बालुवाटारमा गाडी धुन मासिक १२ लाखको पानी !

Pm office baluwatar

काठमाडौं । देशका विशिष्ट व्यक्तित्वहरूको आवास सुविधामा मात्रै गत आर्थिक वर्षमा करिब २२ करोड खर्च भएको छ  ।

पानी र बिजुली शीर्षकमा ३ करोड ४९ लाख खर्च भएको छ । ट्यांकरको पानी खरिदमा मात्रै १ करोड ३० लाख खर्च भयो । राष्ट्रपति, उपराष्ट्रपति, प्रधानमन्त्री, सभामुख, राष्ट्रिय सभाका अध्यक्ष र प्रधानन्यायाधीशको निवासमा करिब ३० लाखबराबर त जारको पानी खरिद गरिएको छ ।

राष्ट्रपतिदेखि प्रधानमन्त्री र मन्त्रीहरूको निवासमा जोडिएको टेलिफोन र इन्टरनेटको एक वर्षको बिल ८८ लाख उठेको भवन सम्भार डिभिजन कार्यालयका उपसचिव रामकृष्ण पन्थीले बताए ।

शेरबहादुर देउवा नेतृत्वको सरकारको पालामा क्वार्टर नपुगेपछि केही मन्त्री बाहिर भाडामा बसेका थिए । उनीहरूको घरभाडामा ८१ लाख खर्च भएको पन्थीले बताए । भाडामा बस्ने मन्त्रीलाई सरकारले प्रतिमहिना ४० हजारका दरले भाडा शुल्क दिने गरेको नयाँ पत्रिकामा उल्लेख गरिएको छ ।

गत आर्थिक वर्ष राष्ट्रपतिदेखि मन्त्रीसम्मको निवासमा एक करोड ९० लाखको फर्निचर किनिएको छ । फर्निचर शीर्षकमा भएको खर्चमध्ये सबैभन्दा धेरै सोफा र कुर्सीमा भएको छ ।

विशिष्टहरूको कार्यालयसम्बन्धी खर्चमा २ करोड खर्च भएको छ । यो खर्च किचेन, मसलन्द, पर्दा र कार्पेटमा भएको हो ।

सामान्य मर्मतमा ६० लाख खर्च भएको छ । यसमा धारा, मेसिनरी औजार मर्मत खर्चमा गरी एक करोड १० लाख खर्च भएको छ । एसी, इन्डक्सन चुलो, ल्यापटपलगायत सबैको मर्मत खर्च यसैमा समेटिएको छ ।

विशिष्ट पदाधिकारीहरूले सुविधाका नाममा ट्वाइलेटपेपरदेखि किचनमा प्रयोग हुने भाँडाकुँडा, पर्दा, टाबेललगायत सबै लिने गरेका छन् । विशिष्ट पदाधिकारीको निवासबाट जे माग्यो, त्यो दिनुपर्ने बाध्यता कार्यालयलाई रहेको भवन सम्भार डिभिजन कार्यालयका एक कर्मचारीले बताए ।
एकजना मन्त्रीको क्वार्टरमा २० देखि ३० जनासम्मलाई राज्यकोषबाट सुविधा दिनुपरिरहेको कार्यालयको गुनासो छ । ‘विशिष्ट पदाधिकारीहरूको घर चलाइदिनुपरेको छ, त्यो पनि हाइफाई सुविधासहितको,’ ती कर्मचारी भन्छन् ।

कतिपय मन्त्री त आफूअनुकूल सामान खरिद गरेर भवन सम्भार कार्यालयमा बिल पेस गर्छन् । कसलाई के सुविधा दिने भन्ने निर्देशिका वा नियमावली नहुँदा आफूहरूलाई अप्ठ्यारो भएको उनले बताए ।

प्रतिकृया दिनुहोस