसानी गर्न केही जमिन त थियो । तर त्यसले वर्षभरि खान पुग्दैनथ्यो ।

बुबा रुपबहादुरको जागिर भनेको लुगा सिलाउने कल बोकेर गाउँलेको घर–घर डुल्ने र फाटेका कपडालाई नयाँ रूप दिने । उनकी आमाको काम भनेको डोको बोकेर विष्टका घरमा बाली उठाउन हिड्ने । ‘बुबाले हजारौँ कपडालाई नयाँ स्वरूप दिनुभयो, कति कलका सिगोहरु भाचिएँ, आमाले बाली बोक्ने कति डोकाहरु फाटे’ उनले भनिन्, ‘तर, आफ्नो परिवारमा कहिल्यै काँचुली फेरिएन, शरीरले कहिल्यै चम्किलो कपडा देखेन, बुवा नभएको भए म यो ठाउँमा हुने कल्पनासम्म पनि गर्न सक्थिनँ ।’

अहिले अमेरिकाको पाइन म्यानर कलेजले मानार्थ डाक्टरको उपाधि दिए पनि विष्णुमायाको जीवनको शुरुआती दिनहरू अहिलेकोे जस्ता थिएनन । विष्णुमाया अहिले जर्सी सिटीका मेयर स्टेप अप फ्लोपका सल्लाहकार हुन् ।

यसरी जन्मियो विद्रोहको भाव
सँगैका साथीहरूले ‘ए दमिनी ! कपडा सिलाउन छाडेर कहाँ पढ्न हिँडेकी ? भनेर होच्याएको अहिले पनि ताजै छ विष्णुमायालाई । तिर्खाएका बेला धारामा गएर पानी खान पाउदिन थिइन् । सरस्वती पूजामा टाँडै बसेर हेर्नु पर्दाको पीडा त कति हो कति । यो सम्झिँदा विष्णुमायाका आँखाका डिल रसाउँछन । भक्कानो छुट्छ ।

‘विष्टको घरमा खाना खाएपछि आफैँले भाडा माझ्नुपर्ने, यो जातीय विभेद हो छोरी, तिमीहरु यसको विरुद्धमा लड्नुपर्छ’ उनलाई उनका बुबा रुपबहादुरले यही भनेर सम्झाउथे ।

विष्टको घरमा खाना खाएपछि भाडा माझ्नुपर्ने । खाना खाएको ठाउँमा गोवरले पोत्नुपर्ने । सुनपानीले छर्किनुपर्ने । त्यसैले होला विष्णुमायाको कलिलो दिमागमा विद्रोहको भाव आयो ।

शिक्षाको थालनी
बुबाले पढ्न पठाउने मन गरे पनि पढ्नका लागि चाहिने वातावरण घरमा थिएन । तर पनि उनले हिम्मत हारिनन् । उनले कक्षा ७ सम्म स्थानीय श्री सिंजाली माविमा अध्ययन गरिन् । त्यहाँ उनी प्रथम भइन । त्यसपछि घरको आर्थिक अवस्था कमजोर भए पनि साढे दुई घण्टाको दूरी पार गरेर अर्को गाउँको मनकामना माविमा कक्षा ८ मा भर्ना हुन पुगिन् ।

गरिवीका कारण घरमा चामलको भात पाकेको देख्न दशैँ नै कुर्नुपथ्यो । विष्णुमाया बावु रुपबहादुरकी प्यारी छोरी थिइन । घरमा नभएपनि एैचोपैचो गरेर भएपनि छोरीलाई दिनभर पढ्न गाह्रो हुन्छ भनेर कसैलाई थाहा नदिई भात खुवाएर स्कुल पठाउनुहुन्थ्यो ।

मनकामनाबाट विष्णुमायाले टेस्ट पास गरिन् । आर्थिक अभावका बीच विष्णुमायाले २०४८ सालमा एसएलसी उत्तिर्ण गरिन् । विष्णुमाया एड्वानको संस्थापक अध्यक्ष तथा संरक्षक हुन् । अमेरिकाको न्यु जर्सी सिटी बस्दै आएकी विष्णुमायाले अहिले अमेरिकाका विश्व विद्यालयहरुमा दलित, महिला लगायतका विषयमा लेक्चर दिन्छिन् ।

