पशुपति शमसेर राणाविरुद्ध अदालतमा मुद्दाको चाँङ !

Pashupati shamser rana 3

काठमाडौं । राष्ट्रिय राजनीतिमा कुनै बेला राम्रै प्रभावमा थिए पशुपति शमसेर जवरा । तर, पछिल्ला केही वर्षयता उनको राजनीतिक जीवन ओरालो लाग्दै आएको छ ।

आफ्ना केही सीमित व्यक्तिलाई सत्तामा लैजान पार्टी नै फुटाउन सफल बनेका राष्ट्रिय प्रजातन्त्र पार्टी (प्रजातान्त्रिक) का अध्यक्ष पशुपति शमसेर जवराको पार्टीभित्र सिद्धान्तकै विषयमा भाँडभैलो भइरहेको छ । हिन्दु राज्य र राजतन्त्रको विषयमा पार्टीको दुई लाइन संघर्ष मिलाउन उनलाई निक्कै हम्मेहम्मे परिरहेको छ ।

यही बेला उनी पारिवारिक समस्यामा फसेका छन् । अर्थात् उनी यतिवेला पारिवारिक मुद्दा मामिलामा फस्दै आएका छन् । उनीविरुद्ध जालसाझीको मुद्दा पनि लागको छ भने अंशबण्डाको मुद्दा खेपिरहेको पनि ३ वर्ष नाघिसकेको छ ।

यस्तो छ पारिवारिक संरचना
राणा खानदानका नेता हुन् पशुपति शमसेर जवरा । उनी राणा प्रधानमन्त्री श्री ३ मोहन शमसेरका नाती हुन् । श्री ३ मोहन समशेरका शारदा समशेर विजय समशेर दुई छोरा थिए । त्यसमध्ये विजय समशेरका छोरा हुन् पशुपति समशेर राणा ।

शारदा समशेरका दिपक समशेर र मुकुन्द समशेर गरी दुई भाई छोरा छन् । दिपक समशेरका छोरा दिव्य समशेर राणा । उनी पशुपति समशेरका भतिजा पनि हुन् ।

केके छन् उनका मुद्दा ?
१, जालसाझी
राष्ट्रिय राजनीतिका चर्चित पात्र पशुपति समशेर राणाविरुद्ध जिल्ला अदालत काठमाडौंमा जालसाझी मुद्दा चलिरहेको छ । पशुपति समशेर जंगबहादुर राणाले दिदीको मृत्यु भएको १ वर्षपछि वारेशनामाको आधारमा जालसाझीपूर्ण तरिकाले जग्गा श्रीमतिको नाममा पास गरेको भन्दै साउन १७ मा जिल्ला अदालत काठमाडौंमा मुद्दा दायर भएको छ । यो जग्गा सम्बन्धी उनको दोस्रो मुद्धा हो ।

उनलाई धर्म राज्य लक्ष्मीले काठमाडौं महानगरपालिका वडा नं. ४ बस्ने पशुपति शमसेर राणालाई २०६४ असार ११ गते सोमबारका दिन अधिकृत वारेसनामा दिएकी थिइन् ।

तर, उनको सन् २०१३ जनवरी ५ अर्थात् मिति २०७० पुस २१ गते आइतबारका दिन भारतको सरदार गेष्ट हाउस, जिल्ला कलेक्टर निवास जोधपुरमा निधन भएको थियो ।

त्यसको एक वर्षपछि पशुपति शमसेर जवराले श्रीमति उषा राज्य राणाका नाममा राजीनामा पास गरिदिएका थिए । २०७१ माघ ९ मा पास गरिएको भनिएको कित्ता नम्बर २७, २९, ४३ र ८७ को सो जग्गाको मुल्य त्यतिबेला १० करोड ५५ लाख ६८ हजार ५ सयमा राजीनामा पास गरेको उल्लेख गरिएको छ ।

२, अंशबण्डा मुद्दा
दिव्य समशेर राणासँग पशुपतिले अंश बण्डाको मुद्दा खेपिरहेका छन् । दिव्य समशेरले २०७२ माघ १० मा पशुपति समशेर राणालाई प्रतिवादी बनाउँदै अंशसम्बन्धी दावी मुद्दा दायर गरेका थिए । जुन मुद्दा उनको लागि टाउको दुखाईको विषय बनेको छ ।

दिव्य समशेर राणाले पशुपति समशेरविरुद्ध आफ्ना बाजे शारदा समशेर जबराको संयुक्त भोगचलन गर्दै आएको काठमाडौं महानगरपालिका वडा नं. ३ को कित्ता नं. ३२, ३४, ३३ र ४१ को क्षेत्रफल २–३–१–५, १–११–३–२, २–०–३–०, ०–९–१–०, त्यसैगरी सोही वडा नं. ४ को सिट नं. १०२–०९८६–१३ कि.नं.८६, ४३ र ८७ को ३–०–०–०, ०–०–०–३ र ०–१०–०–०, सोही वडाको सिट नं. ०९८६ कि.नं. ५, २२, २३, २७, २९, २४ र २५७ को ०–१०–३–०, ०–१०–१–२, ०–१४–२–०, ४–१–२–०, ०–५–२–०, ०–१२–२–१ र १–३–२–१ समेतको जग्गाको अंश माग गरेका छन् ।

पशुपति समशेर राणाले दिव्य समशेरले दायर गरेको अंशसम्बन्धी मुद्दा खेपिरहेका छन् । उनले नेतृत्व गरेको पार्टी नै लथालिंग भएको बेला उनलाई आफ्नै अंशियारले टाउँको दुखाइदिएका छन् ।

प्रतिकृया दिनुहोस