अकल्पनीय घटना : १० घण्टामा श्रीमान श्रीमतीको मृत्यु , मलामीले घरमा पुगेर नुहाउनसमेत भ्याएनन्

Late sharma dampati

काठमाडौं । मानिस जन्मदै मृत्यु लेखिएको हुन्छ भन्ने धर्मशास्त्रमा उल्लेख भएका कुरा स्वीकानै पर्छ ।

यो कसैले टार्न र सार्न नसक्ने ध्रुब सत्य कुरा हो । बिज्ञान प्रविधिको विकाससँगै जन्मने दिन र समय समेत एकीन गर्न सकिन्छ तर मृत्यु कसैले जान्दैन । अझ घटना, दुर्घटनामा एकै परिवारक धेरै सदस्य या श्रीमान् श्रीमती पर्नुलाई भवितब्यको संज्ञा दिईन्छ । कालगतिले नै श्रीमान् श्रीमती एकैदिनमा मृत्यु हुनुलाई कसरी लिने ?

हो पत्याउनै नसकिने दुःखद अवस्था नयाँबानेश्वर निवासी शर्मा परिवारमा पुष २४ गते मंगलबार १० घण्टाको फरकमा परेको छ । यो परिवारमा एउटा लाश दाहसस्कार गरेर नसक्दै अर्को लाश परेको दुःखद क्षणमा मलामीले काँध सेलाउन नपाउँदै अक्रो लाश बोक्नु परेको थियो । मलामीले पिताको अन्त्यष्टि गरेर घरफर्किएका क्रियापुत्रीलाई घरमा भित्र्याउनै नपाउँदै अर्को लाश बोकेर जानुपर्दाको क्षण निकै पिडादायि र कसैले नसोचेको घटना हुन पुग्यो ।

शर्मा परिवारमा परेको यो एउटा दुःखद र वियोगान्त घटना आयो टप्प टिप्यो लग्यो टारेर टर्दैन त्यो भन्ने पंक्तिलाई सार्थक बनाउँदै सन्तानका लागि चीरकाल सम्म ठूलो बज्रपात बनाएको छ । नियमित जस्तै सोमबार साँझ ८५ बर्षिय रामगोविन्द शर्मा र उहाँका सपरिवार खाना खाएर सुतेका हुन् ।

एक्कासी मध्येरातमा रामगोविन्दलाई छातीमा अप्ठ्यारो भयो भने लगत्तै उहाँका छोराहरु महेश र उमेश शर्माले एभरेष्ट अस्पतालको आकस्मिक कक्षमा पुगी चिकित्सकले परिक्षण गर्नासाथै मृत घोषणा गरिदिए । उपचारमा संलग्न चिकित्सकले उहाँको अस्पताल पुग्नु अघि नै मृत्यु भैसकेको घोषणा गरिदिए ।

जीवनको अन्तिम क्षणसम्म कुनै ठूलो रोग नलागेको र सकृय जीवन जिउनुभएका रामगोविन्दको अकस्मात मृत्युको शोकमा डुबेकी उहाँकी ७१ बर्षिय धर्मपत्नी भगवती देबी शर्मा भावविवहल बन्दै हुनुहुन्थ्यो । पिताको पशुपति आर्यघाटमा दाहसंस्कार सकेर विहान सबेरै घर फर्किएका महेश र उमेश नुहाएर फर्किए । आमालाई पनि नुहाएर कपडा फेर्न लगाई निकै जाडो भएकाले उहाँलाई तातो बनाउँन खोज्दै थिए ।

अब जे हुनु भैहाल्यो भन्दै आमालाई सम्झाउँदै काजकिरीयाको दयारी गर्दै गरेका छोराहरुको ध्यान दमको औषधि खाँदै आएकी विरामी आमाको स्वास्थ्य अवस्था प्रति केन्द्रीत भयो । यसै बखत उहाँलाई अलि न्यानोमा राखेर कोरामा बस्न पुरोहितले सिकाउँदै हुनुहुन्थ्यो । अकस्मात भगवतीदेबी शर्मालाई सास फेर्न गाह्रो भयो । साथैमा रहेका दुई छोरा र छेवैमा रहेकी बुहारी कान्ता र छोरी प्रतिमा अतालिन थाले ।

पुरोहित र आफन्तहरु अतालिदै तातो पानी तातो पानी भन्न थाले । छोरीले तातोपानी खुवाउँदै थिईन आमाको अवस्था अन्तिम भयो भन्दै आफन्तहरुले तुलसाको मोठमा के पुर्याएका थिए उहाँको इहलिला समाप्ती भयो । मलामीबाट भर्खर फर्किएर घर मात्र पुगेका आफन्त यो घटना सुन्दा आश्चयमा पर्दै नुहान ठीक्क पारेका कपडा लगाउँदै दगुर्दै शर्माको घरमा पुगे ।

१० घण्टाको फरकमा बाबु आमा दुबै गुमाउन पुगेका शर्मा परिवार र एउटै घरबाट २ वटा लाश बोक्न बाध्य मलामीहरु मात्र हैन टोल नै शोकमा डुबेको छ । यो घटनाबाट पिडित परिवार तथा आफन्त जनहरु यतिबेला निकै ठूलो पिडामा परेका छन् । माता पिताको शोक एकैपटक पर्दाको पिडामा डुबेका परिवारलाई बोलाउन र सम्झाउन आउँनेहरु सबैका आँखा रसाउँछन् र स्वर मन्द हुँदै जान्छ ।

‘बुबाको निधनपछि आमालाई अस्पतालमा लगेर बुबाको अनुहार देखाएदेखि नै आमा बरबराउन र टोलाउन थाल्नुभएको थियो, उहाँलाई निकै गहिरो चोट परेछ’, छोरा महेशले भने, ‘बुबाको वियोग सहन सक्नुभएन र आमाले पनि हामीलाई छोडेर जानुभयो । ’

पाँच दशक अघि रामगोविन्द र भगवतीदेबी दार्जिलिंगमा विवाह बन्धनमा बाधिएर काठमाडौं आउँनुभएको र उहाँहरुको २ छोरा महेश र उमेश तथा २ छोरी प्रतिमा र पुष्पा छन् । एकातिर दमको राग अर्कातिर पतिको वियोग र एक्लोपन सहन नसकेरै भगवतीदबीको मृत्यु भएको देख्ने सुन्नेहरुको ठम्याई छ ।

एकै दिनमा बुबा आमा गुमाएर पालै पालो पशुपति आर्यघाटमा हिन्दु संस्कार अनुसार दाहसंस्कार गर्नुपर्दाको पिडा र बाबु आमा गुमाएर शोकमा डुब्दाको पिडाले शर्मा परिवारमा निकै ठूलो चोट परेको छ । समाजका बुढापाकहरु शर्मा परिवारलाई सम्झाउँदै भन्छन् धर्मात्मा रहेछन् एकैसाथ गए ।

प्रतिकृया दिनुहोस