कृषकहरुलाई व्यवसायीक बनाउँदै लमही नगरपालिका

Bakhra palan talim

देउखुरी । मानसिंह वलीको घर लमही नगरपालिका वडा नं. ९ स्थित रिहारमा पर्छ । वलीले बाख्रा व्यवसायी पनि हुन् ।

उनले दुई वर्षदेखि बाख्रा व्यवसाय गर्दै आएका छन् । साउदीमा दुई वर्षसम्म काम गरेर नेपाल फर्किएका वलीले गएको दशै तिहारको बेला ९५ हजारको बाख्रा बेचे । त्यति बाख्रा बेच्दा उनले खर्च कटाएर पनि ८५ हजार नाफा कमाए ।

लामो समयदेखि बाख्रा पालन व्यवसायमा संलगन भए पनि उनी पहिलो पटक व्यवसायीक रुपमा बाख्रा कसरी पाल्ने भन्ने तालिममा सहभागी भए ।

लमही नगरपालिका पशु सेवा उपशाखाले आइतबारदेखि सञ्चालन गरेको तीन दिने व्यावसायिक बाख्रा तालिममा सहभागि बन्न पाउँदा उनी दंग थिए । उनले अहिले ४२ वटा बाख्रा पालेका छन् । ‘कुन जातीका बाख्रा कसरी पाल्ने, कुन जातीको बाख्रा पाल्दा किसानहरुलाई धेरै आम्दानी हुन्छ यो तालिमबाट प्रष्ट भएँ’ उनले भने, ‘तालिमले धेरै कुरा सिकायो ।’

दाङकै लमही नगरपालिका वडा नं. १ सुन्डबरीकी भीमा भुषालले १० वटा बाख्रा पालेकी छन् । उनलाई तालिममा बस्नुअघिसम्म जन्मेका पाठापाठीहरु कसरी हुर्काउने, कस्ता ठाउँमा राख्नै जस्ता कुराहरु केही थाहा थिएन । तीन दिनको तालिमबाट बाख्रा पालनसम्बन्धी ज्ञान आर्जन गरेकाले आगामी दिनमा बाख्रा पालनमा कुनै समस्या नआउने उनी बताउँछिन् ।

लमही नगरपालिका उप–प्रमुख देवका बेल्वासेले लमही नगरपालिकाअन्तर्गत ९ नं. बाख्रा पालनको पकेट एरिया भएकाले यहाँका किसानलाई बाख्रा पालनसम्बन्धी तालिम दिइएको बताउँछिन् । पकेट एरियामा बाख्रा पालनसम्बन्धि तालिमहरु सञ्चालन गरी किसानहरुको जीवनस्तर उकास्न मद्दत गर्दै आएको उनको भनाई छ ।

३ दिनसम्म सञ्चालन भएको सो तालिममा लमही नगरपालिका पशु सेवा उपशाखा कार्यालयका अधिकृत शिवराज न्यौपानेले प्रशिइाण दिएका थिए भने सो तालिमको सहजीकरण प्रिया स्मृती गजमेरले गरेकी थिइन् ।

प्रतिकृया दिनुहोस