नविनतम् सोच
विष्णुमायाले अहिलेसम्म हावर्ड विश्वविद्यालय प्रदान गर्ने ‘ब्रिज विल्डर अवार्ड’ र डा. अम्बेड्कर ग्लोबल चेन्ज मेकर अवार्ड लगायत सयौँ पुरस्कार तथा सम्मान प्राप्त गरेकी छन् ।

सानै उमेरदेखि जातीय भेदभाव तथा छुवाछूतको चरम मारमा पर्दै आएकी विष्णुमायाको आफ्नै जीवनीमा आधारित डकुमेन्ट्री ‘अनटचएबियालिटी’ चर्चित छ । गैरआवासीय नेपाली संघको वुमन इम्पावरमेन्ट कमिटीको अध्यक्षसमेत बनिसकेकी विष्णुमायमले अमेरिकामै वुमन फर कज नामक संस्था चलाइरहेकी छन् ।

जीवनमा अभाव र संघर्ष मात्रै हैन चर्चा र सफलतालाई पनि नजिकबाट आत्मसात गरेकी विष्णुमाया संघर्षलाई आफ्नो लक्ष्य प्राप्तिको मार्ग मान्छिन । संघर्षकै कारण सबै सफलताहरू हात लाग्ने उनको बुझाइ छ । सफलताको आशा र निराशाको भयले मानिसलाई दुःखी तुल्याउने भएकाले कर्मलाई सफलता वा असफलताको कसीमा उतार्न नहुने विष्णुमायाको भनाइ छ ।

सधैँ सकारात्मक सोच राख्ने विष्णुमाया परियारको अबको योजना अन्धविश्वस र कुरीतिका कारण पछि पारिएका महिलाहरूलाई आपूmजस्तै सबल र सक्षम बनाउने हो ।

यसरी मोडियो बाटो
एसएलसी दिँदै गर्दा अमेरिकी स्वंसयेवी संस्था पिस कोरका भोलेन्टियर जोन रुकम्यानसँग भेट भयो । त्यसपछि भने विष्णुमायाको जीवनले नयाँ मोड लियो । विष्णुमायाको ट्यालेन्ट देखेर उच्च शिक्षा आर्जनका लागि जोनले सघाउने आश्वासन पाएको दिन विष्णुमायालाई संसार जितेजस्तो भयो । दलित परिवारबाट एसएलसी गर्ने पहिलो छात्रा बनेकी विष्णुमायालाई आफ्ना बावुले ६० रुपैयाँ दिएपछि काठमाडौँ आई पुगिन् ।

विष्णुमाया एसएलसीपछि काठमाडौँ आएर पद्मकन्या क्याम्पस मा भर्ना भएपनि बाहिरबाट आउने पैसा नेपालस्थित पिसकोरकै कर्मचारीले खर्च गरिदिँदा रहेछन । इन्टर पास गर्नलाई गार्मेन्टमा सिलाई काम गर्ने आफ्न्तहरूलाई खाना पकाउने र रेस्टुरेन्टमा काम गर्नुपरयो । पछि विष्णुमायाले ‘मार्जिनलाइज ग्रुपका लागि माइक्रो फाइनान्सको प्रोजेक्टमा तराईका जिल्लाहरुमा काम सुरु गरिन । जोनले पठाएको पैसाले बिष्णुमायाको पढाई मात्रै सुचारु भएन जीवनले पनि नयाँ मोड लियो ।

उनी युनिभर्सिटी अफ विस्क्यान्टसिनको स्कलरसिपमा अध्ययन गर्दै थिइन् । त्यही समय उनको ज्याकोभ क्यासेलसँग भेट भयो । विष्णुमायाले विस्क्यान्टसिनमै रिसर्चको काम पाएकी थिइन् । इवाले उनलाई छोरी बनाइन् । यो विष्णुमायाको अर्को टर्निङ प्वाइन्ट थियो । सन १९९९ मा विष्णुमाया अमेरिका पुगिन् । उनले ‘सोसियल एण्ड पोलिटिकल सिस्टम’ विषयमा ग्रयाजुयसन गरिन ।

