‘प्रेमी सँग मिलेर श्रीमतीले ज्यान मार्ने धम्की दिन्छिन्, म के गरुँ ?’

Krishna 2

काठमाडौं । म ३१ वर्षको भएँ । परिवारमा खर्च बढ्न थालेपछि विदेशिनुको विकल्प मेरा लागि थिएन । विदेश गएर आमाबुबा र श्रीमती दुर्गाका साथै दुई सन्तान कृतिका र कृजनलाई राम्रो विद्यालयमा पढाउने सपना थियो ।

दुवईमा बसेको ४ वर्ष भयो । तर घर फर्कंदा हातमा केही थिएन । कमाएको पैसा सबै घरमा पठाएको थिएँ । तर त्यो पैसा मेरी श्रीमती दुर्गाले कसरी खर्च गरिन थाहा भएन । मेरी श्रीमती दुर्गा माइत जाँदा मोबाइल अफ हुन्थ्यो । ११ वर्षअघि उनीसँग मेरो प्रेम विवाह भएको थियो ।

नेपाल फर्कंदा त ऋण पो लागेको थियो । विश्वासले म उनलाई भनेजति पैसा पठाउँथे । ऋणका कारण अहिले पनि म दुवईमा छु ।

श्रीमतीलाई पनि १७ महिनाअघि दुवई ल्याएँ । दुवईमा सँगै छँदा पनि उनले मलाई मोबाइल छुन समेत दिन्नथिन् । यहाँ आएको १५ महिनापछि उनेले आफू बिरामी भएको बताइन र नेपाल जाने भनेर जिद्दी गरिन् ।

मैले उनी काम गर्ने कम्पनीमा गएर हात जोडेर पासपोर्ट फिर्ता लिएँ । त्यसपछि उनी नेपाल फर्किन् । नेपाल पुगेको एक महिनापछि उनी बेपत्ता भएको थाहा पाएँ । म उनलाई खोज्न नेपाल पुगेँ ।

तर उनी फेरि दुवई पुगिसकेकी रहेछिन् । नेपाल पुगेपछि मात्रै मैले थाहा पाएँ उनी अर्कैको प्रेममा परेकी रहेछिन् । भारतीय नागरिकसित दुवईमा नै बसेको भन्ने सुनेको छु । अहिले मेरो परिवार भताभुंग भएको छ । दुई सन्तान कृतिका र कृजन विचल्लीमा परेका छन् ।

दुर्गा र उनको भारतीय प्रेमीले बारम्बार ज्यान मार्ने धम्की दिने गरेका छन् । यसबारेमा नेपाली दूतावासमा उजुरी गर्न खोज्दा पनि फोन उठ्दैन । म पीडामा छु । डरैडरमा बस्नु परेको छ । अब मैले के गर्ने होला ?

 

प्रतिकृया दिनुहोस