ब्याजदर सुधार गर्न गभर्नर चिरञ्जीवि नेपालसँग महासंघको माग

Fncci 539x300

काठमाडौं । निजी क्षेत्रको सबैभन्दा ठूलो संस्था नेपाल उद्योग वाणिज्य महासंघले बैंक तथा वित्तीय संस्थाले एकाएक ऋणको ब्याजदर बढाएकोमा गम्भीर चिन्ता प्रकट गरेको छ ।

२ वर्षदेखि बैंक तथा वित्तीय संस्थाबाट लिएको कर्जा तिर्न सक्ने क्षमता विश्लेषण नगरी एकाएक कर्जाको ब्याज बढाएकोमा चिन्ता प्रकट गरिएको छ ।

ऋणको ब्याज अचानक वृद्धिले उद्योग व्यवसाय क्षेत्रमा कठिनाई उत्पन्न भएको जानकारी पनि महासंघले दिएको छ ।

महासंघले ब्याज दर वृद्धिले निर्माणधीन परियोजनाको लागत वृद्धि गरेको र नयाँ परियोजना ल्याउन नसकेको अवस्था सिर्जना भएको बताएको छ ।

‘नेपाली उद्योगको प्रतिस्पर्धी क्षमता विगतको भन्दा ह्रास भएको अवस्थामा बैंकको ब्याजदरमा भएको वृद्धिले उद्योग क्षेत्रको लगानी झनै प्रभावित हुने छ,’ महासंघको भनाई छ ।

महासंघले अहिलेको अवस्थालाई सुधार गर्न ब्याजदर घटाइनुपर्ने, सरकारको पुँजीगत खर्च वृद्धि हुनुपर्ने, संस्थागत निक्षेपकोे सीमा ४५ बाट २५ प्रतिशतमा झारिनुपर्ने, ब्याजदर अन्तर ३ प्रतिशत गरिनुपर्ने, बैंकिङ प्रणालीबाट रेमिटेन्स ल्याउन प्रोत्साहन गर्नुपर्ने र अनौपचारिक अर्थतन्त्रको रकम औपचारिक प्रणालीमा ल्याउन बैंकमा जम्मा गर्ने प्रक्रिया सहज हुनुपर्ने माग नेपाल राष्ट्र बैंकका गभर्नर चिरञ्जीवि नेपालसँग माग गरेको छ ।

प्रतिकृया दिनुहोस