तुलाधर राजनीतिक, सामाजिक र सांस्कृतिक आन्दोलनका अगुवा

तुलाधर

काठमाडौं । सभामुख कृष्णबहादुर महराले मानवाधिकारवादी तथा वरिष्ठ वामपन्थी राजनीतिज्ञ पद्मरत्न तुलाधरको निधनले नेपालको अधिकार प्राप्तिको आन्दोलनका एक अभियन्ता, शान्ति प्रक्रियाका कुशल मध्यस्थकर्तालाई गुमाएको बताए ।

सभामुखले आइतबार शोक सन्देश दिदै तुलाधर राजनीतिक, सामाजिक, सांस्कृतिक र पहिचानको आन्दोलनका निष्ठावान्, इमान्दार र प्रष्ट वक्तालाई गुमाएको भन्दै शोकाकुल परिवारजनमा समवेदना व्यक्त गरेका छन् ।

सभामुखको सन्देशमा भनिएको छ, “उहाँले पञ्चायतकाल होस् या २०४६ को जनआन्दोलनमा लोकतन्त्रका लागि गरेको सङ्घर्ष, माओवादी जनयुद्धलाई शान्तिप्रक्रियाका ल्याउन मध्यस्थकर्ताको रुपमा खेलेको भूमिका र २०६२/०६३ को जनआन्दोलनमा नागरिक अगुवाका रुपमा पूरा गरेको जिम्मेवारी अतुलनीय छ ।”

माओवादी आन्दोलनलाई शान्तिप्रक्रियामा ल्याउन भूमिका खेल्ने एक कुशल मध्यस्थकर्ता, एक इमान्दार, निष्ठावान् र विश्वासिलो व्यक्तित्वका रुपमा चिनेको भन्दै सभामुखले माओवादी आन्दोलनका क्रममा सरकारसँग भएका तीनवटै वार्तामा उनि मध्यस्थकर्ताको रुपमा रहेका स्मरण गराए ।

तुलाधरको तटस्थ र इमान्दार भूमिकाले शान्तिप्रक्रिया सफल बनाउन विशेष योगदान गरेको स्पष्ट पार्दै उनले माओवादी आन्दोलनलाई राजनीतिक शक्तिका रुपमा राष्ट्रिय अन्तर्राष्ट्रियरुपमा स्थापित गर्न खेलेको भूमिका अतुलनीय रहेको बताए ।

प्रतिकृया दिनुहोस