सानैदेखि पढाईमा अब्बल विष्णुमाया संसारमै ३० जनाको मात्र कोटा भएको क्लार्क युनिर्भसिटीमा ‘अन्तर्राष्ट्रिय विकास तथा सामाजिक परिवर्तनमा’ छात्रवृत्ति पाउने नेपालको पहिलो महिला हुन् ।

अमेरिकामा पुगेपछि ‘मदर्स डे’का दिन विष्णुमायाले इवा क्यासेललाई पस्मिनाको सल उपहार दिइन् । त्यसैबेला विष्णुमायाले पस्मिनाका सलहरु अमेरिकामा बेचेर नेपालका विपन्न परिवारलाई आर्थिक सहयोग समेत गरिन् । त्यसबाट उनले वर्षमा २८ लाखसम्मको व्यापार गरेर नेपालको शिक्षा, महिला सशक्तीकरण र सामाजिक काममा सहयोग गरिन् ।

एड्वानको जन्मदाता
सामाजिक अभियन्ता बन्ने उद्देश्य राखिकी विष्णु नेपालमा हुँदै विसं २०५५ मा नेपाल दलित महिला उत्थान संघ (एड्वान) नामक संस्था स्थापना गरेकी थिइन् ।

दलित महिलाहरुलाई एकीकृत र संगठित बनाउँदै उनीहरुलाई आर्थिक र शैक्षिक रुपमा बलियो बनाउने उद्देशयले स्थापना गरिएको एड्वानले विपन्न समुदायका महिलाहरुलाई उद्यमशील बनाउनुका साथै अर्घाखाँची, गोरखा, चितवन, बाग्लुङ र तनहुँ लगायतका जिल्लामा आर्थिक अवस्था कमजोर भएका हजार भन्दा बढी विपन्न समुदायका विद्यार्थीलाई छात्रवृत्ति प्रदान गर्दै आएको छ ।

एड्वानले स्थापना भएदेखि नै महिलाहरुलाई कसरी आत्म निर्भर बनाउन सकिन्छ, र विपन्न समुदायका विद्यार्थीलाई कसरी विद्यालयको पहुँचसम्म पु¥याउन सकिन्छ भन्ने उद्देश्यका साथ काम गर्दै आएको छ ।

एड्वानको सहयोगमा अहिले विभिन्न जिल्लाका हजारौँ महिलाहरु व्यवसाय सञ्चालन गरेर आत्म निर्भर बनेका छन् । एड्वानले ग्रामीण क्षेत्रका दलित, महिला, सीमान्तकृत तथा अति विपन्न समुदायमा आयआर्जनमूूलक सीपसमेत सिकाउँदै आएको छ ।

एड्वानले सीप मात्रै सिकाउँदैन, सीप सिकाइसकेपछि व्यापार/व्यावसाय गर्न आर्थिक सहयोग समेत गर्दै आएको छ । यो वर्ष मात्रै एड्वानले कक्षा ११ र १२ का अति विपन्न, जेहेन्दार, दलित तथा उत्पीडनमा पारिएका समुदायका करिव १ सय जनाभन्दा बढि विद्यार्थीलाई पूर्ण छात्रवृत्ति प्रदान गरेको छ । यस संस्थाले २०५९ सालदेखि २०६८ सालसम्म विद्यालय पोशाक वितरण कार्यक्रमसमेत सञ्चालन गरेको थियो ।

प्रतिकृया दिनुहोस

साताको लोकप्रिय

झ्याल नजिकै यौनसम्पर्क गरिरहेको एक जोडी उत्तेजित हुँदा नवौँ तलाबाट खस्यो

काठमाडौं । रुसको सेन्ट पिटर्सबर्गमा रहेको एक भवनको नवौं तल्लामा आत्मीय क्षण बिताइरहेको एक जोडी भु...