कांग्रेस विधान मस्यौदा समितिमा पनि विवाद

Congress

काठमाडौं । नेपाली कांग्रेस पार्टीको विधान संशोधन मस्यौदा समितिमा विवाद सूरु भएको छ ।मंगलबार बस्ने केन्द्रीय कार्य समितिको बैठकमा पेश गर्ने भनिएको विधान संशोधन मस्यौदा प्रतिवेदनको अन्तिम तयारीमा लागि सोमबार बसेको विधान मस्यौदा समितिको बैठकमा विधानको प्रस्तावनाकै विषयमा समेत नेताहरुबीच विवाद देखिएको हो ।

विधान मस्यौदाको प्रस्तावना, संगठन संरचनालगायतका विषयहरुमा विवाद देखिएको विधान संशोधन मस्यौदा समितिका प्रवक्ता रमेश लेखकले स्विकार गरे । उनले उपसमितिले तयार पारेको मस्यौदामा समितिका सदस्यहरुबीच विवाद देखिएकाले भोली बस्ने केन्द्रिय कार्य समिति बैठकमा पेश हुने, नहुने टुंगो नभएको पनि जानकारी दिए ।

महासमिति बैठकको तयारीका विषयमा छलफल गर्ने मूल एजेन्डासहित काँग्रेस केन्द्रिय कार्य समितिको बैठक मंगलबार अपरान्ह १ बजे बोलाइएको थियो । तर बैठकमा विधान संशोधन मस्यौदा समितिको प्रतिवेदन भने पेश हुन सम्भावना टरेर गएको छ ।

नेपाली कांग्रेसले आगामी मंसीर ५ गतेदेखि नौं गतेसम्म काठमाडौंमा महासमिति बैठक बोलाउने तयारी गरेको थियो । तर महासमिति बैठकमा प्रस्तुत हुने विधान मस्यौदाको काम समेत सम्पन्न हुन नसकेपछि त्यसलाई केही दिन पछि सार्ने गरी केन्द्रिय कार्य समिति बैठक बोलाइएको हो ।

प्रतिकृया दिनुहोस