सेमिफाइनलमै रोकियो नेपाल, माल्दिभ्ससँग ३–० गोलअन्तरले पराजित

Nepal footbal

काठमाडौं । साफ च्याम्पियनशिफ फूटबल प्रतियोगितामा फाइनल पुग्ने यात्रा रोकिएको छ ।

बंगबन्धु रंगशाला ढाकामा बुधवार भएको सेमीफाइनल भिडन्तमा नेपाल माल्दिभ्ससँग ३–० गोलअन्तरले पराजित भएसँगै उपाधी जित्ने सपना चकनाचुर भएको हो ।

पहिलो हाफमा १–० ले पछि परेको नेपालले दोस्रो हाफमा थप २ गोल खान पुग्यो । समूहमा नेपालले भूटान र बंगलादेशलाई पराजित गरेको थियो । माल्दिभ्सको भने प्रतियोगितामा यो पहिलो जित हो ।

पहिलो हाफमा भारी वर्षा भएका कारण खेल केहि बेर रोकिएको थियो । जसले गर्दा मैदान हिलो तथा चिप्लो भएको थियो । 

पहिलो हाफमा १–० गोलले पछि परेको नेपाल दोस्रो हाफमा आक्रमक रुपमा उत्रियो । लगातार माल्दिभ्सविरुद्ध दबाब भएको नेपालले ८४ मिनेटमा काउन्टर आक्रामणबाट गोल खाएको थियो । माल्दिभ्सका इब्राहिम वाहिद हसनले गोल गरेर माल्दिभ्सलाई २–० ले अघि बढाए । २ मिनेटपछि तेस्रो गोल खाएपछि नेपाल हार उन्मुख भएको थियो । ८६ मिनेटमा उनै हसनले व्यक्तिगत दोस्रो तथा टिमका लागि तेस्रो गोल गरे ।

नेपाल र माल्दिभ्सबीच समग्रमा साफ च्याम्पियनसिप, साग गेम्स, एएफसीका प्रतियोगिता र अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेल गरी कुल १६ प्रतिस्पर्धा भएको छ। जसमा नेपालले ४ खेलमा जित र ४ खेलमा बराबरी खेलेको छ । ८ खेलमा भने नेपाल पराजित भएको छ । 

नेपालले माल्दिभ्सलाई सन् १९९९ देखि पराजित गर्न सकेको छैन । नेपालले पछिल्लो पटक सन् १९९९ को साग गेम्सको खेलमा माल्दिभ्सलाई २–१ गोलले हराएको थियो। त्यसपछि नेपालले १९ वर्ष माल्दिभ्सबिरुद्ध जित निकाल्न सकेको छैन ।

नेपाल समूह एको विजेता तथा माल्दिभ्स समूहबीको उपविजेताका रूपमा सेमीफाइनलमा पुगेका थिए । प्रतियोगिताको अर्को सेमीफाइनलमा बुधवार नै भारत र पाकिस्तान भिड्दैछन् ।

 

प्रतिकृया दिनुहोस