प्युठानकै पहिलो टर्की पालक जिसीको फेरियो दैनिकी

Tarki panal

प्युठान । झिमरुक गाउँपालिका–७ , तुषाराका २७ वर्षीय भुपेन्द्र जिसी पाँच महिना अघिसम्म एकदम फुर्सदिला थिए । काम नपाएर डुलेरै उनको दिन बित्ने गथ्र्यो । तर, अहिले उनको दैनिकी फेरिएको छ । उनी अहिले बेफुर्सदी बनेका छन् ।

उनको दैनिकी फेरिनुमा एउटै मात्रै कारण छ आफ्नै घरमा पालिएका टर्कीको रेखदेख गर्नु । उनी जिल्लामै पहिलोपटक व्यवसायीक रुपमा टर्की पालन गर्ने उद्यमी पनि हुन् ।

उनले जिल्लामै पहिलो पटक टर्की फर्म दर्ता गराए । थोरै लगानीमा नै विदेशी जातको चरा घरमै पाल्न थाले । उनले पहिलोपटक भक्तपुरबाट ९८ वटा टर्कीका चल्ला खरिद गरेर व्यावसाय सुरु गरेका थिए ।

अहिले उनी धेरै व्यस्त छन् । बिहानदेखि बेलुकीसम्मै माछा, कुखुरा र इङ्गल्याण्डबाट आयातित ब्रोस्टेड जातको टर्की चराको रेखदेखमै उनको दिन बित्ने गरेको छ । उनले टर्कीसँगै माछा र स्थानीय जातका कुमुरा पनि पालेका छन् ।

पैसा कमाउन विदेश नै जानुपर्छ भन्ने छैन । नेपालमै बसेर पनि केही गर्न सकिन्छ भन्ने उदहारण बनेका छन् जिसी । ‘दानापानी, उपचार लगायतको प्रबन्ध मिलाउन सके रोजगारीका लागि बिदेसिनु पर्दैन’ उनले भने, ‘बिदेशकै चरा पालेर स्वदेशमा रोजगारीको वातावरण सिर्जना गर्न सकिन्छ । यसका लागि इच्छाशक्ति र लगानीको खाँचो छ ।’

रोजगारीका शिलसिलामा एक वर्ष जति दुबई बसेका थिए । विदेशमा गरिएको टर्की व्यावसायबाट आकर्षित भएको उनी बताउँछन् । ‘बिदेशमै देखेर टर्की व्यवसाय अँगाल्ने सोच बनाएको हुँ’उनले भने, ‘विदेशमा टर्कीको व्यवसाय राम्रो हुँदा नेपालमा किन नहोला त भनेर सुरु गरेको हुँ ।’

अहिले ब्रोइलर कुखुराका कारण लोकल कुखुरा लोप हुँदै जान थालेको छ । त्यही भएर पनि उनले गाउँमा झण्डै ३ सय वटा लोकल कुखुरा पालेका छन् । माछा पनि पालेका छन् । टर्की मासुका साथै प्वाखका लागि उपयुक्त चरा मानिँदै आएको छ ।

सानो लगानी, ठूलो उपलब्धि
उनले कुखुरा र माछा पालन गर्न २ लाख रुपैयाँ मात्रै लगानी गरेका छन् । सानो लगानीबाट ठूलो आम्दानी गर्न सकिनछ भनेर उनी गाउँमै व्यवसायीक रुपमा टर्की, माछा र कुखुरा पालनको बाटो रोजेका हुन् ।

यो व्यवसायलाई फस्टाउन सके आर्थिक समृद्धिमा टेवा पुग्ने उनको विश्वास छ । टर्की पालनलाई व्यावसायिक रूपमा अघि बढाउन सकेमा राम्रै उपलब्धि हासिल हुने उनको अपेक्षा छ ।

उनले पालेको टर्कीले अहिले चल्ला उत्पादन गर्ने बेला भएको छैन । चल्ला उत्पादन भएको चार महिनादेखि बिक्री गर्न सुरु हुन्छ । डेढ महिना हुर्किएको चल्लाको बजार मूल्य १२ सयसम्म पर्छ ।

यो मासुको लागि पालिन्छ । प्रति चरा वयस्क हुँदा पोथी ८ र भालेको १५ देखि १८ किलोसम्म हुन्छ । चल्ला जन्मेको ६ महिनापछि मासु खानयोग्य हुन्छ । टर्कीको मासु स्वादिस्ट र स्वस्थकर हुन्छ । त्यही भएर पनि बजारमा समेत यसको माग बढ्न थालेको छ ।

के खुवाउने दाना ?
यो चरा पाल्न गाह्रो छैन । घाँस र दानाको अनुपात मिलाएर आहारका रुपमा प्रयोग गरिन्छ । यसले स्थानीय कुखुराले खाने सबै प्रकारका दाना खान्छ ।

व्यवसायले गर्ने जति सबैको मनमा व्यवसाय गर्दा खर्चिलो हुन्छ भन्ने हुन्छ । तर, टर्की पालन व्यवसाय खासै खर्चिलो पनि हुँदैन । घाँसमा कक्सफुट, लुसुन, जौका पातलगायत तरकारीजन्य सागपात सबै दानाको रूपमा प्रयोग हुँदै आएको छ । २ महिनासम्मको चल्लालाई तापक्रम मिलाएर मात्र पाल्न सकिन्छ । यहाँको हावापानीमा यो व्यवसाय गर्न सकिनेमा उनी ढुक्क छन् ।

कम संक्रमण हुने
पछिल्ला केही वर्ष यता नेपालमा कुखुरा पालन व्यवसायीहरुले भोग्दै आएको एउटै मात्र समस्या भनेको रोगको संक्रमण हो । यो चरामा रोगको संक्रमण कम देखिन्छ ।

यसमा रोगको संक्रमण खासै नहुने वा नसर्ने भएकाले पनि टर्की पालनमा किसानहरुको चासो बढ्ने गरेको छ । उनी पनि यसबाट मुक्ति मिल्छ भन्ने शासमा छन् ।

अवलोकनकर्ताको भीड
अहिले उनको टर्की फर्म हेर्नकै लागि दैनिक चार/पाँच जना आउँछन् । अवलोकनकर्ताले सुझाव सल्लाह दिने र चल्ला अर्डर गर्ने गर्छन् । स्थानीयको चासो टर्की पालनमै देखिएको छ ।

‘टर्की पालनबारे चासो राख्ने र पाल्न उत्सुक देखिने किसान घरमै पुगेर परामर्श लिन्छन्’ उनी भन्छन्, ‘दैनिक आउने अवलोकनकर्ताको प्रेरणाले पनि अहिले हौसला बढेको छ ।’

टर्की फर्ममा जिल्लास्थित सरोकारवालाको ध्यान केन्द्रित हुनपर्ने उनको भनाई छ । पशुसेवा कार्यालय प्युठानका अनुसार यो चरा चिसो र गर्मी दुवै हावापानीमा पाल्न सकिन्छ ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

काे हुन् दिलबहादुर सिंह, यस्तो छ बझाङमा चुनाव जित्ने आधार

Dil bahadur singh khaptadtv

गणेश विक, काठमाडाैं । पंचायतकालीन राजनीतिक अवस्थाको बारेमा हामीले पढेका र सुनेका मात्रै छम् । त्य...