२७ वर्षपछि पूर्ण कार्यकालका लागि प्रधानन्यायाधीश बन्दै चोलेन्द्र समशेर

Cholendra samser rana

काठमाडौं । सर्वोच्च अदालतको २९ औं प्रधानन्यायाधीशमा चोलेन्द्र समशेर जबरा सिफारिस भएका छन् । परिषदको बिहीबार विहान बसेको बैठकले सर्वोच्चका वरिष्ठ न्यायाधीश जबरालाई प्रधानन्यायाधीशमा सिफारिस गरेको हो ।

न्याय परिषद्ले प्रधानन्यायाधीशका लागि जबरासँगै दीपकराज जोशीको नाम सिफारिस गरेको थियो । तर, यसअघि नै संसदीय समितिबाट अस्वीकृत भएको कैफियत उल्लेख थियो । आजै चोलेन्द्रको ‘बर्थ डे’ पनि हो । उनी सन् १९५७ डिसेम्बर १३ मा जन्मिएका हुन् ।

परिषद सदस्यको कार्यव्यस्तताका कारण भन्दै यसअघि ५ पटक समितिको बैठक सरेको थियो । एक महिना अघि नै नयाँ प्रधानन्यायाधीशको नाम सिफारिस गर्नुपर्ने भए पनि परिषद बैठक बस्न नसक्दा प्रधानन्यायाधीशको नाम सिफारिस हुन सकेको थिएन ।

अहिलेका प्रधानन्यायाधीश ओमप्रकाश मिश्रले उमेर हदका कारण आउँदो पुष १७ गतेबाट अनिवार्य अवकाश पाउँदै हुनुहुन्छ । नयाँ प्रधानन्यायधीशका लागि न्याय परिषदले चोलेन्द्रसमशेर जवरा र दिपकराज जोशीको नाम सिफारिस गरेको थियो ।

पुनरावेदन अदालत बुटवलको कामु मुख्य न्यायाधीश भइरहेकै बेला उनी ०७१ मा सर्वोच्च अदालतको न्यायाधीश नियुक्त भएका हुन् । उनी सन् १९९६ देखि पुनरावेदन अदालत हुँदै न्यायालयमा प्रवेश गरेका हुन् ।

संवैधानिक परिषदबाट प्रधानन्यायाधीशमा सिफारिस भएका चोलेन्द्र ०७१ जेठमा सर्बोच्च अदालतको स्थायी न्यायाधीश बनेका हुन् । त्यसबेला संसदीय सुनुवाई समितिमा तत्कालीन एमाले र माओवादीले राणाको विपक्षमा मत दिएका थिए । तर, अहिले उनी नेकपाकै साथ पाएर सिफारिसमा परेका छन् ।

अर्को संयोग कस्तो परेको छ भने आम निर्वाचनपछि बहुमतको स्थायी सरकार बनेजस्तै सर्वोच्च अदालतले पनि २७ वर्षपछि पूर्ण कार्यकाल अर्थात् ४ वर्षका लागि प्रधानन्यायाधीश प्राप्त गर्न लागेको छ । ०४८ सालमा प्रधान न्यायाधीश भएका विश्वनाथ उपाध्यायले ४ वर्ष कार्यकाल खाएका थिए । त्यसयता कुनै पनि प्रधान न्यायाधीशले त्यति लामो अवधि पाएका छैनन् । राणा भने ०७९ पुससम्म अर्थात चार वर्ष प्रधान न्यायाधीश हुनेछन् ।

नेपालको खानदानी राणा परिवारका सदस्य चोलेन्द्र समशेर जबरा राणा प्रधानमन्त्री वीरसमशेरका चौथो पुस्ताका सन्तान हुन् । उनी वीर समशेरका पनाति हुन् ।

जंगबहादुर राणा मरेपछि उनका भाइ रणोद्दीप सिंह केही समय श्री ३ महाराज प्रधानमन्त्री भए । तर, धीर समशेरका १७ भाइ छोराको धैर्य टुटेपछि उनीहरुले काका रणोद्दीपको हत्या गरी शासनसत्ता कब्जा गरेका थिए । त्यसपछि जेठा वीर समशेर प्रधानमन्त्री तथा श्री ३ महाराजा भए ।

उनै वीर शमसेरका छोरा इन्द्र समशेरका नाति हुन्– चोलेन्द्र शमसेर जबरा । चोलेन्द्रका पिता युवराज शमसेर राजसभा स्थायी समितिका सदस्य थिए । तर, चोेलेन्द्र राजनीतिमा लागेनन् ।

वकालत गर्दागर्दै चोलेन्द्र ०५३ बैशाख १ गते तत्कालीन पुनरावेदन अदालतको अस्थायी न्यायाधीश नियुक्त भएका थिए । लामो समय अस्थायी न्यायाधीश भएका उनी स्थायी न्यायाधीश बनेपछि विशेष अदालतको सदस्य पनि भए ।

 

प्रतिकृया दिनुहोस

साताको लोकपृय

निशानन्युजकर्मी बराइली दिलिप घिमिरे स्मृति पत्रकारीता पुरस्कारबाट सम्मानित

Baraili samman

काठमाडौं । निशान न्युजकर्मी गोपाल बराइली स्वर्गीय पत्रकार दिलिप घिमिरेको स्मृतिमा स्थापित दिलिप घ...