राप्रपाको चियापानमा मधेशवादी दल र मन्त्रिपरिषदका सदस्य अनुपस्थित

Kamal thapa prithbi jayanti

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीले पृथ्वी जयन्तीको अवसरमा काठमाडौंमा चियापान गरेको छ ।

चियापानमा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, पूर्वप्रधानमन्त्री झलनाथ खनाल, मन्त्रिपरिषदका पूर्वअध्यक्ष खिलराज रेग्मी, कांग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेल, कोषाध्यक्ष सीतादेवी यादव, पूर्वसभामुख सुवासचन्द्र नेम्वाङ लगायतका नेताहरु सहभागी भएका थिए ।

तर सो चियापानमा प्रधानमन्त्री केपी शर्मा ओलीसहित मन्त्रिपरिषदका कुनै सदस्य पनि सहभागी भएनन् । मधेस केन्द्रित दलका नेताहरु पनि चियापानमा गएनन् ।

राप्रपा अध्यक्ष कमल थापाले पृथ्वी जयन्तीमा राष्ट्रपति विद्या भण्डारीले पृथ्वीनारायण शाहको शालिकमा माल्यार्पण गरेकोमा खुशी व्यक्त गरे । पृथ्वी जयन्तीलाई राष्ट्रिय पर्वको रुपमा मनाउनुपर्ने र सार्वजनिक विदा दिनुपर्ने माग गर्दै आएका थापाले राष्ट्रपति भण्डारीले सिंहदरबार अगाडिको पृथ्वी शालिकमा आफैँ उपस्थित भएर माल्यार्पण गरेकोमा खुशी र सन्तोष लागेको बताएका हुन् ।

थापाले पृथ्वीनारायण शाहको योगदानलाई राजनीतिक व्यवस्था र राजसंस्थासँग जोडेर हेर्न नमिल्ने पनि बताए । ‘राष्ट्रनिर्माता पृथ्वीनारायण शाहको योगदानलाई कुनै राजनीतिक व्यवस्था र संस्थासँग जोडेर हेर्नुैहुन्न । राजनीति भन्दा माथि उहाँको योगदान रहेको छ’ उनले भने ‘यसैले सबैको साझा सम्पत्तिको रुपमा राष्ट्रिय एकता दिवसलाई लिनुपर्छ ।’

शुक्रबार सिंहदरबार अगाडिको पृथ्वी शालिकमा राष्ट्रपति विद्या भण्डारी, उपप्रधानमन्त्री तथा रक्षामन्त्री ईश्वर पोखरेल, सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुल बास्कोटाले माल्यार्पण गरेका थिए ।

 

 

प्रतिकृया दिनुहोस