नेपाली भूमिमा भीमदत्तले सडक कालोपत्रे गर्ने

Bhina pa sadak

महेन्द्रनगर । भीमदत्त नगरपालिकाले ब्रह्मदेब बजार जोड्ने टनकपुर बाँध पूर्वपट्टिको सडक कालोपत्रे गर्ने भएको छ । यस अघि भारतले ब्रह्मदेब बजारसम्म जोड्ने सडक कालोपत्रेको कार्य अघि बढाएको थियो ।

स्थानीयको विरोधपछि भारतले नेपाली भूमिमा पर्ने सडक निर्माण कार्य रोक्का गरेको थियोे । भीमदत्त नगरपालिकाका नगर प्रमुख सुरेन्द्र विष्टले भीमदत्त नगरपालिकाले नेपाली भूमिको सडक कार्यालयले कालोपत्रे गर्ने बताए ।

‘हामी आफ्नो भूमिमा आफैं सडक कालोपत्रे गर्छौ, भारतले हाम्रो भूमिमा सडक कालोपत्रे गर्न सक्दैन’ नगर प्रमुख विष्टले भने,‘यसका लागि छिटो प्राविधीक अध्ययन गरी कार्य अघि बढाउँछौ ।’

झण्डै दुई महिना अघि भारतले नेपालसित समन्वय नगरी एकलौटी रुपमा टनकपुर बाँधदेखि ब्रह्मदेब बजारसम्म सडक कालोपत्रे कार्य अघि बढाएको थियो । त्यसपछि चौतर्फी विरोध भएपछि भारतले नेपाली भूमिमा सडक कालोपत्रे रोकेको थियो ।

भारतले टनकपुर बाँध बनाउन नेपाली भूमि प्रयोग गरेपछि अहिलेसम्म ब्रह्मदेबमा सीमा विवाद चर्किने गरेको छ । टनकपुर बाँधको पूर्व पट्टिको एफ्लेक्स बण्डमा ५ सय ७७ मिटर नेपाली भूमि प्रयोग गरिएको छ । बाँध बनाउने क्रममा सीमा स्तम्भ हराएपछि सीमा विवाद बल्झिएको हो ।

भारतले एकलौटी रुपमा सडक कालोपत्रे कार्य अघि बढाएपछि भीमदत्तका नगर प्रमुख विष्टले स्थलगत निरीक्षण गरेका थिए । यसैगरी कञ्चनपुर क्षेत्र नं. ३ का साँसद डा. दिपक प्रकाश भट्ट, सुदूरपश्चिम प्रदेशका साँसद लिलाधर भट्ट लगायतले स्थलगत निरीक्षण गरी नेपाली भूमिमा सडक बनाउन नदिने बताएका थिए ।

ब्रह्मदेबस्थि सशस्त्र प्रहरीको सुरक्षा बोर्डर आउट पोष्टको उद्घाटनका क्रममा नगर प्रमुख विष्टले नेपाली भूमिमा छिट्टै सडक कालोपत्रे सुरु गरिने प्रतिवद्धता जनाएका थिए । ब्रह्मदेब बजार जोड्ने झण्डै दुई सय मिटर सडक नेपाली भूमिमा पर्छ ।

भीनपा वडा नं. ९ वडा कार्यालयले सडक कालोपत्रेका लागि नगरपालिका कार्यालयलाई अनुरोध गरिएको वडा अध्यक्ष राम नाथले बताए । ‘यो सडक कालोपत्रेका लागि नगरपालिकालाई आग्रह गरेका छौ, भारतीय भूमिमा पक्की सडक बनेपछि हाम्रो भूमिमा पनि पक्की सडक नबनाई हुँदैन’ वडा अध्यक्ष नाथले बताए ।

भीनपा–९ का वडा अध्यक्ष नाथले सीमा पिल्लर नम्बर ३ देखि यता नेपाली भूमि भए पनि भारतीय पक्षले नेपाली भूमिमा समेत सडक बनाउन लागेको बताए । भारतले नेपाली भूमिलाई कब्जा गर्ने मनशाय राखेर सडक निर्माण अघि बढाएको स्थानीय बताउँछन् ।

टनकपुर ब्यारेजदेखि ब्रह्मदेब बजारसम्म झण्डै १३ दशमलव ५० मिटर सडकको लम्बाई छ । भारतले ब्रह्मदेब बजारको कल्र्भटमा टिबिएम–३, टिबी डब्लु लेखेर संकेत कोरेको थियो ।

प्रतिकृया दिनुहोस