नेपाल विद्यार्थी संघको किचलो फेरि छताछुल्ल, आठ जना पदाधिकारीद्वारा सामूहिक राजीनामा

Nebi

काठमाडौं । नेपाली कांग्रेसको भ्रातृ संगठन नेपाल विद्यार्थी संघका आठ जना पदाधिकारीले सामूहिक राजीनामा दिएका छन् । उनीहरुले अध्यक्ष नैनसिंह महरप्रति असन्तुष्टि जनाउँदै पार्टी सभापति शेरबहादुर देउवालाई राजीनामा बुझाएका हुन् ।

राजीनामा बुझाउनेमा उपाध्यक्षहरु पुष्पकुमार शाही, सञ्जय यादव, विकास केसी, महामन्त्री सरोजकुमार थापा, सहमहामन्त्री प्रेमराज जोशी, अम्बिका चलाउने, प्रकाश घिमिरे र अच्युतराज कलौनी रहेका छन् ।

महर नेतृत्वको वर्तमान कार्यसमितिले १२ औं महाधिवेशन गर्न नसक्ने देखिएपछि आफूहरुले संगठनलाई निकास दिन पदबाट राजीनामा दिएको उपाध्यक्ष सञ्जय यादवले जानकारी दिए । दोस्रो पटक म्याद थप भएपछि पुस २८ अर्थात भोलि काठमाडौंमा महाधिवेशन गर्ने नेविसंघले निर्णय गरेको थियो ।

तर महाधिवेशन घोषणा गरेको मिति आइसक्दा पनि नेविसंघले मात्र १४ जिल्लामा अधिवेशन सम्पन्न गर्न सकेको छ । अध्यक्षको मनपरीतन्त्रका कारण वर्तमान नेतृत्वले महाधिवेसन गर्न नसक्ने भन्दै राजीनामा दिएको उपाध्यक्ष यादवको भनाइ छ ।

तर यता नेपाल विद्यार्थी संघका अध्यक्ष नैनसिंह महरले भने संगठनका कुनै पनि पदाधिकारीले राजीनामा बुझाएको कुरा आफूलाई थाहा नभएको बताए । कसैले राजीनामा दिन चाहेमा अध्यक्षलाई राजीनामा पत्र बुझाउनुपर्ने विधानमा व्यवस्था रहेको बताउँदै महरले आफूलाई कसैले राजीनामापत्र नबुझाएको र पार्टी सभापतिले पनि कुनै जानकारी तथा सोधपुछ नगरेको बताए ।

अध्यक्ष महरले असन्तुष्टहरुले राजीनामा दिन पाउने व्यवस्था खुला भए पनि राजीनामा बुझाउँदा समेत विधानको उल्लंघन गर्न नहुने बताए ।वर्तमान नेतृत्वले महाधिवेसन गराउन नसकेको आरोपमा प्रतिक्रिया दिँदै महरले स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचन सम्पन्न भएपछि यसै नेतृत्वले महाधिवेसन सम्पन्न गर्ने बताए । महर नेतृत्वको कार्यसमितिको समयावधि माघ २ गते सकिँदैछ ।

प्रतिकृया दिनुहोस